इराकसँग ६-२ ले हार्‍यो नेपाल – Nepal Press

इराकसँग ६-२ ले हार्‍यो नेपाल

काठमाडौं । डिफेन्समा निरीह बनेको नेपाल मैत्रीपूर्ण फुटबलमा इराकसँग ६-२ गोलको नतिजामा पराजित भएको छ । विश्वकप तथा एएफसी एसियन कपको तयारी स्वरूप इराकको बसरामा शनिबार भएको खेलमा युवा खेलाडीको बाहुल्यता भएको नेपालले सुरुआतमा लिएको अग्रता जोगाउन सकेन ।

इराकको दोस्रो ठूलो शहर बसरास्थित अल्फाहया रंगशालामा भएको खेलको सातौं मिनेटमा घरेलु टोलीका कप्तान अला अब्दुल जहर खासिनले फ्रि-किकमा नेपाली कप्तान किरण चेम्जोङलाई बिट् गर्दै उत्कृष्ट गोल गरेका थिए ।

त्यसको एक मिनेट नबित्दै अञ्जन विष्टको प्रहारमा हमद इब्राहिम खलाफले गरेको बचाउने असफल प्रयास आत्मघाति गोलमा परिणत भएको थियो । उपहार गोलसँगै बराबरीमा फर्किएको नेपालका लागि डेब्युट्यान्ट मनिष डाँगीले गोल गर्दै अद्भूत अग्रता दिलाएका थिए ।

नेपाली राष्ट्रिय टोलीबाट पहिलो पटक मैदानमा उत्रिएका मनिषले २९औं मिनेटमा काउन्टर अट्याकमा सुन्दर फिनिसिङ गरेका थिए ।

त्यसपछि सम्हालिन नसकेको नेपालले ३९औं मिनेटमा दोस्रो गोल खायो । इराकका लागि मोहमद अब्दुलझाराले गोल गर्दै २-२ को बराबरीमा ल्याएका थिए । त्यसको एक मिनेट नबित्दै नेपालले पुन: गोल खायो । ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई पुन: ३-२ को अग्रता दिलाएका थिए ।

अन्तिम समयमा सम्हालिन नसकेको नेपाली रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको इराकका लागि इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीका लागि ४-२ को अग्रता निश्चित गरे ।

दोस्रो हाफको सुरुआतमा सम्हालिने प्रयास गरेको नेपाल रक्षात्मक देखिएको थियो । यद्यपि, नेपालले थप दुई गोल खायो ।इराकका लागि ६८औं मिनेटमा वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले डिफेन्सिभ इररको फाइदा उठाउँदै इराकको अग्रता ५-२ मा पुर्‍याएका थिए ।

त्यसको ६ मिनेट नबित्तै सज्जाद जसिम इराकका लागि गोल गर्दै ६-२ गोलको जित सुनिश्चित गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *