एमाले रोजेपछि माओवादीले हटाएका तीन सांसद सर्वोच्च पुगे – Nepal Press

एमाले रोजेपछि माओवादीले हटाएका तीन सांसद सर्वोच्च पुगे

जनकपुरधाम । नेकपा खारेजको फैसलापश्चात एमाले रोजेपछि माओवादीले प्रदेश २ सांसदबाट हटाएका तीनजना सर्वोच्च अदालत पुगेका छन् ।

पदमुक्त सांसदहरू रामचन्द्र मण्डल, मो. समिर र कुन्दन प्रसाद कुशवाहाले सर्वोच्चमा उत्प्रेषण परमादेशको मागसहित रिट दर्ता गराएका हुन् । ५ दिनअघि दर्ता गरिएको रिटमा आफूहरूलाई हटाइनु संविधानविपरीत रहेको उनीहरूले जिकिर गरेका छन् ।

मण्डल माओवादीमा हुँदा प्रदेश २ संसदीय दलका नेता थिए । एमाले-माओवादी एकीकरणपश्चात सत्यनारायण मण्डल चुनिए । पछि माधव नेपाल समूहले शत्रुधन महतोलाई चयन गर्‍यो ।

तर नेकपा खारेजको फागुन २३ गते सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्युँतिएपछि माओवादीबाट प्रदेशसभामा निर्वाचित चार सांसदले एमालेलाई साथ दिए । रामचन्द्र मण्डललाई एमालेले केन्द्रीय सदस्यमै मनोनीत गर्‍यो ।

एमालेमा लागेको भन्दै सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि माओवादीले उनीहरूलाई सांसदबाट पदमुक्त गराएको थियो । पदमुक्त भएको डेढ महिनापछि उनीहरू अदालतको ढोकामा पुगेका हुन् ।

मण्डलले नेपाल प्रेससँग भने, ‘रिट हालेको छु । तर यसबारे अहिले तत्काल केहि बोल्दिनँ ।’ मण्डल धनुषा क्षेत्र नम्वर १ (ख) बाट निर्वाचित भएका थिए । अर्का पदमुक्त समानुपातिक सांसद मो. समिरले प्रतिक्रिया दिएनन् । माओवादीले उनको ठाउँमा पस्मिना कादरीलाई जिम्मेवारी दिइसकेको छ ।

अर्का पदमुक्त रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित साँसद कुन्दनप्रसाद कुशवाहाले पार्टीले आफूमाथि अन्याय गरेकाले सर्वोच्च पुगेको प्रतिक्रिया दिए । उनले आफू माओवादीमै रहेको दावी गरे । भने, ‘मलाई स्पष्टीकरण पनि सोधेको छैन । जनताले मलाई निर्वाचित गरेका छन् । अनि पार्टीले पदमुक्त गर्न मिल्छ ?’

पार्टीले पदमुक्त गरेको निर्णय बदरका लागि सर्वोच्चमा रिट हालेको उनको भनाइ छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले १५ दिनभित्र निवेदक र प्रदेशसभा सचिवालय प्रदेश २, निर्वाचन आयोग, नेकपा माओवादी केन्द्र र संसदीय दललाई छलफलका लागि बोलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर