सगरमाथा क्षेत्रमा संकलित ४१८ केजी फोहोर सैनिक सफाइ टोलीद्वारा हस्तान्तरण (भिडियो) – Nepal Press

सगरमाथा क्षेत्रमा संकलित ४१८ केजी फोहोर सैनिक सफाइ टोलीद्वारा हस्तान्तरण (भिडियो)

इटहरी । ‘सफा हिमाल अभियान २०२१’अन्तर्गतको नेपाली सेनाको टोलीले सगरमाथा क्षेत्रमा संकलन गरेको कुहिने फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) लाई हस्तान्तरण गरेको छ । आज बिहान नाम्चे बजारमा सफा हिमाल अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले फोहोर हस्तान्तरण गरेका हुन् ।

‘आज हामीले ४ सय १८ केजी कुहिने फोहोर एसपीसीसीलाई हस्तान्तरण गरेका छौँ’, नेपाल प्रेससँग कुरा गर्दै सेनानी कार्कीले भने, ‘थप ३ सय किलो आउने क्रममा छ ।’

नेपाली सेनाको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, र पुमोरी क्षेत्रबाट १२.६ टन फोहोर संकलन भएको थियो । जसमा ९.४ टन आधार शिविर माथिको क्षेत्रको भएको सगरमाथा आरोहीसमेत रहेको सेनानी कार्कीले बताए । आधार शिविरबाट भने ३.२ टन फोहोर संकलन गरिएको उनले बताए ।

सफा हिमाल अभियानकै क्रममा नेपाली सेना नेतृत्वको टोलीले यो वर्ष सगरमाथामा ८ हजार मिटर उचाइमा २ शव समेत फेला पारेको थियो । एउटा लासको नाम खुलेको छैन भने अर्को शव भने सन् २०१९ मा टीएजी नेपाल प्रालिमार्फत सगरमाथा आरोहण गरेर फर्किने क्रममा ज्यान गुमाएका ६२ वर्षीय अमेरिकी नागरिक क्रिस्टोफर कुलिसको भएको खुलेको छ । यस्तै, क्याम्प टूमा एक मानव कंकाल समेत सेनाको टोलीले फेला पारेको थियो ।

मौसम खराबी भएपछि आइतबार नेपाली सेनाले क्याम्प टूबाट आधार शिविरमा फोहोर ढुवानी गर्न हेलिकप्टर प्रयोग गरेको थियो । मौसमी अदलीबदली र शेर्पा सहयोगीको अभावले हेलिकप्टरमा ढुवानी गरिएको सेनानी कार्कीले बताए । आइतबार क्याम्प टूबाट थ्री र फोरबाट समेत संकलन गरेर जम्मा भएको फोहोर १७ उडानबाट आधार शिविरमा ल्याइएको सेनानी कार्कीले जानकारी दिए । उनले भने, ‘बाँकी सबै फोहोर मान्छेले नै ल्याउने योजना थियो । ल्याइएको पनि थियो । मौसमले असहज गरेकोले उडानबाट ल्यायौँ ।’ आधार शिविरबाट हुने सबै फोहोर ढुवानीमा भने उडान नगरिने कार्कीले बताए ।

नेपाली सेनाले सगरमाथा सफाइ गरेको यो तेस्रो पटक हो । सन् २०१३ र २०१९ मा पनि सेनाले हिमाल सफाइ गरेको थियो । २०१३ मा ४ टन र २०१९ मा १० टन फोहोर संकलन भएको थियो । यो वर्षको सफाइ भने अहिलेसम्मकै ठूलो अभियान हो । सफाइमा सगरमाथासहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी समेटिएका छन् ।

गत फागुन ६ गते पत्रकार सम्मेलन गरेर सेनाले सफाइ टोलीलाई चैत ३१ मा व्यानर हस्तान्तरण गरेको थियो भने छ हिमालमा आधार शिविर भने वैशाख २ मा खडा गरेको थियो । आरोहणको विधिबाट हुने सफाइबाट उठेको नकुहिने फोहोर विश्व वातावरण दिवसको दिन वातावरण सम्बन्धी काम गर्ने संस्थालाई काठमाडौं वैशाख २२ गते दिने पूर्वनिर्धारित कार्यक्रम अनुसार सेना सक्रिय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर