पार्टी फुटाउन तयार छु भन्दै नेपालको कटाक्ष- आयाराम गयाराम हुन्छन्, लालबाबुको नाम पनि भनौं ? – Nepal Press

पार्टी फुटाउन तयार छु भन्दै नेपालको कटाक्ष- आयाराम गयाराम हुन्छन्, लालबाबुको नाम पनि भनौं ?

जनप्रतिनिधिको कुराले अड्किएका हौं, मलाई तेस्रो र चौथो पुस्ताको साथ छ

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी गठनको अभियानबाट आफू पछि नहटेको प्रष्ट पारेका छन् ।

आफू पक्षधर जनसंगठनका पदाधिकारीहरूको भर्चुअल बैठकलाई बुधवार सम्वोधन गर्दै नेता नेपालले जनप्रतिनिधिहरूको कुराले आफूहरु अड्किए पनि पार्टी पुनर्गठनबाट पछि नहट्ने बताएका हुन् ।

विभिन्न तहका जनप्रतिनिधिहरूको पद जाने खतरा भएकाले नयाँ पार्टी दर्ताको प्रक्रियामा विलम्ब भएको आशय नेपालको रहेको बैठकमा सहभागी एक नेताले बताए ।

उनले भ्रातृ संगठनको भर्चुअल बैठक डाकेर आफूले गरिरहेको तयारी र त्यसको सन्दर्भमा कार्यकर्ताबाट सुझाव मागेका छन् । वार्ता टोलीमा रहेका कतिपय नेताहरूलाई कारवाही गरेर आफ्ना नेताहरूले जस्केलाबाट वार्ता थालेको भन्दै जनसंगठनका नेताहरूले विरोध गरे ।

प्रमुख वक्ता नेपालले भने नयाँ पार्टी खोल्न आफू तयार रहेको बताएका थिए । ‘विभाजनले नभइ गलत प्रवृत्ति र रबैयाले पार्टी सकिएको छ । म तयार छु । जनप्रतिनिधिहरूको कुराले अलि अड्किएका छौं । तर पनि पछि हटेको छैन । कुनै पनि बेला निर्णय हुन्छ’, नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

नेता नेपालले पार्टीभित्रका चार पुस्तामध्ये तेस्रो र चौथो पुस्ता आफूलाई साथ दिन तयार रहेको दावी गरे । साथ खोज्दै नेपालले भने, ‘त्यसमा चौथो पुस्ता तपाईंहरू भइहाल्नुभयो ।’ दोस्रो पुस्ताबारे भने उनी मौन देखिए ।

बैठकका सहभागीहरूले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेपछि नेपालले आन्दोलनमा आयाराम गयारामहरु हुने भन्दै कोही व्यक्ति छाडेर जाँदैमा अभियान नटुंगिने बताए ।

नेपालले भने, ‘हिजो हाम्रो विचार समूहबाट चुनाव जित्नुभएका युवराज कार्की, बैजनाथ चौधरी आज कहाँ हुनुहुन्छ ? लालबाबु पण्डितको नाम पनि भनौं ?’

नेपालले ओली आफू कमजोर हुने महसुस भएपछि मात्र बहाना बनाउने र कार्ड फ्याँक्न गरेको भन्दै एकतामा उनी जिम्मेवार नभएको टिप्पणी गरे । उनले भने, ‘हिजोदेखि आको जेठ २ मा फर्किने कुरा छ नि त्यो पनि त्यही हो ।’

दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले पार्टी एकता र वार्ताको नाममा गरिरहेको कामतर्फ बैठकमा सहभागी नेताले आपत्ति जनाएको बताइएको छ ।

नेपालले आफूले पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग एकता हुने प्रष्ट पारेका छन् ।

माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बिनासर्त ओलीले जेठ २ मा पार्टी फर्काउने निर्णय गर्नुपर्ने र त्यसपछि संसद विघटन लगायतका विषयमा एकीकृत पार्टीमा छलफल हुने बताए । माधव नेपाल बिनाको एमाले एकता सम्भव नरहेको कुरा नै आफूहरुले राखेको उनले बताए ।

बैठकमा सहभागीहरुले कुनै अलमल नगरी नयाँ पार्टी गठनमा अघि बढ्न नेपाललाई दबाब दिएका थिए ।

एक सहभागीले नेपाल प्रेससँग भने, ‘कतिपय साथीले त एकतामा जोडको कुरा गर्दा घनश्याम/योगेशको लाइनमा गयो भनेर बोल्नसमेत हिच्किचाए ।’


प्रतिक्रिया

3 thoughts on “पार्टी फुटाउन तयार छु भन्दै नेपालको कटाक्ष- आयाराम गयाराम हुन्छन्, लालबाबुको नाम पनि भनौं ?

  1. माधव नेपालले पार्टीभित्रका चार पुस्तामध्ये तेस्रो र चौथो पुस्ता आफूलाई साथ दिन तयार रहेको दावी हावा हो पार्टिका चौथो पुस्ता त बिना प्रशिक्षण नै ओली का फ्यान छन भने तेस्रो पुस्ता माधव नेपालको १५ बर्ष नेत्रित्व गर्दामै भुक्तभोगी छन कस्ता मान्छे हुन भनेर

  2. माधव नेपाललाइ प्रधानमन्त्री बनाएर पार्टि एकता गर्याे भने सवै समस्या समाधान हुने र बिपक्षी पनि चित्त बुझाउने छन । यदि एकता नै चाहाने हाे भने यस्ताे गर्न के ले राेकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर