थाइल्यान्डका राजाद्वारा महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता प्रदान – Nepal Press

थाइल्यान्डका राजाद्वारा महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता प्रदान

काठमाडौं । थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ । कोरोनाभाइरस महामारीविरुद्ध थाइल्यान्डका राजा महा भजिरालोङ्कर्नले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

थाइ एयर फोर्सको कार्यालयमा आयोजित समारोहमा राजाको तर्फबाट काउन्सिलर चिरायु इस्र्काङ्न ना आयुथायाले नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सामग्री प्रदान गरे ।

थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पीपीई लेग कभर १० हजार जोडी, पीपीई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाल सरकारलाई सहयोगस्वरुप पठाउन थालेका हुन् ।

प्रदान गरिएका ती स्वास्थ्य सामग्री लिएर थाइ एयर फोर्सको बिमान आइतबार काठमाण्डौं आउने तयारीमा छ । नेपाल र थाइल्यान्ड बिमस्टेकका सदस्य मुलुकहरु हुन् ।

थाइ राजपरिवारको स्वास्थ्य सहयोग आइतबार थाइ राजपरिवारकै खर्चमा जहाजमार्फत काठमाडौं आइपुग्ने भिक्षु सुगन्धले बताए । सहयोगका लागि नेपालका राष्ट्रपतिबाट थाइ नरेशलाई सहयोगका लागि पत्राचार गरिएको थियो । उक्त पत्र प्राप्त भएपछि थाइ नरेशले खुशीसाथ नेपाललाई सहयोग गर्नेगरी आदेश दिएको जानकारी भिक्षु सुगन्धले दिए ।

थाइल्याण्डका राजपरिवारको अत्यन्तै निकट मानिने भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आउन थालेको हो । सानुराजाले भने, ‘थाइ राजपरिवारसँग भिक्षु सुगन्धले पहल गरे, यता नेपालमा हामीले समन्वय गर्‍यौं, हाम्रो अनुरोधलाई भिक्षु सुगन्धको पहलमा थाइ राजपरिवारले सहर्ष स्वीकार गरी सहयोग गर्ने भएको हो ।’

भिक्षु सुगन्ध बौद्ध दर्शनमा विश्वविख्यात महामुकुट बौद्ध विश्वविश्वविद्यालय बैङ्कक, थाइल्याण्डका रेक्टरसमेत हुन् । उनले बैंककको कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका तथा विभिन्न अपराधमा संलग्न भई फाँसीका लागि सजाय सुनाइएकालाई पनि बाँचुन्जेल केही गर्नुपर्छ भनेर नयाँ र अनुकरणीय बौद्ध दृष्टिकोणमा बाँच्ने कला अभियान चलाउँदै आएका छन् ।

भिक्षु सुगन्ध महास्थवीर थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा चौथो वरियताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षुसमेत हुन् । थाइल्याण्डमा उनलाई डा. अनिल शाक्यका नामले समेत चिनिन्छ । प्राध्यापक शाक्य थाइ राजकीय विहारबाट बोभर्नका उपप्रमुखसमेत हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर