बहुमत दावी गर्दै लुम्बिनीका विपक्षीले उठाए मुख्यमन्त्रीमाथि वैधताको प्रश्न – Nepal Press

बहुमत दावी गर्दै लुम्बिनीका विपक्षीले उठाए मुख्यमन्त्रीमाथि वैधताको प्रश्न

रुपन्देही । आजदेखि शुरू लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनमा विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेशसभामा उनीहरूले आफ्नो दलीय धारणा राख्दै यस्तो माग गरेका हुन् ।

बैठकमा लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्धिन खानले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । अवैधानिक तवरले सरकार गठन गरिएको दावी गर्दै उनले आदर्श र नैतिकता देखाउँदै राजीनामा दिन पोखरेललाई आग्रह गरे ।

सचेतक खानले बहुमतका लागि ४१ सांसदसहित दावी गर्नुपर्नेमा शंकर पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दावी गरेकाले सरकारले वैधानिकता गुमाएको दावी गरे ।

बैठकमा जसपाका सहश्रराम यादवले नेकपा एमालेले आफ्नो सरकार जोगाउन जसपालाई केन्द्रदेखि प्रदेशसम्म विभाजन गरी संघीयताविरुद्ध लागेको आरोप लगाए । उनले मुख्यमन्त्रीलाई आफ्नो बहुमत देखाउन चुनौती दिए । माओवादी केन्द्रका सुदर्शन बराल र ईन्द्रजीत राईले प्रदेश सरकार र वर्तमान मुख्यमन्त्रीले कानूनविपरीत शासन गरेको दावी गरे ।

बैठकमा सत्तारुढ एमालेका लिला गिरीले सरकार गठन प्रक्रिया कानूनसम्वत ढंगले भएको जिकिर गरे । उनले कोरोना महामारीविरुद्ध सबै दल समन्वय गरेर लड्न आग्रहसमेत गरे ।

बुधबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख कार्यालयबाट आएका पत्र, पारित भएका विधेयक, मन्त्रीमण्डल पुनःगठनका विषयमा सभामा जानकारी गराएका थिए ।

बैठक भोलि १ बजे बस्ने गरी सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर