काठमाडौंमा संक्रमित घटे पनि अस्पतालमा भर्ना हुनेको संख्या घटेन – Nepal Press

काठमाडौंमा संक्रमित घटे पनि अस्पतालमा भर्ना हुनेको संख्या घटेन

काठमाडौं । देशभरमा कोभिड-१९ का नयाँ संक्रमितको संख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसीयू चाहिएर भर्ना भएका संक्रमितको संख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै संक्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको संख्या कम नभएको हो ।

एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका शययामा २२५ र अरू शययामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा. रबि शाक्यले बताए । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उनले भने, ‘बच्चाको एनआइसीयूबाहेक अरू आइसीयू सधैं भरिभराउ रहेका छन् ।’

अस्पतालमा पनि पीसीआर परीक्षणका लागि आउनेको संख्या केही कम भए पनि भर्ना हुनेको संख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पताल भित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शङ्कास्पद संक्रमित र अरू बिरामीलाई छुट्याइने गरिएको छ । ‘फिबर क्लिनिक’मा आउनेका संख्यामा केही कम भइरहेको अस्पतालका निर्देशक डा. शाक्यले बताए । उनले भने, ‘एक सातायता पीसीआर परीक्षणका लागि अस्पताल आउनेको संख्या पनि घटिरहेको छ ।’

अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ ।आवश्यकताअनुसार कोभिडका लागि शयया बढाउँदै लगिएको निर्देशक डा. शाक्यले बताए । अहिले नयाँ भेरियन्टसहित संक्रमण देखिन थालेसँगै अरू शययालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि तीन सय शयया र अरूका लागि ३५० शयया छ । उनले भने, ‘सबै शययामा नै बिरामी झण्डै भरिएका छन् ।’

अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शङ्कास्पद व्यक्तिलाई शुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो । यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन् । उनले भने, ‘अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।’

अस्पतालले कोभिडका लागि ३० आइसीयू र १८ भेन्टिलेटर छुट्याएको छ । कोभिडबाहेक सजिर्कल, मेडिकल आइसीयू र बालबालिका लागि एआइसीयू गरी २० आइसीयू रहेका छन् । संक्रमण बढिरहँदा आवश्यकताअनुसार नै शयया बढाउँदै लगिएको निर्देशक शाक्यले बताए । उनले भने, ‘संक्रमण शुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।’

अस्पतालमा हिजोआज क्षमताभन्दा बढी बिरामी नभएको निर्देशक शाक्यले बताए । केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा तीन सय शययामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो । अहिले अक्सिजनको अस्थायी समाधान भएको उनले बताए । अस्पतालमा आइसीयूमा क्षताभन्दा बढी बिरामी भएमा अरू अस्पतालमा समन्वय गरेर पठाइने उनले जानकारी दिए ।

संक्रमण अझै बढ्न सक्ने भन्दै अस्पतालले यस वर्ष सजग भएर पहिले नै आवश्यक संख्यामा पीपीई, पञ्जा र औषधि राखेको थियो । तीन महिनालाई पुग्ने गरी पहिले नै राखिएकाले समस्या नभएको उनले बताए । अस्पताल आफैँले अक्सिजनको व्यवस्थापन गर्न खोजेको छ । अबको दुई सातामा ठूलो अक्सिजन प्लान्ट बनाइने र त्यसका लागि आवश्यक सामान बाटोमा नै रहेको उनले बताए । उनले भने, ‘दुई सातापछि अक्सिजनमा आत्ममनिर्भर बन्न सकिनेछ ।’

अस्पतालमा आएका बिरामीका आधारमा गत वर्षभन्दा यस वर्ष संक्रमितमध्ये गम्भीर समस्या हुनेको अनुपात बढी छ । पहिले बढी उमेर समूह, दीर्घ रोग भएका व्यक्तिमा मात्रै गम्भीर समस्या भएको थियो । अहिले सबै उमेर समूहमा अक्सिजन वा आइसीयू चाहिने देखिन्छ । गत आर्थिक वर्षमा थोरै संख्यामा मात्रै संक्रमित भएकाले सरकारले समस्या नभएका संक्रमितलाई समेत भर्ना गरेको थियो । उनले भने, ‘अहिले गम्भीर भएका मात्रै आइरहेका छन् ।’

अस्पतालले गत वर्ष बनाएको योजनाअनुसार नै कोभिडका लागि लक्षित शयया छुट्याइरहेको छ । अहिलेसम्म झण्डै आधा शयया छुट्याइएकामा आवश्यक पर्दा पूरै अस्पतालका ६५० शयया नै कोभिडका लागि छुट्याएर ‘कोभिड अस्पताल’ बनाउन सकिनेछ । अस्पतालले आवश्यक पर्दा परिसरमा टेन्ट राखेर उपचार गर्न सकिने जनाएको छ ।
-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *