बुटवलमा ५० शैय्याको कोभिड अस्पताल संचालनमा – Nepal Press

बुटवलमा ५० शैय्याको कोभिड अस्पताल संचालनमा

रुपन्देही । बुटवल उपमहानगरपालिकामा निजी क्षेत्रबाट कोभिड नियन्त्रण र उपचारमा सघाउ पुर्याउने उद्देश्यले ५० शैय्याको कोभिड अस्पताल स्थापना गरिएको छ ।

बुटवल- १३ बेलबासस्थित एडमण्ड सिटी अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल संचालनमा ल्याएको हो ।
कुल ३ करोड रुपैयाँको लागतमा स्वास्थ्य उपचार सामग्री र उपकरण व्यवस्थापन गरी तत्कालै कोभिड संक्रमितका विरामीको उपचार सुरु गरिएको छ ।

यो अस्पतालले २०७७ सालमा नेपाल सरकारबाट ५० शैय्याको अस्पतालको सम्बन्धन स्वीकृति प्राप्त गरेको हो । करिब १ विगाहा क्षेत्रफलमा निर्मित भवनमा भेन्टिलेटरसहित ८ शैय्याको आइसीयू कक्ष, ७ शैयाको एचडीयू कक्ष तथा ३५ शैय्याको आइसोलेसन कक्षसहित ५० शैयाको कोभिड लक्षित अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष प्रकाश रानाले बताए ।

यही १८ गते मंगलबारदेखि पूर्ण संचालनमा आउने सो अस्पतालमा विशेषज्ञ चिकित्सक ४ जना, मेडिकल अफिसर १०, नर्सिङ्ग स्टाफ ३८, प्यारामेडिक २२ र अन्य कर्मचारीसहित १ सय ४० जना कार्यरत रहने अध्यक्ष रानाले जानकारी दिए ।

नेपालमा कोभिडको संक्रमण दर केही कम भए पनि जोखिम कायमै रहेकाले कोभिड नियन्त्रण, रोकथाम र उपचारमा राज्यलाई टेवा पुर्याउने उद्देश्यले अस्पताल संचालनमा ल्याइएको अध्यक्ष रानाले बताए ।

कोभिड महामारी अन्त्य भएमा सोही अस्पतालमा अन्य उपकरण थप गरी ट्रमा सेन्टर, न्यूरो तथा क्यान्सर रोग उपचार लगायतका महत्वपूर्ण कार्यहरु गर्ने लक्षका साथ योजनाहरु बनाइएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *