बुटवल उपमहानगरभित्रका सबैलाई निःशुल्क कोरोना परीक्षण शुरु – Nepal Press

बुटवल उपमहानगरभित्रका सबैलाई निःशुल्क कोरोना परीक्षण शुरु

रुपन्देही । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आंकलन गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकामा टोलटोलमा निःशुल्क परीक्षण शुरु गरिएको छ ।

सोमबारदेखि मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए । यस्तोे परीक्षणबाट पनि केही संक्रमित भेटिएकाले यसलाई थप बिस्तार गरिने उनको भनाइ छ ।

मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ । बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण हस्टस्पट क्षेत्र पहिचान गरी एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो । यो परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ ।

महामारीविरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदायस्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख सुवेदीले स्वास्थ्य मापदण्ड र स्वनियममा बस्न आग्रह गरेका छन् ।

जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताए ।

मनोबल उच्च राख्न उनले आग्रह गरेका छन् । स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

‘सावधानी र स्वास्थ्य मापदण्ड सबैले पालना गरौं, ’उनले भने । उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद औषधि वितरण गरिएको छ भने योगा र ध्यान सिकाइएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद औषधि, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिण्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर