अर्थमन्त्रीको गृहजिल्लामा यस्तो छ बजेटको प्राथमिकता – Nepal Press

अर्थमन्त्रीको गृहजिल्लामा यस्तो छ बजेटको प्राथमिकता

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृहजिल्ला रुपन्देहीमा यो पटक धेरै नयाँ योजनामा बजेट आएको छैन । तर नियमित रहेका योजनामा आकर्षक रकम विनियोजन भएका छन् ।

अर्थमन्त्रीले रुपन्देहीमा रहेका राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको गौतम बुद्ध विमानस्थल र लुम्बिनी विकास गुरुयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेका छन् ।

गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ५३ करोड, लुम्बिनी क्षेत्रको विकासका लागि १ अर्ब ५० करोेड रकम विनियोजन भएको छ । त्यसैगरी बजेटमा बुटवल भैरहवा मेघा सिटी र सिद्धबाबा सुरुङ मार्गका लागि अवश्यक बजेट व्यवस्थापन भएको छ ।

बजेटमा लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना आगामी २ वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित बजेट बिनियोजन भएको छ ।

अर्थमन्त्रीले यो क्षेत्रका हरेक कार्यक्रममा आउँदा प्राथमिकताका साथ उठाउने लुम्बिनी विकास गुरुयोजनाको क्षेत्रलाई फराकिलो बनाउँदै कपिलवस्तु र नवलपरासीका बुद्धस्थलहरु लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामलाई समेटेर बृहत्तर गुरुयोजना बनाउने विषयलाई बजेटमा समेटेका छन् । यसका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । उनले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिने बताएका छन् ।

यसका साथै केही योजनाहरुमा बजेट थपिएको छ भने चर्चामा रहेका केही योजनालाई बजेट आएको छ ।

भौतिक पूर्वाधार, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायतका क्षेत्रका केही पुराना योजनामा बजेट छुट्याएका छन् भने केही नयाँ योजना थपेका छन् ।

रुपन्देहीको भैरहवामा निर्माणाधीन विमानस्थलको लागि आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ५३ अर्ब विनियोजन गरिएको छ । विमानस्थल निर्माण सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि अर्थमन्त्री पौडेलले बजेट विनियोजन गरेका छन् । निर्माणको काम अन्तिम चरणमा पुगेको विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया शुरु भएको छ ।

कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर आउँदो वर्ष पूरा गरेर काम शुरु गर्ने विषयले पनि बजेटमा महत्व पाएको छ ।

रुपन्देहीसहित लुम्बिनी प्रदेशमा अन्य महत्वपूर्ण आयोजनाहरुलाई अर्थमन्त्रीले विशेष प्राथमिकतामा राखेर बजेट छुट्याएका छन् । सिंचाई र जलविद्युतका लागि महत्वपूर्ण मानिने नौमुरे जलविद्युत आयोजना, तिनाउ नदी नियन्त्रणका लागि पनि बजेट परेको छ ।

बाँकेको सिक्टा सिँचाइका लागि १ अर्ब ५६ करोड बजेट विनियोजन गर्दै २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

पाल्पामा मौसम मापन गर्न राडर स्थापना, प्रदेशमा भूमि बैंक स्थापना गरेर १ वर्षभित्र सञ्चालनमा ल्याउने, अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्ने, पाल्पामा लिफ्ट खानेपानी, लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी, बुटवल–भैरहवालाई मेगा सिटी बनाउने, पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने जस्ता योजना बजेटमा समेटिएका छन् ।

केही समयदेखि चर्चामा रहेर केही महिनाअघि मात्रै शिलान्यास भएको रुपन्देहीको मोतिपूरको औद्योगिक क्षेत्र २ वर्षभित्र पूरा गरिने बजेटमा उल्लेख छ ।
रूपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डीपीआर पूरा गरी निर्माणको काम शुरू गर्ने, रूपन्देहीको बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना बजेटमा छन् ।

केही दिनअघि मात्रै ग्लोबल टेण्डर भएको सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणका लागि बजेटको व्यवस्था गर्ने, सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउने बुटवल–कोहलपुर सडकलाई चार लेनको बनाउनका लागि आवश्यक बजेट विनियोजन भएको छ । यस्तै बजेटले भैरहवामा क्रिकेट मैदान, नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउन बजेट विनियोजन भएको छ ।

बुटवल भैरहवा लुम्बिनीका लागि चल्ने विद्यतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना पनि बजेटमा छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा पूर्वाधार बनाउन पनि बजेट छुट्टिएको छ ।

बुटवल र सैनामैनाको सीमानामा रहेको कर्साघाट कृषि योजनालाई राष्ट्रिय योजनामा समावेश गरी बजेट विनियोजन गरिएको छ भने दक्षिणी सीमानामा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शहरको विकास गर्ने योजना बजेटमा समावेश भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर