कर्णालीको सन्दर्भमा बजेट प्रभावकारी नभएको माओवादीको प्रतिक्रिया, एमाले भन्छ- उत्कृष्ट – Nepal Press

कर्णालीको सन्दर्भमा बजेट प्रभावकारी नभएको माओवादीको प्रतिक्रिया, एमाले भन्छ- उत्कृष्ट

सुर्खेत । संघीय सरकारले शनिबार अध्यादेशद्धारा बजेट ल्याएपछि कर्णालीमा मिश्रित प्रतिक्रिया आएको छ । सत्तारुढ दल नेकपा एमालेले बजेट उत्साहप्रद रहेको बताएको छ भने नेकपा माओवादी केन्द्रले कर्णालीका सन्दर्भमा फेल भएको प्रतिक्रिया दिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवम प्रदेश सभा सदस्य विन्दमान विष्टले बजेट कर्णालीमा सन्दर्भमा फेल भएको बताएका छन् । उनले कर्णालीवासीलाई ललिपप देखाउने र अन्यत्र विकास गर्ने संघीय सरकारको पुरानै आचरण बजेटमा प्रष्ट देखिएको बताउँदै यो बजेटले जनताको जीवनस्तर माथि नउठाउने प्रतिक्रिया दिए ।

‘सिद्धार्थ राजमार्ग र सुर्खेत कोहलपुर सडकका लागि गत वर्ष तीन अर्ब थियो । त्यो पैसाले सिद्धार्थ राजमार्ग बनाइयो । यो वर्ष सात अर्ब भनिएको छ । त्यो पनि यता आउँदैन । कर्णाली राजमार्गको सुर्खेत–खुलालु र नाग्म गमगढी सडकलाई दुइ लेनको बनाउने भन्दै एक अर्ब बीस करोड बजेट विनियोजन भएको छ । यो बजेट प्रति खण्ड साठी करोड हुन आउँछ । साठी करोडले कर्णाली राजमार्गमा केहि परिवर्तन हुँदैन । विगतमा दुइ चार मोड निर्माण गरेजस्तै हो ।’ विष्ट भन्छन्, ‘बजेट कार्यान्वयनमूखी भन्दा पनि प्रचारमुखी आएको छ । केहि पपुलिष्ट कार्यक्रम बाहेक कर्णालीका सन्दर्भमा फेरि पनि हेपाहा बजेट नै आएको छ ।’

उनले कर्णालीका जनता जहिल्यै अभावमा बाँचिरहेको बताउँदै यसतर्फ सरकारको बजेट सकारात्मक नभएको बताए । ‘जहाँ विकास भइरहेको छ त्यहाँ बजेट दिइएको छ । जहाँ विकास आवश्यक हो त्यहाँ खासै बजेट छैन । विकासका लागि कर्णाली हात्ती हो भने बजेट जिराको रुपमा दिने भनिएको छ,’ उनी भन्छन्, ‘कर्णालीका नागरिकको यो बजेटले केहि पनि परिवर्तन ल्याउँदैन । यो बजेटले कर्णालीको विकासको नेतृत्व गर्न सक्दैन ।’

नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज एवम कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल बजेट प्रशंसा गर्न लायक रहेको प्रतिक्रिया दिए । ‘बजेटले सबै वर्ग, जाती क्षेत्र, लिंग समेटेको छ । समग्रमा हेर्दा बजेट प्रशंसायोग्य छ,’ कँडेल भन्छन्, ‘कोभिडको मारमा देश परिरहेको अवस्थामा परिस्थिति अनुरुपको बजेट आउनु सकारात्मक हो । कर्णालीका सवालमा अझै धेरै योजनाहरु समेटिनुपथ्र्यो तर जति समेटिएका छन ती उत्साहप्रद रहेका छन् ।’

उनी संघीय सरकारको बजेट कार्यान्वयनमा तीनै तह जिम्मेवार भइ काम गर्न सकेको खण्डमा कर्णालीको विकास हुने अपेक्षा गर्छन । ‘बजेटमा उल्लेख गरिएका कुरामा सबै तहका जनप्रतिनिधिको ध्यान जान आवश्यक छ । जस्तो उदाहरणका लागि सरुवा रोग अस्पतालका लागि गतवर्ष ८ करोड रुपैंया सामाजिक विकास मन्त्रालयमा आएको थियो, त्यो फ्रिज भएर गयो । मेडिकल कलेजको वोर्ड राखेको एक वर्ष भन्दा बढी भएको छ । कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तहले ध्यान दिएका छैनन् । आवश्यक समन्वय नगर्दा समस्या भएको हो,’ उनी भन्छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बजेट सबैको चित्त बुझाउने खालको आएको बताए । ‘बजेट सबैको चित्त बुझाउने खालको आएको छ । बजेट चुनावमुखी पनि आएको छ,’ उनले भने, ‘बजेट राम्रो ल्याउने तर कार्यान्वयन नहुने समस्या छ । बजेट पूरै कार्यान्वयनमा गएको खण्डमा ठीकै छ ।’

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी भने बजेट वितरणमुखि आएको प्रतिक्रिया दिन्छन् । ‘हाम्रा लागि नयाँ कुरा के आयो र ? बजेट हेर्दा रुप राम्रो छ, सारमा कार्यान्वयन गर्न जटिल छ,’ उनले थपे, ‘बजेटले नागरिकलाई लोभ्याउन सफल भएको छ तर यो बजेटले एकै वर्षमा प्रतिफल दिन मुस्किल छ । ’

लेकबेसी नगरपालिका सुर्खेतका प्रमुख गगनसिंह सुनारले बजेट राम्रो भए पनि राज्यको श्रोतले धान्छ कि धान्दैन भन्ने कुरा प्रमुख भएको बताए । उनले बजेट कोभिड, शिक्षा र स्वास्थ्यमा केन्द्रित भएको आएको बताउँदै त्यो भने राम्रो पक्ष भएको बताए । ‘कर्मचारी, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकहरुलाई थप सुविधा दिने निर्णय भएको छ । यसका अतिरिक्त बजेटमा थप राम्रा कामहरु आएका छन् । समग्रमा हेर्दा यो बजेट सयमा ७५ नम्बर दिन लायक छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर