अक्सिजन प्लान्टको नाममा चलखेल, १२ लाखको जेनेरेटरलाई झण्डै ४० लाख ! – Nepal Press
कर्णाली प्रदेश

अक्सिजन प्लान्टको नाममा चलखेल, १२ लाखको जेनेरेटरलाई झण्डै ४० लाख !

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका आठ जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि पठाएको ४० लाख दरको रकममा आर्थिक चलखेल भएको पाइएको छ ।

मुगु र कालीकोट जिल्ला अस्पतालले सप्लायर्स विभूति मेडिटेक इन्टरनेश्नललाई अक्सिजन जेनेरेटरवापतको ३८ लाख ८० हजार रूपैंया भुक्तानी गरिसकेको छ ।

‘हामीले अक्सिजन प्लान्ट भनेर विभिन्न स्पेशिफिकेसनका साथमा विज्ञापन गरेको जानकारी पाएका थियौं । कसरी, कुन आधारमा यो मेसिन यहाँ ल्याइको हो थाहा भएन ’, कार्यालयका एक कर्मचारी भन्छन्, ‘यो मेसिन यहाँ ल्याएको केही दिनमै कार्यालय प्रमुख डा. भीष्म पोखरेल हुनुहुन्थ्यो उहाँले नै भुक्तानी दिएर जानु भएको हो । अहिले उहाँ काठमाडौंमा हुनुहुन्छ ।’

कालिकोटका स्वास्थ्य प्रमुख कटकबहादुर महतले वायो इन्जिनियरले ओके भनेका आधारमा भुक्तानी दिइएको हुनसक्ने बताए । ‘म अहिले मात्रै कार्यालय प्रमुखको रूपमा आएको छु । यसअघि डा. भीष्म जी हुनुहुन्थ्यो ’, उनले नेपाल प्रेससँग भने, ‘सबै कुरा सही भएका कारण हामीले भुक्तानी दिएका हौं ।’

आफू कार्यालयमा पछि आएको भन्दै उनले खरिद प्रक्रिया नियमित र कानून अनुसार नै भएको जिकिर गरे । महतले भने, ‘यसमा केही कमजोरी भएको छैन । प्रदेशका वायो मेडिकल इन्जिनियर सौरभ सिजापतिकै रोहवरमा हामीले यो मेसिन खोलेका हौं । उहाँले ठीक छ भनेपछि भुक्तानी दिएका हौं । यसमा हाम्रो गल्ती नै छैन ।’

मुगु जिल्ला स्वास्थ्य कार्यालयका पूर्व निमित्त प्रमुख ज्ञानसिंह बुढाले आफूहरूसँग प्राविधिक ज्ञान नभएका कारण वायो मेडिकल इन्जिनियर सौरभ सिजापतिको भर परेर उनकै पत्रको आधारमा आफूले भुक्तानी दिएको बताए ।

रुकुमपश्चिममा पनि खरिद गरेर ल्याएको अक्सिजन जेनेरेटर भने खोलिएको छैन । विभूति मेडिटेक इन्टरनेश्नलले नै स्वास्थ्य कार्यालयमा ३९ लाख २२ हजारको बील पेस गरेको छ । जाजरकोटमा पनि मेसिन पठाइए पनि भुक्तानी दिइएको छैन ।

उता दैलेख स्वास्थ्य कार्यालयले गरेको टेण्डरमा विभूति र ड्रायगन सप्लायर्सले आवेदन गरेपनि ड्रायगन सप्लायर्ससँग आर्थिक प्रस्ताव नै मागिएको थिएन । ‘सौरभ सिजापतिले नै सिफारिस गर्नुभएको हो । उहाँले नै विभूति भनेर छानेपछि हामीले त्यसलाई स्वीकार गरेका थियौं तर अहिले हामीलाई ठूलो अक्सिजन प्लान्ट नै आवश्यक पर्ने भएका कारण हामीले उक्त ठेक्कालाई तोडेका छौं ।’ कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले भने । सम्झौता अनुसार विभूतिले भने सामान ल्याइसकेको छ ।

‘ती सबै मेसिनहरू बढीमा १२ लाख मुल्य पर्ने गरेका छन् । यी मेसिनले अक्सिजन कन्सन्ट्रेटरकै काम गर्ने गरेका छन् । यी सबैको मूल्य त्यति नहुनुपर्ने हो ’, एक सप्लायर्स भन्छन्, ‘सेटिङ्ग गरिएका कारण यति महँगो मूल्यमा खरिद भई रकम भुक्तानी भएको हुनसक्छ । थ्री फेज लाईन भएको स्थानमा पनि सिंगल फेजको मेसिन जडान गर्नुको कारण नै त्यही हो ।’

यता, स्वास्थ्य सेवा महाशाखाका एक कर्मचारी यो चलखेलमा उच्च राजनीतिक नेतृत्वदेखि जिल्लाका कर्मचारीसम्मको मिलेमतो भएको दावी गर्छन् । उनका अनुसार महाशाखामा कुनै छलफल नै नगरेर जिल्लाहरूले प्लान्टका नाउँमा यी सामान खरिद गरेका हुन् ।

‘महाशाखाका कर्मचारी, निर्देशनालयका केही कर्मचारी, जिल्ला कार्यालयका केही कर्मचारी र सप्लायर्सबीचको केही सहमतिका आधारमा नै यो काम भएको हो । नभए यति ठूलो अनियमितताको गन्ध आउने थिएन ’, ती कर्मचारीले भने ।

यता, स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले गल्ती जसको छ उसैलाई कारवाही हुनुपर्ने बताए । त्यसका लागि आफू तयार रहेको भन्दै उनले आवश्यक छानविन प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

One thought on “अक्सिजन प्लान्टको नाममा चलखेल, १२ लाखको जेनेरेटरलाई झण्डै ४० लाख !

  1. यसता भर्टहरुलाई कडा भन्दा कडा कार्बाहि गरिनु पर्छ ।

Leave a Reply to KB Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर