बालुवाटार बैठकमा प्रधानमन्त्रीले राखे जसपा नेताहरूसँग यस्तो प्रस्ताव – Nepal Press

बालुवाटार बैठकमा प्रधानमन्त्रीले राखे जसपा नेताहरूसँग यस्तो प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रिय सहमतिको सरकार बनाउन अग्रसर भएको भन्दै जसपाका नेताहरूलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

बालुवाटारमा जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँगको छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपाल प्रेसलाई बताए ।

जसपा सरकारमा सहभागी हुन तयार नै रहे पनि एक-दुई दिन अझै समय लाग्ने उनले बताए । जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित भइसकेको छ ।

पार्टीभित्र सर्वसम्मत निर्णय बनाउने वा कार्यकारिणी समितिमा पनि बहुमत जुटाएर निर्णय गर्नका लागि ठाकुर पक्षले समय मागेको स्रोतले जनाएको छ । एकले अर्को पक्षलाई कारवाहीको तयारी गरेका बेला कानुनी रुपमा पनि दल विभाजन हुँदा आधिकारिकता पाएर सरकारमा सहभागी हुन खोजेको जसपाका नेताहरूले बताएका छन् ।

बालुवाटारमा आज भएको छलफलमा एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी थिए ।

त्यस्तै जसपाबाट अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।

नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर