काठमाडौंमा सीजी इन्टरनेट सेवा सुरु, ९९९ रूपैयाँमै १२० एमबीपीएस – Nepal Press

काठमाडौंमा सीजी इन्टरनेट सेवा सुरु, ९९९ रूपैयाँमै १२० एमबीपीएस

काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा ‘सीजी नेट’ सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सीजीले दाबीसमेत गरेको छ ।

सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको इन्टरनेट सेवा ९९९ रूपैयाँमा उपलब्ध गराउने बताएको छ । उपभोक्ता केन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा नयाँ अनुभव गराउने विश्वास लिएको सीजी कम्युनिकेसन्सले बताएको छ ।

‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) रहेको र यसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउने छ । निकट भविष्यमै आईपीटीभी र अन्य सेवा पनि बजारमा ल्याउने तयारी गरिरहेको सीजीले जनाएको जानकारी दिएको छ ।

भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरिरहेको बताइएको छ ।

सीजीले सुरुमा आफ्नो सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध गराउने भएको छ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका सेवाग्राहीले सीजीको इनटनेट सेवा प्राप्त गर्नेछन् । १ वर्षभित्रमा उपत्यकाका स्थानमा क्षेत्रमा ‘सीजी नेट’ विस्तार लक्ष्य लिएको कम्पनीले बताएको छ ।

उल्लेखित क्षेत्रका उपभोक्ताले सीजी नेटको सेवा माग गरिएमा ६ देखि २४ घण्टाभित्र उपलब्ध गराइने चौधरी ग्रुपले जनाएको छ ।

सीजी नेटका डिजिटल शाखाहरू जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावरमा राखिएको पनि कम्पनीले जानकारी दिएको छ । सुरुआतमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकिएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर नि:शुल्क व्यवस्थामा मिलाउनुका साथै मासिक, ३ महिने र ६ महिने प्याकेजमा जडान र केबल नि:शुल्क दिने सीजीले बताएको छ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए ।

‘दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ, उनले भने ‘नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।’

नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न सीजी सक्षम हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर