कोरोना नियन्त्रणमा कर्णाली सरकारको ८२ करोड खर्च, बजेट र जनशक्ति कम हुन नदिने प्रतिबद्धता – Nepal Press

कोरोना नियन्त्रणमा कर्णाली सरकारको ८२ करोड खर्च, बजेट र जनशक्ति कम हुन नदिने प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले बजेट र जनशक्तिको अभाव हुन नदिएको दावी गरेका छन् ।

प्रदेशसभाको सामाजिक विकास समितिले गरेको छलफल कार्यक्रममा सचिव काप्रीले चालु आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ रोकथाम, नियन्त्रण, प्रतिकार्य, निदान र उपचार व्यवस्थापनका लागि पूँजीगत तर्फ ३१ करोड ९४ लाख ८० हजार र चालूतर्फ ५० करोड ९१ लाख गरी ८२ करोड ८५ लाख ८० हजार रुपैयाँ बजेट निकासा गरिसकेको जानकारी दिए ।

उनले भने, ‘कर्णाली प्रदेशका ३३ वटा स्थानीय तहलाई स्वास्थ्य सेवासंग सम्बन्धित विभिन्न क्रियाकलापका लागि जम्मा रु. १२ करोड १२ लाख २० हजार विनियोजन गरी उपलब्ध गराइएको छ ।’

उक्त रकम मध्ये दैलेखको आठबीस नगरपापालिकालाई राकम कर्णालीमा ट्रमा सेन्टरसहितको अस्पतालको डीपीआरसहित भवन निर्माणका लागि ६० लाख रकम उपलब्ध गराइएको छ । पन्चपुरी नगरपालिका, कपुरकोट गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकालाई होल्डिङ सेन्टर एवं हेल्थ डेस्क र अन्य सामग्री व्यवस्थापनका लागि क्रमशः ७५ लाख, ५० लाख र ३० लाख रकम उपलब्ध गराइएको छ ।

यस्तै, १६ स्थानीय तहलाई सम्बन्धित स्थानीय तहको अनिवार्य ३० प्रतिशत लागत साझेदारी हुने गरी एम्बुलेन्स खरिदको लागि हरेक स्थानीय तहमा ७ लाख ७० हजार र एम्बुलेन्स परिचालन तथा व्यवस्थापनको लागि थप २ लाख रकम उपलब्ध गराइएको छ ।

तीन स्थानीय तहका रणनीतिक स्थानमा आधारभूत अस्पताल निर्माण सहयोगका लागि प्रति स्थानीय तह ५० लाख रकम उपलब्ध गराइएको, ११ स्थानीय तहमा रहेका अस्पतालहरुको लागि भेन्टिलेटर र आईसीयू खरिद गर्न १० लाख देखि २५ लाख रुपैयाँसम्म उपलब्ध गराइएको छ ।

पाँच स्थानीय तहका रणनीतिक अस्पतालमा एक्सरे, ईसीजी खरिदका लागि प्रति पालिका ५ लाखदेखि ५० लाख रुपैयाँसम्म उपलब्ध गराइएको छ । अन्य १६ स्थानीय तहका लागि स्वास्थ्यसम्बन्धी उपकरण तथा मेशिनरी औजार खरिदका लागि प्रति पालिका २ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

अस्पताललाई थप बजेट

सचिव काप्रीका अनुसार कर्णाली मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई अक्सिजन ग्यास÷सिलिन्डर व्यवस्थापन, एन्टिजेन किट, स्वास्थ्य सुरक्षा सामाग्रीहरु, आइसोलेसन बेड व्यवस्थापन, कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधि, रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि, प्रयोगशालामा आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन, विशेषज्ञ सेवा तथा जनशक्तिको व्यवस्थापन लगायत कार्यका लागि प्रदेश अस्पताल, सुर्खेत र ८ वटा जिल्ला अस्पताल समेतका स्वास्थ्य सेवा कार्यालयहरु– दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट, हुम्ला, मुगु र डोल्पालाई १–१ करोडका दरले र मेहलकुना अस्पताल, सुर्खेतलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । साथै, सोही बैठकबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र चौरजहारी अस्पताल, रुकुम पश्चिमलाई १÷१ करोडका दरले उपलब्ध गराउने निर्णय भइसकेको छ ।

अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापन, अक्सिजन कन्सन्ट्रेटर, रेम्डेसिभिर इन्जेक्सन लगायत औषधि खरिद तथा सिकिस्त कोभिड–१९ बिरामीको हवाई उद्धार कार्य व्यवस्थापनका लागि स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतलाई रकम १३ करोड ८० लाख उपलब्ध गराउन कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट बजेट सुनिश्चिततासँगै कार्य सम्पादन प्रक्रियामा रहेको उनको भनाई थियो ।

स्वास्थ्यकर्मीको दरवन्दी थप

कोभिड महामारीसँगै स्वास्थ्य क्षेत्रमा कर्मचारी पनि थप गरिएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई लक्षित गरी कर्णाली प्रदेशको स्वीकृत दरबन्दीमा स्वास्थ्यकर्मीहरु करिब दुई तिहाई रिक्त रहेको सन्दर्भमा अत्यावश्यक जनशक्ति व्यवस्थापनको लागि १ सय ७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करार तर्फ १ सय ८३ जना चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको सचिव काप्रीको भनाई छ ।

‘गत आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशका सबै जिल्लामा मेशिनरी औजार तथा उपकरण तर्फ बजेटको व्यवस्था भई आईसीयू र भेन्टिलेटरको व्यवस्थापन भएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा दुई ब्याचमा चिकित्सक तथा नर्सहरुलाई अत्यावश्यक सघन उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ ।’

कोभिड–१९ को प्रतिकार्य व्यवस्थापनमा शव व्यवस्थापन लगायतका कार्यमा सुरक्षाकर्मीलाई समेत खटाइएको छ भने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका लागि कोभिड–१९ प्रतिकार्यको लागि आवश्यक लजिस्टिक व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता प्रदान गर्ने सम्बन्धमा प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिश गरिएको छ,’ उनी भन्छन्, ‘कोभिड–१९ संक्रमित भई अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत बिरामी तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीको लागि खाना खर्च बापत जिल्ला अनुसार प्रतिव्यक्ति प्रतिदिन ४०० देखि ६०० रुपैयाँसम्म व्यवस्था गर्ने सम्बन्धमा प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिश गरिएको छ ।’

उनले पर्याप्त क्षमताको अक्सिजन प्लान्ट स्थापना तथा संचालनका लागि कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतलाई १ करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय, कालिकोटलाई ८० लाख रकम उपलब्ध गराउने प्रक्रियामा रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर