चितवनमा कोरोना संक्रमित घट्दो क्रममा – Nepal Press

चितवनमा कोरोना संक्रमित घट्दो क्रममा

चितवन । कोरोना भाइरसको संक्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको संक्रमण विस्तारै घट्दै गएको हो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना संक्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो संख्यामा संक्रमण पुष्टि भएको थियो ।

यो संख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । उनका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो ।

कार्यालयको तथ्यांकअनुसार वैशाख २४ गते ४ सय ६ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख ३० गते ७ सय ७३ को परीक्षण गर्दा ३ सय ५१ जनामा संक्रमण देखियो । अहिले यो घट्दै आएको उनले बताए ।

वैशाख ३१ गते देखि विस्तारै संक्रमित घट्दै गएका छन् । वैशाख ३१ गते २ सय ३० मा रहेको सङ्ख्या विस्तारै घट्दै जेठ ६ सम्म आइपुग्दा दैनिक १ सय ५० हाराहारीमा पुग्यो । उनले भने, ‘अहिले संक्रमित सयदेखि डेढसय हाराहारी छ ।’

वैशाख २८ देखि जिल्लामा एण्टीजेनको प्रयोगमार्फत् कोरोना संक्रमित छुट्याउन थालिएको छ । सोमार्फत् जिल्लामा हालसम्म एक हजार ४७ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । दोस्रो चरणको संक्रमणका कारण वैशाख १८ देखि यता ५ हजार ३ सय ८१ जना संक्रमित भइसकेका छन् ।

जिल्लामा हाल सम्म १३ हजार ३ सय ६३ जना सङ्क्रमित भइसकेका छन् जसमध्ये ४ हजार ८ सय ८५ जना सक्रिय सङ्क्रमित छन् ।

सक्रियमध्ये १ सय ५८ अस्पतालको आइसोलेसनमा छन् भने ४ हजार ६ सय ८५ जना होम आइसोलेसनमा र १५ जना सार्वजनिक आइसोलेसनमा छन् । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २ सय १४ जनाको मृत्यु भएको छ ।

कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार शुरुआती समयमा परिक्षण गरिएका मध्ये ५० प्रतिशत संक्रमित आउने गरेकोमा अहिले एक साता देखि २० देखि २५ प्रतिशतमा घटेको छ । नयाँ आउने घटेको भएपनि जिल्लामा सक्रिय संक्रमितको संख्या बढी भएकाले अझै जोखिम कम नभएको उनले बताए ।

सक्रिय संक्रमित १ हजार भन्दा कम नभएसम्म जिल्लामा जोखिम कम नहुने उहाँले जानकारी दिए । निको भएर घर फर्कन दैनिक ५० हाराहारी छन् । उनले भने, संक्रमित घर फर्कन थालेसँगै अस्पतालहरूमा बिरामीको चाप पनि कम हुँदै गएको छ ।’

निषेधाज्ञाको सकारात्मक प्रभाव देखिएको उनले बताए । जनताले स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना कहर जित्न सकिने उनको बुझाइ छ । कोरोना कहरका कारण जिल्लामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *