नयाँ बजेटमा पूर्वाधार : कुन आयोजनामा कति रकम ? – Nepal Press

नयाँ बजेटमा पूर्वाधार : कुन आयोजनामा कति रकम ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको करिब साढे १६ खर्बको बजेटमा भौतिक तथा पूर्वाधारलाई १ खर्ब ६३ अर्ब ३७ करोड रूपैयाँ छुट्याएका छन् । यो रकम आर्थिक वर्ष २०७७/७८ भन्दा २४ अर्ब ५७ करोडले बढी हो ।

आव २०७७/७८ मा भौतिक तथा पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ३८ अर्ब ८० करोड छुट्याइएको थियो । नयाँभन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकतामा राखेर सरकारले बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा प्राथमिकतामा परेका आयोजना र तिनमा छुट्याइएको बजेट हेर्नुस् :- 

सुरुङमार्ग

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आधुनिक सुरुङमार्ग नेपालीको सपना नभई वास्तविकता भएको बताएका छन् । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ९ अर्ब ८५ करोड छुट्याइएको छ । साथै, काठमाडौंको तीनकुने-जडिबुटी सुरुङमार्गका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ । सुरुङमार्ग निर्माण र अध्ययनको थप कामका पनि योजना अघि सारिएका छन् ।

राजमार्ग

पूर्व-पश्चिम राजमार्गलाई सुरक्षा मापदण्डसहितको चार लेनमा विस्तार गर्ने अर्थमन्त्री पौडेलले बताएका छन् । यसका लागि १५ अर्ब ३४ करोड विनियोजन गरिएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई चारलेनमा नै विस्तार गर्ने गरी ८ अर्ब १३ करोड छुट्याइएको छ । विनियोजन गरिएको छ ।

मदनभण्डारी राजमार्ग अन्तर्गत चतरा-हेटौंडा खण्डको निर्माण कार्य तथा शान्तिनगर-धरान र भेडावारी-धुलियाविट सुर्खेत खण्डको निर्माणका लागि ३ अर्ब २० करोड बजेट छ ।

सिद्धार्थ र कोहलपुर-सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नती गर्न ७ अर्ब रकम छ । पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन सडक खण्ड र आँवुखैरेनी-पोखरा सडकलाई चार लेनमा विस्तार गर्न ७ अर्ब छुट्याइएको छ ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने तराई-मधेसका १८ जिल्लामा जिल्ला सदरमुकामहँदै दक्षिण सीमा जोड्ने सडकलाई चार लेनमा विस्तार गर्न अर्थमन्त्रीले २ अर्ब ६६ करोड विनियोजनको घोषणा गरेका छन् । अरनिको राजमार्गमा पर्ने धुलिखेल-दोलालघाट-कोदारी खण्डको स्तरोन्नतीका लागि १ अर्ब १३ करोड विनियोजन गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को बजेटमा कर्णाली राजमार्गका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ ।

भेरी सडक करिडोर जाजरकोट-दुनै खण्डको स्तरोन्नती र तिन्जे धो खण्डको ट्रयाकका लागि ७१ करोड विनियोजन गरिएको छ । महाकाली करिडोरका लागि १ अर्ब ३ करोड छुट्याइएको छ ।

उत्तर-दक्षिण सडक करिडोर

मेची कोरिडोरको देउराली-भैंसे खण्ड, तमोर, चतरा-ओलाङचुङगोला खण्ड, कोशी करिडोरलगायत टीकापुर-साँफे खण्डका लागि ६ अर्ब ५० करोड बजेट छुट्याइएको छ ।

सरकारले नयाँ बजेटमा हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड विनियोजन गरेको छ ।

काठमाडौं-तराई मधेश द्रूत मार्ग

काठमाडौं-तराई मधेश द्रूत मार्गको निर्माणलाई तीब्रता दिन सुरुङमार्ग र उचाइयुक्त पुल निर्माणका लागि ८ अर्ब १५ करोड छुट्याइएको छ ।

३०० पुल बनाइने

नयाँ बजेटमा ३०० पुल निर्माण गर्न ११ अर्ब १० करोड रूपैयाँ छुट्याइएको छ । यसमा पूर्व-पश्चिम राजमार्गका कोशी, नारायणी, राप्तीलगायतका १० सम्भाव्य सडक पुललाई आकर्षक सिग्नेचर ब्रिजमा प्रतिस्थापन गर्ने सरकारको योजना छ ।

चक्रपथ विस्तार

काठमाडौंस्थित दोस्रो चरणको चक्रपथ विस्तारको लागि २ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।

सरकारले देशभित्र आधुनिक प्रविधियुक्त रेल यातायात सञ्जाल विकासका लागि १० अर्ब ३ करोड छुट्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर