माधव नेपाललाई भ्रातृ संगठनका नेताको सुझाव- अलमल नगरी नयाँ पार्टी खोलौं – Nepal Press

माधव नेपाललाई भ्रातृ संगठनका नेताको सुझाव- अलमल नगरी नयाँ पार्टी खोलौं

‘झलनाथ र माधवको निर्देशनबिना वार्ता गर्नेहरू ओलीभन्दा पनि खतरनाक हुन्’

काठमाडौं । पार्टी एकताका लागि एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले त्यसलाई धोखाको संज्ञा दिएका छन् ।

एमालेको माधवपक्षीय समानान्तर भ्रातृ संगठनहरुको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनधिकृत र धोखेबाजी हुने बताएका छन् ।

माधव नेपालको प्रमुख आतिथ्यमा भइरहेको जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव माधव नेपाललाई दिएका छन् ।

एकताका नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता आउन उनीहरूले आग्रह गरेका छन् ।

बैठकमा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विकेले भने, ‘एकता र वार्ताका नाममा अलमलिँदा हाम्रै समूहका कतिपय नेताले छेपारो नै छक्क पर्ने गरी रंग फेर्ने काम गर्नुभएको छ ।’

माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकता भन्ने नेताहरू केपी ओलीभन्दा पनि खतरनाक हुन् भन्दै ओली एकता विरोधी हुन् भन्ने कुरा बाहिर स्थापित गरेर पार्टी चाँडो विभाजन गर्न नेतृत्वलाई सुझाव दिए ।

सहअध्यक्ष ओसिम आलमले बैठकमा भने, ‘माधव नेपालले सही गरेको ठाउँमा सही नगर्ने नेताहरु केपी ओलीभन्दा खराब हुन् । हामीलाई हाम्रै नेताहरुबाट धोखा त भइरहेको छैन ?’

किसान महासंघका महासचिव बलराम बास्कोटाले माधव नेपाल र झलनाथ खनालको निर्देशनबिना कसैले वार्ता गर्दैछ भने त्यसलाई वार्ता मान्न नसकिने बताएको बैठकका एक सहभागीले जानकारी दिए ।

बैठकका सहभागीको आक्रोश सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरूले गरिरहेको वार्ताप्रति केन्द्रित देखिएको छ ।

बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताका नाममा फेरि पनि केपी ओलीले अल्मल्याउने सम्भावना रहेको बताए ।

उनले भने, ‘केपी ओलीले जब-जब राजनीतिक घटनाक्रम आफू प्रतिकूल हुन्छ, तब तब एकताका नाममा अल्मल्याउने रणनीति अवलम्बन गरेका हुन् । अहिले पनि सर्वोच्च अदालतमा चलिरहेको मुद्दाका २८ रिट निवेदक हाम्रा नेता हुनुहुन्छ । त्यो मुद्दाबाट २८ जनालाई फिर्ता गराएर मुद्दा फितलो गराउने चालबाजी हो ।’

माधव पक्षका २३ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् । बैठकमा सहभागी अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राईले भने पार्टी एकताकै लागि आफूहरूले जोड दिएको नेपाल प्रेसलाई बताइन् ।

राईले भनिन्, ‘डेडलाइन तोकेर एकता गर्नुपर्छ भन्ने सुझाव हामीले माधव कमरेडलाई दिएका छौं । हामी कार्यकर्ताका लागि त नेताहरू मिलेको र पार्टी जुटेकै राम्रो हो नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर