पूर्वमन्त्री पुनले पत्रकार डाँगीको चरित्रहत्या गरेको प्रेस चौतारीको आरोप, महासंघको भूमिकाप्रति आपत्ति – Nepal Press

पूर्वमन्त्री पुनले पत्रकार डाँगीको चरित्रहत्या गरेको प्रेस चौतारीको आरोप, महासंघको भूमिकाप्रति आपत्ति

काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघ रोल्पा शाखाका संस्थापक सभापति एवं कान्तिपुरका पत्रकार काशिराम डाँगीलाई नामै किटेर पूर्वमन्त्री वर्षमान पुनले सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएको छ । राजनीतिक वक्तव्यबाजी गर्ने पत्रकार महासंघले डाँगीलाई धम्कीपूर्ण भाषामा चरित्रहत्या गर्दा पनि मौन समर्थन गरेको भन्दै चौतारीले महासंघ नेतृत्वको नियतमा प्रश्न उठाएको छ ।

महासंघका कार्यवाहक महासचिव हिरामान लामाले शनिवार विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री तथा माओवादी नेता पुनको व्यवहारप्रति महासंघ मौन बसेकोमा प्रश्न उठाएका छन् । विज्ञप्तिमा भनिएको छ–रोल्पामा अक्सिजन सिलिण्डर बिक्रिबितरण गरेको आरोप लागेका पूर्वमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट नामै किटेर चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा धम्कीपूर्ण आक्रोश व्यक्त गर्नु अत्यन्तै निन्दनीय र खेदजनक कार्य हो ।

रोल्पामा बसेर मोफसलको पत्रकारिताको विकासका लागि अनवरत रुपमा खटिरहेका डाँगीमाथि भएको योजनाबद्ध हर्कत कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर मानसिक दबाब दिँदै व्यक्तिगत चरित्र हत्या गर्ने पूर्वमन्त्री पुनमाथि छानविन गरी कडाभन्दा कडा कारबाही गर्न चौतारीले माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–एक जना श्रमजीवी पत्रकारमाथि सरकारी उच्च ओहोदामा पुगिसकेका व्यक्तिले योजनाबद्ध रुपमा लगाएको गम्भीर आरोपप्रति श्रमजीवी पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ जिम्मेवार बन्नु पर्दैन ? यो राजनीतिक र व्यक्तिगत विषय हो भन्दै उम्किन मिल्छ ? निष्पक्ष, निर्भिक र स्वतन्त्र पत्रकारितामाथि नै आँच पुर्‍याउने गरी लगाइएका लाञ्छना सैह्य हुन सक्दैन ।

चौतारीले पत्रकार डाँगीको चरित्र हत्या गर्ने पक्षमाथि कारबाहीका लागि दवाव सिर्जना गर्न आम सञ्चारकर्मी, नागरिक समाज, बुद्धिजीवी, मानव अधिकारकर्मीलगायत राज्यका सबै तह र तप्काका अधिकारीहरुसँग अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *