प्रधानमन्त्री ओली ‘राजनेता’ हुन् ? – Nepal Press
ब्लग

प्रधानमन्त्री ओली ‘राजनेता’ हुन् ?

सानै छँदा बुवाले सुनाउनु भएको एक सत्य घटना याद आयो । बुवा धार्मिक प्रकृतिको व्यक्ति हुनुहुन्छ । बुवा त्यो बेला ईलाम नगरपञ्चायतमा काम गर्नुहुन्थ्यो । लामो समयसम्म काम गर्नुभएकोले बजारक्षेत्रका प्रायः सबैले चिन्ने गर्थे ।

ईलाम बजार र आसपासका क्षेत्रमा भएका कुनै पनि धार्मिक कार्य तथा प्रवचनमा उहाँको प्रायः उपस्थिति हुन्थ्यो । त्यो बेला स्वामी प्रपन्नाचार्य ईलाम पुग्नु भएको रहेछ । ईलामका केही धार्मिक व्यक्तिहरूले उहाँलाई एक प्रवचनको लागि आग्रह गरेछन् । प्रवचनको लागि ईलामको जिल्ला पञ्चायतको परिसरमा रहेको सभाहल तय भयो ।

उहाँले आफ्ना केही बाल्यकालका कहानी र अध्ययन गर्न बनारससम्म पुगेका कुराहरू सुनाएर प्रवचन समाप्त गरिदिनु भएछ । त्यसपछि त्यहाँलाई इलामको एक क्याम्पसमा पढाउने विद्वान प्राध्यापकले अनुरोध गर्नु भएछ– स्वामी ज्यू, यहाँ त वेदान्तमा विद्यावारिधि गर्नुभएको हामीलाई वेदान्तको बारेमा केही सुनाउनुहुन्छ भन्ने आशा थियो ।

उहाँले प्रतिप्रश्न गर्नुभएछ– तिमी के गर्छौं ? म प्राध्यापक हुँ दुई विषयमा एमए गरेको छु । आदि इत्यादि‍…

स्वामी जीले त्यो बेला ‘तिमी वेदान्त बुझ्दैनौं, सुनाएर केही हुन्न । पहिला केही अध्ययन गर’ भन्नुभएछ । पछि फेरि उहाँहरूको संवाद भयो, भएन उहाँले वेदान्त श्रवण गर्नुभयो, भएन ? ती सबै कुरा समयले साथ दियो भने पछि उहाँसँग बसेर सोधौंला तर यहाँ भने प्रसंग अर्कै छ ।

किनकि हामी धेरै पढेर जानेर पनि धोका खाइरहेका हुन्छौं । बुझ्न चाहेर पनि पार्टीको, समाजको, जातिको, धर्मको पर्दा लगाएर बसेको हुनाले हामी वास्तविकतासम्म पुग्न सक्दैनौं।

हिजो मात्र एक जना व्यक्तिले मलाई सोध्नु भयो, ‘राजनेता भनेको के हो ?’

हरेक शब्दको अर्थ हुन्छ । कति शब्दहरू हामीले अर्थ नजानेर नै पनि प्रयोग गरिरहेका हुन्छौं । सायद धेरैले नेता भनेको नै के हो भनेर बुझेका हुँदैनन् भने म उहाँलाई राजनेता भनेको के हो भनेर कसरी भनौं ? भन्ने सोचेर चुपचाप लागें । यसको मतलब म सर्वज्ञानी भन्ने होइन । तर मेरो अरूलाई बुझाउने कला कम भएकोले पनि म पछि सर्ने गरेको हुँ ।

नेता शब्द संस्कृतबाट हुबहु आएको शब्द हो अर्थात् तत्सम त्यसको सम्मान भन्नाले संस्कृतको सम्मान हो । नी धातुबाट तृच् प्रत्यय लागेर बनेको हुन्छ जसको विभिन्न अर्थमा प्रयोग भएको पाइन्छ । सामान्य अर्थ “नयति इति नेता” जो लैजानेवाला अर्थात् मार्गदर्शन गर्ने वाला छ भने त्यो नेता हो । मार्गदर्शक भनेको जहिले पनि श्रेय मार्गतिर लानेलाई नै भन्ने गरिन्छ ।

नेता शब्द ऋग्वेदमा पनि प्रयोग भएको देखिन्छ

नेतार ऊ षु णस्तिरो वरुणो मित्रो अर्यमा ।
अति विश्वानि दुरिता राजानश्चर्षणीनामति द्विषः ॥
— ऋग्वेदः सूक्तं १०।१२६।६॥

भावार्थस् वरुण, मित्र अर्यमा जो सबै जीवहरूका राजा हुनुहुन्छ, हामीलाई कष्ट र शत्रुहरूबाट दूर सुरक्षातर्फ लैजान नेतृत्व गर्नुहुन्छ ।

यस्तै अन्य धेरै प्राचीन ग्रन्थहरूमा नेताको प्रयोग भएको पाइन्छ । समय सन्दर्भअनुसार तिनीहरूलाई कोट्याउँदै जाउँला ।
अब रह्यो राजनेताको कुरा । नेता र राज शब्दको समास भएर राजनेता बनेको हुन्छ । नेताहरूमा पनि जो राजा अर्थात् श्रेष्ठ हुन्छ त्यो नै राजनेता नेता हो । तस्तै मार्गहरूमा श्रेष्ठ राजमार्ग । विद्याहरूमा श्रेष्ठ राजविद्या इत्यादि ।

यहाँ भ्रमित नहुनुहोला, राजा महेन्द्रले बनाएकोले पूर्व(पश्चिम राजमार्गलाई केही व्यक्तिहरूले लोकमार्ग भन्न पनि लागाएका छन् । किनभने जसलाई अहिले हामी नेता भनेर मानेका छौं उहाँहरूले यस्तै यस्तै तोडमोड गर्ने र भ्रमित पार्ने कार्य मात्र गरेको पाइन्छ ।

अब हामीले पहिले त नेता शब्द र राजनेता शब्द जसमा प्रयोग गरिरहेका छौं । के ती सार्थक छन् कि छैनन् भनेर सोच्ने बेला आएको छ ।

एक हुन्छ वस्तु र एक हुन्छ वस्तुभाष । जस्तो पानी समुद्रमा, नदीनाला तलाउमा देखिन्छ । तर कहिले काही मरुभूमीमा पनि देखिन्छ । त्यसलाई भनिन्छ वस्तुभाष । अर्थात् जो छैन् त्यो देखिनु । त्यसैले अहिले हामीले नेता र नेताभाष छुट्याउने बेला आएको छ । के यी पक्कै नेता हुन् या नेताभाष ? यदि मरुभूमिमा देखिने पानी जस्ता हुन् भने अब हाम्रो तिर्खा मेटिँदैन, हामीले नदी या समुद्रतिर नै आफ्नो बाटो परिवर्तन गर्नुपर्छ ।

अहिले कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता भन्ने गरेका छन् । उनलाई पनि माथिकै आधारमा विवेचना गरेर बुझ्न आवश्यक छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *