दृगनारायणको ‘अवसरवादी’ राजनीतिक यात्रा – Nepal Press

दृगनारायणको ‘अवसरवादी’ राजनीतिक यात्रा

रूपन्देही । तीन दिनअघि सम्पन्न राष्ट्रियसभा उपचुनावमा लुम्बिनीबाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता दृगनारायण पाण्डे विजयी भए । कांग्रेस छाडी एमाले रोजेर पुन: मूलघर फर्किएका पाण्डेले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेर राष्ट्रियसभाको सिट हात पारेका छन् ।

कांग्रेसबाट एमालेमा आएको दुई महिनामा पाण्डे लुम्बिनी प्रदेशसभाका सांसद बने । एमाले छाडेर पुन: कांग्रेसमै फर्किएका उनी एक महिना नपुग्दै राष्ट्रियसभामा निर्वाचित भएका छन् ।

उनले ४ हजार १ सय ४० मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत ल्याएका थिए ।

राष्ट्रियसभा सदस्यमा उनको विजयपछि सामाजिक सञ्जालमा उनको ‘अवसरवादी राजनीति’ ले चर्चा पाएको छ । राजनीतिमा यस्तो अवसर कमैले पाउने भन्दै केहीले कांग्रेस छाडेर एमालेमा गएपछि प्रदेश सांसद, एमाले छाडेर कांग्रेसमा आएपछि राष्ट्रिय सभासद अझै पार्टी फेरे सीधै मन्त्री भनेर टिप्पणी गरेका छन् ।

कांग्रेसमा रहँदासम्म कपिलवस्तुका नेता पाण्डेलाई सांसदको उम्मेदवारको लागि पार्टीले कहिल्यै पत्याएन । २०७४ सालको निर्वाचनताका उम्मेदवार टुंगो लगाउने बेलासम्म टिकट निश्चित नभएपछि उम्मेदवारीको सर्त राखेर एमाले रोजे ।

कांग्रेसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेपछि लामो समय एमालेको राजनीति गरेका केही पुराना नेताहरू सन्तुष्ट भने थिएनन् तर पार्टी नेतृत्वले गरेको निर्णय माने र उनलाई जसरी पनि विजय बनाउने गरी चुनावमा होमिए र जिताए पनि ।

त्यसो त एमालेले कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट चुनाव जितेका उनलाई प्रदेशसभाको महत्वपूर्ण मानिने सामाजिक समिति सभापति बनाएको थियो । लामो समय एमालेमा राजनीति गरेका नेताहरू प्रदेश सभामा रहेपनि उनलाई त्यो जिम्मेवारी दिएर गल्ती भएको र उनले जुनसुकै समयमा पनि धोका दिनसक्ने आंकलन पहिले नै भएको एमालेका नेता तथा विश्लेषक वसन्तराज खनाल बताउाछन् । ‘दशकौं राजनीति गरेका एमालेका नेताले केही अवसर पाइएनन् उनले आएर छिट्टै सबै पाए र गए पनि’, खनालले भने ।

नेता पाण्डेको अवसरवादी चरित्र २०७४ मा मात्रै देखिएको होइन । ‘उनले अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाविरुद्ध तमलोपाका उम्मेदवार बोकेर हिँडेका हुन्, गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसकै उम्मेदवारलाई हराउन स्वतन्त्र उम्मेदवार बनेर कांग्रेसलाई हराउन हिँडे, लुम्बिनी प्रदेशसभामा आफै उम्मेदवार बनेर कांग्रेसलाई हराए त्यस्ता धोखेबाजलाई अहिले फेरी त्यति ठूलो अवसर दिएर ल्याइयो’ कांग्रेसबाटै निर्वाचित कपिलवस्तुका एक नगरप्रमुखले भने ।

कपिलवस्तुको महाराजगन्जका अब्दुल मुसलमान कांग्रेसले अरुलाई उम्मेदवार बनाउनुपर्थ्यो तर कांग्रेस कपिलवस्तुमा अरु मान्छे नै नभएजस्तो पटक-पटक कांग्रेसलाई धोखा दिने मान्छेलाई फेरि उम्मेवार बनाएर अगाडि सरकारले जुनसुकै समयमा धोका हुनसक्ने बताउँछन् ।

राजनीतिमा उनको घुमन्ते व्यवहारबाट हैरान हुँदा पनि उम्मेदवार बनाएर कांग्रेसले गल्ती गरेकोले महाराजगन्जकै कांग्रेस कार्यकर्ता मोहम्द धुनियाले बताए । ‘उनी अर्कोपटक टिकट नपाए कांग्रेस बस्दैनन्, कांग्रेसमा टिकट नपाउँदा कहिले तमलोपाका उम्मेदवार बोकेर हिंडे कहिले एमाले पसे फेरि एमालेले मन्त्री नदिएपछि यता आएका हुन् यस्तालाई कांग्रेसले बोक्नु हुँदैन’, धुनियाले आक्रोश पोखे ।

लोकतन्त्र पक्षधरको जित : पाण्डे

जितपछि पाण्डेले आफ्नो जितले लोकतन्त्र अझ बलियो बनाउन मद्दत पुग्ने दावी गरे । गणतन्त्र र संघीयतासँगै ओझेलमा परेका विषयवस्तुलाई राष्ट्रियसभामा जोडतोडले उठाउने उनको दावी थियो ।

सदनमा अब आफूले संघीयता र गणतन्त्रका विषयलाई जोडतोडका साथ उठाउने उनको प्रतिवद्धता छ । पाण्डेले नेपाल प्रेससँग भने, ‘सबैको प्रयासबाट जितेको हुँ जल्दाबल्दा सवाल सदनमा बुलन्द रूपमा उठाउने छु ।’


प्रतिक्रिया

One thought on “दृगनारायणको ‘अवसरवादी’ राजनीतिक यात्रा

  1. लेखेको अनुसार कुरा मिल्दो छ।यस्तो अवसरवादमा लागेको मान्छेको सबभन्दा ठूलो गल्ती ता पार्टीको नि यसमा नेताको के दोस ,छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर