कूटनीतिमा राजा वीरेन्द्रका उपलब्धी: शान्तिक्षेत्र प्रस्तावदेखि सम्वन्ध विस्तारसम्म – Nepal Press
दरबार हत्याकाण्डकाे २० वर्ष

कूटनीतिमा राजा वीरेन्द्रका उपलब्धी: शान्तिक्षेत्र प्रस्तावदेखि सम्वन्ध विस्तारसम्म

इटहरी । नारायणहिटी राजदरबारभित्र भएको अकल्पनीय नरसंहारको दुई दशक पूरा भएको छ । २०५८ सालमा आजकै मितिमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो, जसलाई दरबार हत्याकाण्ड भनेर सम्झिने गरिन्छ ।

नेपालमा राजतन्त्र जीवित भएको भए आजको दिन राज्यका तर्फबाट विशेष कार्यक्रमहरु आयोजना गरेर राजा वीरेन्द्रप्रति श्रद्धासुमन अर्पण गरिन्थ्यो । तर, देशमा गणतन्त्र आएपछि उनलाई सम्झिने फुर्सद कसैलाई छैन । त्यसमाथि अहिले कोरोनाले देश अस्तव्यस्त बनाएको बेला उनको स्मृति दिवस छायामा पर्ने नै भयो ।

नेपालमा ३० वर्षसम्म राष्ट्रप्रमुखका रुपमा शासन गर्दा राजा वीरेन्द्र शालीन र भद्र राजाका रुपमा लोकप्रिय थिए । २०४६ सालमा प्रजातन्त्र आएपछि संवैधानिक सीमाभित्र बाँधिएका उनले जहिले पनि आफ्ना अधिकारको दायराभित्रै रहेर काम गरे । बुवा महेन्द्रजस्तो राजनीतक चतुरता र शासकीय दक्षता उनमा थिएन । यद्यपि, उनको कार्यकालमा केही सकारात्मक उपलब्धीहरु हासिल भएका छन् । यस आलेखमा चाहिँ कूटनीतिक क्षेत्रमा राजा वीरेन्द्रले पुर्याएका योगदानको लेखाजोखा गर्ने प्रयत्न गरिएको छ ।

बेलायतको इटोन विद्यालय, जापानको टोक्यो विश्वविद्यालयदेखि बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेका विरेन्द्रमा विश्व राजनीतिको राम्रो चेत थियो । बुवा महेन्द्रले छाडेर गएको दलविहिन पञ्चायतको लिगेसीमा उनी राजा भएका थिए भने उनकै पालामा बहुदल घोषणा भएको थियो । २०२८ माघ १७ मा महेन्द्रको मृत्युपछि राजा भएका वीरेन्द्र पञ्चायतकालमा दुई दशक र बहुदल आएपछि एक दशक गरी तीन दशक राजा भए । दुई दशक उनले प्रत्यक्ष शासन गरे भने पछिल्लो एक दशक संवैधानिक राजाका रुपमा अभिभाकीय भूमिकामा रहे ।

अब राजा वीरेन्द्रको कार्यकालमा हासिल भएका ४ मुख्य कूटनीतिक उपलब्धीहरुको चर्चा गरौंः

१. शान्तिक्षेत्र प्रस्तावमा १ सय १६ देशको समर्थन

राजा वीरेन्द्रले नेपालको अन्तर्राष्ट्रिय छवि उजिल्याउन चालेको एक महत्वपूर्ण कदम थियो, ‘शान्तिक्षेत्र प्रस्ताव’ । उनले यो प्रस्ताव बारेमा सन् १९७३ सेप्टेम्बर ५ देखि ९ (वि.सं. २०३० भदौ २० देखि २४) सम्म भएको असंलग्न रास्ट्रहरुको चौथो शिखर सम्मेलनमा चर्चा गरेका थिए । अल्जेरियाको राजधानी अल्जियर्समा सामान्य चर्चा गरेको शान्तिक्षेत्रको विस्तृत प्रस्ताव चाहिँ वीरेन्द्रले आफ्नो राज्याभिषेकमा आएका विदेशी प्रतिनिधिहरुमाझ सन् १९७५ फेब्रुअरी २५ (वि.सं. २०३१ फागुन १३) मा राखेका थिए ।

राज्याभिषेक समारोहमा आएका अतिथिहरुलाई विदाइ मन्तव्य दिने क्रममा राजा वीरेन्द्रबाट नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने प्रस्तावको पक्षमा सहयोग गर्ने आह्वान भएको थियो । नेपाल भगवान गौतम बुद्धको जन्मभूमी भएको, दुवै सीमा जोडिएका देशसँग शान्तिसम्झौता भएको र नेपालले असंलग्न पररास्ट्र नीतिलाई व्यवहारमा लागू गरेको तर्कसाथ उनले यस्तो प्रस्ताव राखेका थिए ।

नेपालको शान्तिक्षेत्र प्रस्तावमा चीन, अमेरिका, बेलायत, फ्रान्ससहित ११६ देशको समर्थन प्राप्त भयो । छिमेकी देश भारतले भने गरेन । सुरुमा समर्थन गर्ने छनक दिएको सोभियत संघ (हालको रसिया) पछि भारतकै उक्साहटमा ब्याक भएको थियो । यद्यपि १ सय १६ देशहरुको लिखित समर्थन जुटाउनु पनि चानचुने उपलब्धी थिएन । यसमा १४ देशहरुले मौखिक समर्थन जनाएको राजा वीरेन्द्रका विश्वासिला कूटनितिज्ञ डा. भेषबहादुर थापा सुनाउँछन् । नेपालले विश्वसामू गरेको अरु कुनै पनि प्रस्तावमा यति धेरै देशहरुको समर्थन जुटेको छैन सायद ।

२. सार्क स्थापनाको अगुवाइ, सचिवालय काठमाडौंमा

दक्षिण एसियाली क्षेत्रका सात राष्ट्रहरुको क्षेत्रीय संगठनका रुपमा सन् १९८५ डिसेम्बर ८ (वि.सं. २०४२ मंसिर २३) मा सार्कको स्थापना भयो । दक्षिण एसियाका देशहरुको संगठन चाहिन्छ भनेर यसको पहल गर्नेमा राजा वीरेन्द्र पनि थिए । सार्क स्थापनाको चार्टर्ड हस्ताक्षर गर्ने अन्य नेताहरुमा भारतीय प्रधानमन्त्री राजीव गान्धी, पाकिस्तानी राष्ट्रपति जियाउल हक, श्रीलंकाली रास्ट्रपति जुलिउस रिकार्ड जयबर्दने, बंगलादेशका राष्ट्रपति हुसेन महोमद अर्सद, भुटानी राजा जिग्मे सिंगे वाङचुक र माल्दिभ्सका राष्ट्रपति मउमन अब्दुल गयुम थिए ।

वीरेन्द्रले त सार्कसँगै ‘सार्क स्पेसल फोर्स’ निर्माणको समेत प्रस्ताव गरेको करियर कूटनितिज्ञ इन्द्रबहादुर सिंहले बताएका छन् । बिष्णु रिजालले सम्पादन गरेको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यास’ मा सिंहले पाकिस्तानको राजधानीमा सन् १९८८ डिसेम्बर २९ देखि ३१ (वि.सं २०४५ पुस १५ देखी १७) सम्म भएको चौथो सार्क शिखर सम्मेलनमा प्रस्ताव गरेको सिंहले जानकारी दिएका छन् ।

सार्क सचिवालय नेपालमा राख्नमा पनि वीरेन्द्रको योगदान छ । सन् १९८७ जनवरी १६ (२०४३ माघ २) मा उनले काठमाडौंको ठमेलमा रहेको सचिवालय उद्घाटन गरेका थिए । सन् १९८६, नोभेम्बर १६ र १७ (वि.सं. २०४३ मंसिर १ र २) मा भारतको बैंग्लोरमा भएको दोश्रो सार्क शिखर सम्मेलनले नेपालमा सचिवालय राख्ने निर्णय गरेको थियो । निर्णय भएको दुई महिनामै तत्कालीन पर्यटन विभागको लागि बनाइएको भवनमा सचिवालय स्थापना भएको त्यसबेला खटेका कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्र सचिव (बेल्जियम र अमेरिकाको राजदूतसमेत भएका) केदारभक्त श्रेष्ठले बताएका छन् ।

‘नेपालको कुटनीतिक अभ्यास’ पुस्तकमा श्रेष्ठले आफू र भारतका लागि पूर्व नेपाली राजदूत विन्देश्वरी शाहले धेरै खटेर सचिवालय तयार गरेको बताएका छन् ।

३. अमेरिकाको राजकीय भ्रमणदेखि भारतीय गणतन्त्र दिवसको प्रमुख अतिथि

चार दशक अगाडि वीरेन्द्रले अमेरिकाको राजकीय भ्रमण गरेका थिए । वीरेन्द्रले सन् १९८३ डिसेम्बर ५ देखि १३ (वि.सं २०४० मंसिर १९ देखी २७) सम्म भ्रमण गरे । तत्कालीन अमेरिकाका लागी नेपाली राजदुत डा. भेषबहादुर थापाको पहलमा भ्रमण भएको थियो । विश्वको नम्बर एक शक्ति राष्ट्रमा नेपालका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको तर्फबाट त्यसयता कुनै पनि राजकीय भ्रमण भएको छैन ।

यस्तै, सन १९९९ मा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि पनि बने राजा वीरेन्द्र । उनी प्रमुख अतिथि बनेयताका कुनै पनि भारतीय गणतन्त्र दिवशमा नेपाली सरकार तथा राष्ट्रप्रमुखलाई प्रमुख अतिथिको रुपमा भारतले बोलाएको छैन ।

४.  ४६ देशसँग कूटनीतिक सम्बन्ध

बहुदल आउनु अगाडि राजा वीरेन्द्रको सक्रिय राजतन्त्रकालमा ४६ देशसँग नयाँ कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । वीरेन्द्र राजा हुँदा ४९ देशसँग सम्बन्ध बनेको थियो । उनको सक्रिय राजतन्त्रकालमा सन् १९७२ देखि सन् १९८७ सम्म कूटनीतिक सम्बन्ध भएका देशहरुको संख्या ९६ पुगेको थियो । कतार, साउदी अरव, उत्तर कोरिया, दक्षिण कोरियादेखि नर्वे, फिनल्यान्डसँग कूटनीतिक सम्बन्ध वीरेन्द्रको सक्रिय राजतन्त्रात्मककालमा जोडिएको थियो ।

हाल नेपालको १ सय ७० देशसँग कूटनीतिक सम्बन्ध छ । गणितबाट हिसाब निकाल्दा हालसम्मका कूटनीतिक सम्बन्ध भएका देशहरुमा २७ प्रतिशत सम्बन्ध वीरेन्द्रको सक्रिय राजतन्त्रकालमा भएको थियो ।


प्रतिक्रिया

One thought on “कूटनीतिमा राजा वीरेन्द्रका उपलब्धी: शान्तिक्षेत्र प्रस्तावदेखि सम्वन्ध विस्तारसम्म

  1. ईन्डियन, अमेरिकन, र युरोपेलीको इसारामा सम्पूर्ण परिबार मार्ने अमेरिका देखि सैनिक ल्याएर अहिले गिता गाएर के गर्नु नेपाल र नेपालीको अभिभावकको सम्पूर्ण परिबार यसरी मारियो अहिले कोरोनाले एकै घरका सम्पूर्ण परिबार मरे जसरी नेपाली सैनिक नेपाल प्रहरीको पहराको बिचबाट त्यत्रो नरसंहार भयो अझ हामी सोझा सिधा वीर गोर्खालीको सन्तति भनेर यत्रो छाती बनाएर गौरव गर्छौ धिकारछ हामिलाइ। राजा बिरेन्द्रको एउटै गल्ती थियो २०४५ सालमा चाइनाबाट हतियार किन्नु। त्यसैले उनको सम्पूर्ण परिबार स्वाहा भयो त्यति खेरको आर्मी चिफ प्रज्वल राणा बडि गार्ड जनरल बिबेक शाह जनरल टीका धमला तत्कालीन शाहिरक्षक बाहिनिको बाहिनी पति जनरल गोबिन्द गुरुङलाई फाँसी दिनुपर्छ। अनि मात्र स्वर्गीय राजा श्री ५ बिरेन्द्रको सम्पूर्ण परिबारको आत्माले शान्ति पाउने छ अरु के लेखौ मुर्दाहरुको देशको नागरिक म।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *