असल राजनीतिको आफ्नै मानक बनाएर गए उज्ज्वल

काठमाडौं । कोरानाले एक असल युवानेतालाई चुँडेको छ, जसको जीवनका लागि सिंगै देशले प्रार्थना गरिरहेको थियो । विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापा अब हामीबीच रहेनन् ।

लाखौं कार्यकर्ता भएको कुनै ठूलो पार्टीका ‘वरिष्ठ’ नेता थिएनन् उज्ज्वल । मन्त्री त के सांसदसमेत बनेका थिएनन् कहिल्यै । चर्का-चर्का भाषण गर्ने र भिडको ताली खाने कला पनि थिएन उनमा ।

तर, उज्ज्वलसँग ती चिज थिए, जसको नेपालका आम राजनीतिकर्मीमा अभाव छ । राजनीतिक इमान्दारिता । इच्छाशक्ति । देश बदलिन्छ र बदल्नैपर्छ भन्ने हुटहुटी । सरल जीवनशैली आदि । उनी सही नियतले राजनीतिमा लागेका थिए । राजनीतिको भर्‍याङ चढेर उच्च ओहदामा पुग्ने अनि आफ्नो व्यक्तिगत जीवनस्तर उकास्ने चेष्टा उनको थिएन ।

उज्ज्वलले सुरुदेखि नै राजनीतिमा फरक अभ्यास गर्न खोजे । इमानपूर्ण राजनीतिको आफ्नै मानक बनाउन प्रयास गरे । युवाहरुलाई राजनीतिसँगै उद्यम पनि गर्नुपर्छ भनेर मार्गदर्शन गरे । राजनीतिलाई पेशा होइन, सेवाको रुपमा लिए ।

हामी यस्तो देशमा छौं, जहाँ राजनीति र नेताहरुप्रति जनतामा दिन प्रतिदिन वितृष्णा चुलिँदो छ । देश हाँक्ने ठाउँमा रहेका ठूला पार्टीका नेताहरु जनताको नजरबाट निरन्तर तल खसिरहेका छन् । कुनै नेताको निधन भयो भने पनि कार्यकर्ता पंतिबाट औपचारिकतावस आउने ‘आरआइपी’ बाहेक जनताको वास्तविक सहानुभूति छचल्किँदैन ।

तर, उज्ज्वल थापा कोरोना संक्रमणबाट गम्भिर विरामी भएको खबर बाहिरिएसँगै देशव्यापी चिन्ता र चासो देखियो । सामाजिक सञ्जालमा धेरैले उनको स्वास्थ्यलाभका कामना गरे । यो कामनालाई पनि औपचारिक मान्न सकिन्थ्यो । तर, जब उनको उपचार खर्चिलो हुने भएपछि आर्थिक सहयोगको आह्वान गरियो, त्यसबेला देखियो कि जनताले साँच्चै उनलाई बचाउन चाहेका छन् । एउटा नेताको उपचारका लागि २४ घन्टामा जनस्तरबाट ५० लाखभन्दा बढी रकम संकलन हुनु आश्चर्यजनक थियो ।

उज्ज्वलको स्वास्थ्यलाभका लागि प्रार्थना र आर्थिक सहयोग गर्नेमा उनको पार्टीका कार्यकर्ता र शुभेच्छुक मात्र थिएनन् । आमजनताको सद्भाव उनले पाएका थिए । नेताले जनताको माया पाउन कुनै विलक्षण क्षमता देखाउनुपर्दैन, देशका लागि बहुतै ठूलो योगदान पनि दिनुपर्दैन, केवल इमानको राजनीति गरिदिए पुग्छ भन्ने उदाहरण पनि हुन् उज्ज्वल ।

उज्ज्वल थापा पछिल्लो समय विवेकशील पार्टीको नेतृत्वमा थिएनन् । केही समयअघि पार्टीका युवा नेता मिलन पाण्डेलाई अध्यक्ष बनाएर आफू पर्दापछाडि बसेका थिए । उनले ४४ वर्षकै उमेरमा आफूलाई नेतृत्वबाट अलग गरे, जबकि उनलाई नेतृत्व छोड्न कुनै दवाव थिएन । पार्टीमा सहजतापूर्वक नेतृत्व हस्तान्तरण गरेर उज्ज्वलले आफूलाई फरकरुपमा उभ्याए ।

चुनावी राजनीतिमा भने उज्ज्वल सफल हुन सकेका थिएनन् । युवाहरुका बीचमा लोकप्रियता कमाएतापनि चुनाव जित्नका लागि बलियो पार्टी संगठन र कार्यकर्ताको ठूलो पंति उनीसँग थिएन । उनको पार्टीसँग प्रजातन्त्रका लागि ठूला लडाईं लडेको बिरासत वा जेलनेल भोगेका नेताहरुको पंति पनि थिएन । केवल उर्जाशील युवाहरु थिए, जोसँग देश बदल्ने आकांक्षा थियो ।

अघिल्लो संसदीय चुनावमा उज्ज्वल काठमाडौंको क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका थिए । चुनावमा एमाले र कांग्रेसपछि तेस्रो स्थानमा आएका उनले ६ हजार ८ सय १३ मत ल्याए । हेविवेट उम्मेदवारहरुसँग भिडेको सानो पार्टीको उम्मेदारले यति भोट ल्याउनु उत्साहजनक नै थियो ।

उज्ज्वल राजनीतिमा अरुले बनाएको बाटोमा हिँडेका थिएनन् । उनले आफ्नो बाटो आफैं खनेका थिए । राजनीति कमाइ खाने भाँडो होइन र राजनीति गर्नेले आर्थिक उपार्जनका लागि उद्यम पनि गर्नुपर्छ भन्ने उनको मान्यता थियो । उनले ठूला-ठूला राजनीतिक एजेन्डाहरु अघि सारेर होइन, भ्रष्टाचारविरुद्ध निरन्तर आवाज बुलन्द गर्दै जनजिविकासँग जोडिएका स-साना मुद्दाहरुमार्फत जनताको मन जित्ने प्रयास गरे ।

को हुन् उज्ज्वल ?

काठमाडौं निवासी उज्ज्वल बुढानिलकण्ठ स्कुलबाट ‘ए लेभल’ सकेपछि छात्रवृत्ति पाएर अमेरिकामा आइटी पढ्न गए । पढाइ सकेर स्वदेश फर्किएपछि उनले नेपालमा आइटी कम्पनी दर्ता गरेर काम सुरु गरेका थिए । एक्लैले सुरु गरेको कम्पनीलाई उनले पछि केही दर्जन युवाहरुलाई रोजगारी दिनसक्ने बनाए ।

आफ्नो पेशाभन्दा माथि रहेर केही गर्नुपर्छ भन्ने हुटहुटी उनमा थियो । त्यसैले आइटी सेक्टरमै काम गर्ने केही साथीहरु भेला गरेर एउटा अनौपचारिक संगठन बनाए । विवेकशील नेपाली दलको बिउः त्यही आइटी उद्यमीहरुको संगठन थियो ।

देशको राजनीतिक वातावरण विग्रिँदै गएको थियो । त्यसले सबै क्षेत्रमा प्रभाव पारेको थियो । देशलाई ठिक दिशामा ल्याउन युवाहरु नै राजनीतमा होमिनुपर्छ भन्ने निस्कर्षसहित उज्ज्वललको समूहले पार्टी दर्ता गरेर चुनाव लड्ने निर्णय लियो ।

२०७० सालमा भएको दोस्रो संविधानसभाबाट उज्ज्जल राजनीतिमा होमिएका हुन् । कतै दर्ता नभएको ‘विवेकशील नेपाली मञ्च’ निर्माण गरेर व्यवसायीक काम गरिरहेका उज्ज्वल राजनीतिमा आउँदा उनीसँग कुनै अनुभव थिएन ।

दोस्रो संविधानसभा चुनावमा भाग लिने निर्णय गरे पनि त्यसबेला दल दर्ताका लागि १० हजारको हस्ताक्षर जुटाउन उनीहरुलाई धौ-धौ परेको थियो । फर्जी काम गरेको भए तत्काल हुन्थ्यो । तर असली हस्ताक्षर जुटाउन खोज्दा सम्भव भएन ।

अन्ततः उनको समूहले स्वतन्त्र उम्मेदवारहरु उठाएर एउटै चुनावचिन्हमा चुनाव लडेको थियो । साझा चुनाव चिन्ह छानिएको थियो कुकुर । यसबेला उज्ज्वल सहित चार युवाले कुकुर चुनावचिन्हबाट चुनाव लडेका थिए । चुनावचिन्हकै कारणले पनि उनीहरुप्रति जनचासो उत्पन्न भएको थियो । कतिले उनीहरुलाई खिसट्यूरी पनि गरे ।

काठमाडौं १, ४, ५ र ८ मा चुनाव लडेका स्वतन्त्र उम्मेदवारहरुले उल्लेख्य भोट ल्याउन सकेनन् । सबैभन्दा बढी थापाले एक हजार एक सय ६३ भोट ल्याएका थिए ।

२०७४ सालमा भएको स्थानीय चुनावपछि विवेकशील नेपाली दलको चर्चा चुलिएको थियो । उक्त चुनावमा रञ्जु दर्शनाले काठमाडौंको मेयरमा ठूला दलहरुलाई टक्कर दिएकी थिइन् । त्यसपछि भएको चुनावअघि विवेकशील र साझा पार्टीबीच एकता भयो । त्यसमा रवीन्द्र मिश्र र उज्ज्वल संयुक्त अध्यक्ष बनेका थिए ।

एक वर्षपछि पार्टीमा फुट आयो र पुरानो विवेकशील ब्यूँतियो । त्यसको केही समयमा उज्ज्वलले पार्टीको बागडोर मिलन पाण्डेलाई सुम्पिए । अहिले फेरि दोस्रोपटक विवेकशील र साझा पार्टीबीच एकीकरण भएको छ । एकीकृत पार्टीमा पनि उज्ज्वल नेतृत्वमा बसेका थिएनन् ।

उज्ज्वलले स्थापना गरेको विवेकशील नेपाली दल सुरुदेखि नै नेता-कार्यकर्ता र सुभेच्छुकहरुको आर्थिक सहयोगबाट चलेको थियो । आर्थिक पारदर्शीमा भएकाले यस दललाई देश विदेशबाट आर्थिक सहयोग हुँदै आयो । नेपाल बन्दको विरोधमा चलाएका अभियान, भ्रष्टाचारविरोधि आन्दोलन, भूकम्पपछिको उद्दार र राहतमा सक्रियता, आर्थिक पारदर्शीता तथा अन्य लोकप्रिय एजेन्डाहरुको बलमा विवेकशीलले युवाहरुमा आकर्षण पैदा गर्न सफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *