नवलपरासीको शीत भण्डार निर्माण अन्तिम चरणमा – Nepal Press

नवलपरासीको शीत भण्डार निर्माण अन्तिम चरणमा

रुपन्देही । किसानलाई व्यवसायिक बनाउँदै स्वरोजगार बनाउन र कृषि उत्पादन बढाउन सहकारी संघको अगुवाईमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ मुखिया टोलमा निर्माणाधीन शीत भण्डार अन्तिम चरणमा पुगेको छ ।

जिल्ला सहकारी संघ पश्चिम नवलपरासीको अगुवाइमा पश्चिम नवलपरासीमा शीत भण्डार निर्माण हुन लागेको हो । २६ करोडको लागतमा निर्माण भइरहेको शीत भण्डार तीन हजार मेट्रिक टन क्षमताको रहेको छ ।

सुनवल नगरपालिकाले उपलब्ध गराएको डेढ बिगाहा जग्गामा निर्माण भइरहेको शीत भण्डारमा नेपाल सरकारको ६० र सहकारीको ४० प्रतिशत सामूहिक शेयर लगानी रहेको जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले बताए ।

शीत भण्डार निर्माण सम्पन्न गर्न अर्थ मन्त्रालयबाट सात करोड ५९ लाख रुपैयाँ निकासा भएको छ । शीत भण्डार निर्माणका लागि संघीय सरकारबाट ६० प्रतिशत अनुदान दिने भनिए बमोजिम उक्त रकम निकासा भएको हो ।

प्रदेश र स्थानीय तहबाट २० प्रतिशत र जिल्लाका विभिन्न प्रारम्भिक सहकारी संस्थाबाट २० प्रतिशत लगानी जुटाई सम्पन्न गर्ने लक्ष्य लिए बमोजिम अर्थमन्त्रालयबाट उक्त रकम प्राप्त भएको सुनवल नगरपालिकाले जनाएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिइएको शीत भण्डारमा जिल्लाका कृषकले उब्जाएको तरकारी र फलफूल भण्डारण गर्न सकिने संघले जनाएको छ । किसानले उब्जाएका फलफूल, तरकारी, माछा मासु, दुग्धलगायतका वस्तुहरू अलगअलग तापक्रममा राख्ने व्यवस्था हुने संघका अध्यक्ष पौडेलले जानकारी दिए ।

ठेक्का रकमको कुल ६० प्रतिशत लगानीमध्ये यसअघि २ किस्तामा गरी पाँच करोड रकम अर्थ मन्त्रालयबाट प्राप्त भइसकेको छ ।
शीत भण्डार निर्माणपछि किसानलाई व्यवसायिक बनाउँदै स्वरोजगार बनाउन र कृषि उत्पादनमा समेत वृद्धि गर्न सहयोग पुग्ने सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापाको विश्वास छ ।

सुनवलमा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थासहकारीले शीत भण्डारमा दश लाख लगानी गरेको व्यवस्थापक टीकाराम तिमिल्सिनाले बताएका छन् ।

जिल्लामा शीत भण्डार नहुँदा यस क्षेत्रका किसानहरूले उत्पादन गरेका फलफूल तथा तरकारी सीजनमा मात्र बिक्री गर्न किसानहरू बाध्य थिए ।शीत भण्डार सञ्चालनमा आएपछि किसानहरूलाई सहज हुनेछ । पश्चिम नवलपरासीमा पर्याप्त रूपमा तरकारी, फलफूल, दूध, माछा उत्पादन हुने गर्दछ ।

अहिले शीत भण्डारको छाना छाउने काम भैरहेको छ । शीत भण्डार तयार भएपछि पश्चिम नवलपरासीलगायतका क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल राख्न सकिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर