सुन्दरीजलबाट उपत्यका भित्रिने खानेपानीका पाइप जीर्ण हुँदा ठाउँ-ठाउँमा चुहावट – Nepal Press

सुन्दरीजलबाट उपत्यका भित्रिने खानेपानीका पाइप जीर्ण हुँदा ठाउँ-ठाउँमा चुहावट

काठमाडौं । सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । जीर्ण भएका वर्षौं पुरानो खानेपानीका पाइप नफेरिँदा ठाउँ-ठाउँमा पानी खेर गएको छ ।

जीर्ण पाइपबाट पानीका फोहरा छुटे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान गएको छैन । दर्जनौँ स्थानमा पानीको फोहरा छुटेर खेर जाने गरे पनि मर्मतसम्भार छिटो नहुने गरेको गोकर्णेश्वरका स्थानीयवासी रामबहादुर श्रेष्ठले भने ।

खानेपानीका लागि लगिएको पानी पाइप जीर्ण भएर खेर जान्छ तर हामी मुहानस्थलमै बसे पनि हप्तादिनसम्म धारामा पानी नआउने गरेको उनले बताए । मेलम्चीबाट ल्याएको पानीको ठूला पाइप घरमुनिबाट गए पनि मुहानस्थलकै स्थानीयवासीले खानेपानी पाएका छैनन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाँकाल चौर शाखाका कार्यालयप्रमुख उमेश मरहट्ठा पाइप पुरानो भएकाले ठाउँ- ठाउँबाट चुहावट हुने गरेको बताउँछन् । चुहावटलाई तत्काल मर्मतसम्भार गर्ने गरेको उनको दाबी छ ।

मेलम्चीको पानी राजधानीमा वितरण शुरु गरेपछि महाँकाल चौरसम्म पुरानै पाइपलाइनबाट पानी दिने गरी व्यवस्थित गरिएको लिमिटेडले जनाएको छ । बस्ती कम हुँदा सानो पाइपबाट काठ क्षेत्रमा पानी वितरण गरिएको थियो । बस्ती बढेपछि सानो पाइपबाट धेरै जनसंख्यालाई पानी वितरण गरिँदा कतै आउने कतै नआउने हुने गरेको छ ।

ठूलो पाइपबाट पानी वितरण गर्न जाँच भइसकेको शाखाप्रमुख मरहट्ठाले जानकारी दिए । पहिले पाइप खेतबारीबाट लगिएको थियो सडक बनेको थिएन । सानो गोरेटोबाटोमात्र थियो । अब धेरै स्थानमा सडक बनिसकेकाले सडकबाट पाइप राख्न लागिएको लिमिटेडले जनाएको छ ।

सुन्दरीजल पानी प्रशोधन केन्द्र जीर्ण भएकाले महाँकाल चौरभन्दा माथिका धारामा धमिलो पानी आउने गरेको छ । यस क्षेत्रको धारामा पिउन त परै जाओस् घरायसी प्रयोजनमा समेत उपयोग गर्न नसकिने पानी आउने गरेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला धारामा पानी नपाएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढाको ढुङ्गेधारामा जान बाध्य छन् । पानी खोज्न जाँदा कोरोना फैलने डर बढेको स्थानीयवासी रञ्जु पुडासैनीको गुनासो छ ।

लिमिटेडले तालिका बनाएर खानेपानीको व्यवस्था गरिदिए कोरोनाबाट बच्न सहज हुने भए पनि यसतर्फ स्थानीय सरकारका जनप्रतिनिधि लगायत सरोकार भएका निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।
–रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर