काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी, खाद्य तथा किराना पसल खुलाइने – Nepal Press

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी, खाद्य तथा किराना पसल खुलाइने

काठमाडौं । राजधानी उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको छ ।

कोरोनाभाइरस संक्रमणमा उल्लेखनीय कमी नभएको र अझै केही समय परिस्थितीलाई हेर्नुपर्ने भएकाले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नेपाल प्रेसलाई जानकारी दिए ।

आज अपरान्ह बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ । प्रजिअ पराजुलीका अनुसार खाद्य तथा किराना पसल खुलाउन दिने तयारी भएको छ ।

अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ । निषेधाज्ञालाई कडाइ तुल्याउने जानकारी दिँदै प्रजिअ पराजुलीले आज बस्ने बैठकले थप निर्णय गर्न सक्ने समेत बताए ।

काठमाडौंको अवस्था कस्तो छ ?

सोमवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डौं जिल्लाका रहेका छन् । राजधानीका ८९० जनासहित भक्तपुरका २२० जना र ललितपुरका २५२ जना गरी उपत्यकामा थप १,३६२ जना सङ्क्रमित थपिएका छन्।

काठमाडौंमा १४ हजार ७९५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ४४०९ र ललितपुरमा ६३९१ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *