स्वीट्जरल्याण्डबाट जब ‘नेपाल’ नियास्रिन्छ… – Nepal Press
स्तम्भ : प्रवासी सपना

स्वीट्जरल्याण्डबाट जब ‘नेपाल’ नियास्रिन्छ…

दुई महिनाको नेपाल बसाइपछि उनी जहाजमा उडे, स्वीट्जरल्याण्ड । जानुअघि अपूरा कामबारे सोचे, पुग्न बाँकी ठाउँबारे सोचे, गर्न बाँकी सहयोगबारे सोचे । ‘ अब दसैंमा फर्कछु, अनि थाती रहेका योजना पूरा गर्छु,’ उनले बाचा कसे ।

दुई दशक बित्यो, स्वीट्जरल्याण्डलाई कर्मथलो बनाएको । सेवा सुविधाको हकमा त्यहाँ दुःख निकै कम । जे होस्, अभाव छैन । आफ्नै व्यवसाय छ उनको- पर्यटन व्यवसाय ।

जागिरदार पनि हुन् एअरपोर्टको ।

विवाह स्वीट्जरल्याण्डमै गरे, स्वीस नागरिकसँग । रहरलाग्दो छोरा छन् उनीहरूको । छोरासँग बेलाबेला देशबारे संवाद हुन्छ । ‘बाबाको देश हो नेपाल, तर गरिब छ । मानिसहरू पनि गरिब छन्,’ खै कसरी, बालबालिकामा पनि नेपालबारे यो धारणा बनिसकेछ ।

त्यतिबेला चसक्क दुख्छ उनलाई । गरिबै सही, तर माया त नेपालकै छ । ‘काम स्वीट्जरल्याण्डमा गर्छु । सपना त नेपालकै देख्छु,’ देशप्रेम छचल्किएको उनको आवाज मधुर हुन्छ ।

नेपाल बसाइको यो छोटो अवधिमा जनार्दन गौतमले आफ्ना सुस्केराहरू पोख्ने फुर्सद पाए । खासमा त उनलाई नेपाल छाड्नै मन रहेनछ । ‘जे गर्नु छ त यतै बसेर गरौं भन्ने हुटहुटी नजाग्ने होइन । तर, हिजोको जस्तो हाल हुने त हैन भन्ने त्रासले लपेट्छ,’ जनार्दन आँखीभौं खुम्च्याउँदै भन्छन् ।

‘आफ्नै देशमा गरी खान के को जगजगी ?’ लाग्दो हो जो कोहीलाई । मलाई पनि लाग्यो । स्वदेशको जमिन छाड्दै गर्दा उनलाई पनि नलागेको होइन । तर, विवश भएर पहिलो पटक देश छाड्डाको क्षणले उनलाई तर्साएको रहेछ । ‘मैले यहाँ न भविष्य देखेँ । न जीवन । त्यो डरलाग्दो समयमा विदेश जाने निर्णय गरेँ,’ जनार्दनका आवाज मलिन हुन्छन् ।

०००

सन् १९९० मा उनी काठमाडौं आएका थिए, ओखलढुंगाबाट । पहिलो हात पर्यटन व्यवसायमा पर्‍यो । जागिरेबाट व्यवसायी बने । सुरुवातमा व्यवसाय निकै फापेको थियो ।

उनले १६ जना कर्मचारीलाई रोजगारी दिएका थिए । स्वीस र जर्मन पर्यटकहरूको टुर चलाउँथे । अचानक सब टुट्यो । परिवारको शान्तिमा खलल आयो । व्यवसाय डुब्यो ।

यो हुनुमा एउटै कारण थियो, माओवादी जनयुद्ध । गाउँमा माओवादी र सेना दुवैले बारबार दुःख दिने । ‘घरमा आर्मी आएर बस्ने, माओवादी पनि आएर बस्ने । यसकारण परिवारलाई दुःख भइरह्यो,’ उनी सम्झन्छन् । जनयुद्धको क्रममा भतिज मारिए । उनी माओवादी थिए । जनार्दनका भाइ पनि अहिलेसम्म बेपत्ता छन् ।

भतिज मारिइसकेपछि जनार्दनका परिवारले पहाड छाडे । सर्लाही बसाइँ सरे । बा-आमा पनि सरकारी पक्षबाट निकै पीडित थिए । ‘माओवादीलाई सहयोग गर्ने भनेर झुटो आरोप लगाएर बालाई कुटपिट गरियो । बा त्यही कुटपिटले थलिनुभयो । अहिले त उहाँहरू पनि बितिसक्नुभयो,’ जनार्दन सम्झन्छन् ।

पारिवारिक विग्रह मात्र हैन, द्वन्द्वले उनको आयस्रोत ठप्प पारिदियो । ‘मेरो मुख्य आउने ग्रुप भनेकै जर्मन र स्वीस थिए । मेरो एजेन्टले अब नेपालमा पठाउन सक्दैनौं । तिमीहरूको देश सुरक्षित छैन, के गर्ने आफ्नो विचार गर भनेर चिठी लेखे । त्यसपछि म ठूलो चिन्तामा परेँ,’ जनार्दन सुनाउँछन् ।

व्यवसाय ठप्प भयो । उनलाई ऋणले थिच्यो । साथमा रु २० लाख थियो । त्यो पनि सकिएर ऋणमै विलीन भयो । पहाडबाट बेच्ने कुरा पनि केही थिएन । ‘भएको जग्गा अड्डामा डिपोजिट थियो । दाइ, भाउजू, बा लाई पकडेकोको बेलामा घरको लालपूर्जा राखेर छोडाएका थियौ,’ उनी सुनाउँछन् ।

जनार्दनले आफूसँग भएको गाडी बेचे । एकै समयमा सबै दशा चलिरहेका थिए । अब के गर्ने ? उनले सोचे । त्यतिबेला भर्खरै इ–मेल सुरु भएको थियो । व्यवसायबाट नजिकिएका स्वीस साथीसँग आफ्ना समस्याबारे बताए । साथीले भने, ‘स्वीटज्ल्याण्ड आऊ ।’

जनार्दनले ठप्प भएको कम्पनी कसैको जिम्मामा छाडिदिए । अनि सबै प्रक्रिया पूरा गरेर सन् २००२ मा उनी स्वीटज्ल्याण्ड उडे । उड्दै गर्दा जनार्दनले सोचेका थिए, ‘म जाँदै छु । तर सधैंको लागि हैन । एकदम स्थिति साम्य हुन्छ, अनि नेपालमै आएर हाम्रो भविष्य खोज्नेछु ।’

गएलगत्तै उनले इलेक्ट्रिक कम्पनीमा काम गरे । गएको महिनामै मासिक तलब ५ लाख थियो । त्यही वर्ष विवाह गरे । त्यहाँको भाषा सिके, व्यवहार सिके । सन् २००५ मा उनको छोरा जन्मियो ।
५ वर्षपछि नेपाल फर्कने सोच थियो उनीहरूको । दुई दशक बित्यो । सदाका लागि फर्कन सकेका छैनन् ।

किन सकिएन त ?

‘सहज छैन छाडेर हिँड्न । सबै मुहान बन्द गर्नुपर्छ । हरेक कुराको वीमा हुन्छ । छोराको स्कुल छ । श्रीमती र मेरो जागिर छ । सामाजिक सुरक्षाका सबै पाटा बन्द गर्नुपर्छ । त्यहाबाट मुभ भएर यहाँ आउँदा नयाँ सुरुवात गर्नुपर्छ । यति गरेर त आइयो, फेरि यहाँको अवस्था सुध्रिएन भने,’ उनी विस्वस्थ छैनन् ।

०००

उता हुँदा सुरुवाती वर्ष संघर्षमै बिते । विस्तारै सफलता हासिल गर्दै गएपछि जनार्दनलाई लाग्यो– यतैबाट पनि दाजुभाइहरूलाई सहयोग त गर्न सक्छु !

०७२ सालमा ठूलो भूकम्प गयो नेपालमा । त्यतिबेला उनी नेपाल आएर राहतका काममा सक्रिय भए । जेजे फाउण्डेशन दर्ता गरे । स्विटजरल्याण्डमा भएको हेल्प नेपाल डट सिएच सँग सहकार्य गरे । अनि भूकम्प प्रभावित जिल्लाहरूमा लत्ताकपडा, खाद्यन्न वितरण गरे ।

हुन त नेपालमा हुँदा पनि उनले नगरेका होइनन् सामाजिक काम । गोेकर्णस्थित बालुवा भन्ने ठाउँमा गरिब बस्तीका बच्चाहरूलाई सुविधायुक्त स्कुल बनाएका थिए ।

ओखलढुंगामा पनि बनाएका थिए स्कुल भवन । भूकम्पकमा त्यो भत्कियो । फेरि नयाँ भवनका लागि सहयोग गरे ।

उनको गाउँमा स्वास्थ्य सेवाको ठूलो समस्या । त्यहाँ न डाक्टर थिए न अस्पताल । एकदिन उनले त्यहाँ हेल्थ क्याम्प लगे । टिचिङ अस्पतालको डाक्टरहरूसँग समन्वय गरेर । ‘२ हजार मान्छेले सेवा लिए । त्यसले ठूलो राहत भयो । पछि गम्भीर बिरामीलाई टिचिङ अस्पतालमा निःशुल्क उपचार समेत गरायौं,’ उनी सुनाउँछन् ।

टिचिङ अस्पतालमा पनि उनले १५ जटा ह्विल चियर सहयोग गरे । एक पटक आफ्नो आमालाई उपचार गर्दा ह्विल चियर पाएनन् । त्यतिबेलै उनले एउटा निर्णय गरे– ह्विलचियर दिने । निर्णय गरे ।

सर्लाहीमा वर्षेनि सर्पले टोकेर मान्छेले ज्यान गुमाउँछन् । त्यसको उपचारको लागि पैसा हुन्न । उनले वर्षेनि धेर/थोर रकम सहयोग गर्छन् । त्यसैगरी, अनाथ बालबालिका, वृद्धाश्रमलाई पनि उनउले सक्दो लसहयोग गरेका छन् ।

उनले बेवारिसे पशुहरूको व्यवस्थापनका लागि समेत काम गर्न खोजेका छन् । ‘म भेजिटेरियन पनि हुँ । मलाई पशुहरूप्रति एकदमै सहानुभूति छ । त्यसैले पशु व्यवस्थापनका लागि पनि काम गर्ने सोचिरहेको छु,’ उनी भन्छन् ।

०००

यसपालिको नेपाल बसाइ रोमाञ्चक रह्यो जनार्दनको । उनले बाँझो र भिरालो जमिनमा कफी खेतीको योजनामा काम गरेका छन् ।

उनलाई स्वीसहरूले नै झकझकाएका थिए, ‘तिमी नेपाली हौ । तिम्रो देशको कफीको भ्यालु एकदम राम्रो छ । मान्छेहरू गाउँ/पहाडमा बेरोजगार छन् । जमिन बाँझो छ । तिमीले त्यहाँका समुदायलाई प्रोत्साहन गरेर कफीको प्रोडक्सन सुरु गर । यहाँबाट हामी बेचिदिऊँला ।’

त्यसो गर्दा किसानले रोजगार पाउने भए र श्रमको उपयुक्त मूल्य ।

उनीहरूले भनेजस्तै नेपालमा बाँझो जमिन धेरै छन् । जुन उपयोगमा आएका छैनन् । युरोप कफीको ठूलो बजार पनि हो । उनी नेपालमा कफी खतीको योजना लिएर आए ।

काभ्रेका राजकुमार बञ्जराले कफीमै पिएचडी गरेका रहेछन् । उनले कफीबारे तालिम दिने रहेछन् । अहिले जनार्दनले उनैसँग सहकार्य गरेका छन् ।

‘काभ्रेको च्याम्राङबेसी राजकुमार जी आफैं जग्गा किनेर कफी खेती गरिरहनुभएको रहेछ । किसानहरूका एकीकृत गर्नुभएको रहेछ । अहिले उहाँसँग सहकार्य गरेर यो अभियान मजबुत बनाउन लागेको छु,’ उनी सुनाउँछन् ।

जनार्दन आफैं पनि कफी खेतीबारे सिकाइ प्रक्रियामा छन् । ‘१६ सय मिटर भन्दा माथि उत्पादन भएको कफीको स्वाद फरक हुन्छ । कफीलाई बाँदरले पनि असर नगर्ने रहेछ । बाँदर लाग्ने ठाउँमा प्रयोगमा नआएको जमिनमा पनि लगाउन सकिने रहेछ,’ उनी भन्छन्, ‘ कफीको उत्पादन हुन ४ वर्षचाहिँ पर्खनुपर्छ । युरोपमा लगेर बेच्न सके नेपालीको आर्थिक स्तर समृद्ध हुन्छ ।’

०००

सामाजिक काम सँगसँगै व्यावसायिक रुपमा पनि नेपालीलाई समुन्नत बनाउन चाहन्छन् जनार्दन । त्यसैका लागि पटक-पटक नेपाल धाउँछन् । कतिलाई व्यावसायिक रुपमा निर्भर बनाइछाडेका उदाहरण पनि उनीसँग छन् ।

तर, नेपाल आउँदा एउटै गुनासो छ- अनागरिक । ‘राज्यले अनागरिकको व्यवहार गर्छ । आफ्नै देश आउँदा बिरानो बनाउँछ हामीलाई,’ उनी भन्छन् ।

हरेक पल्ट आउँदा उही दुःखेसो पोख्नुपर्ने बाध्यता छ उनको । ‘प्रवासी हुँदा यता न उताको हुने, कस्तो दुर्भाग्य है,’ उनले सुस्केरा काढे ।

०००

प्रतिक्रिया

2 thoughts on “स्वीट्जरल्याण्डबाट जब ‘नेपाल’ नियास्रिन्छ…

  1. दाइको सङ्घर्षपूर्ण जीवन प्रेरणादायी छ।समाजसेवाको महान् अभियान सफल बनोस्। नेपाल आमाको कर्मठ छोरालाई हाम्रो लाखौंलाख शुभकामना छ।🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *