पहुँचको आधारमा वितरण गरिएका भैंसी दुई वर्ष नपुग्दै गायब – Nepal Press

पहुँचको आधारमा वितरण गरिएका भैंसी दुई वर्ष नपुग्दै गायब

५० मध्ये १६ वटा मात्रै बाँकी

सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपालन क्षेत्रमा कर्णालीलाई आत्मनिर्भर बनाउने भन्दै भैंसी वितरण गरेको थियो । तर वितरण गरेको दुई वर्ष नपुग्दै अधिकांश गोठ रित्तिएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा वीरेन्द्रनगर-१ मा एक लाख ६ हजारको दरमा ५० वटा भैंसी वितरण गरिएको थियो । भैंसी रित्तिएसँगै सामूहिक पालन गर्ने भन्दै निर्माण गरेका आधुनिक गोठहरूमा अहिले स्थानीयले बाख्रा राख्ने गरेका छन् ।

सिर्जनशील कृषक समूह गठन गरेर पहुँचका आधारमा वितरण गरिएको भैंसी काटेर खाएको स्थानीय अमर शाहीले बताए ।

‘काम गर्ने, भैंसी पाल्ने कृषकलाई दिइनुपर्थ्यो । त्यसरी दिनुहोस् भन्दा वितरणकर्ताले मानेनन्,’ शाहीले गुनासो गरे, ‘उतिबेला ब्याएका भैंसीका पाडाहरू पनि अहिले खोज्दा भेटिँदैनन् । भैंसी नकाटनुहोस, पाल्नुहोस् भन्दा उनीहरू हामीमाथि नै जाइलाग्ने भएकाले हेरेको हेर्‍यै भएका छौं ।’

सिर्जनशील समूहका सचिव नरजित नेपालीले दुई भैंसी लिएका थिए । उनका घरमा पनि अहिले भैंसी छैनन् । उनले ती भैंसी थारो रहेको बहाना गर्दै कटाइसकेका छन् ।

‘भैंसी पालन गरेरसमूहका नागरिकको जीवनस्तर उकास्न भनेर मेरै जोडबलमा ५० भैंसी बाँडिएको हो,’ वडा नं एक का अध्यक्ष गंगाराम सुनार भन्छन् । ‘दिनहुँ भैंसी काटेर खान थालेपछि त्यो समूहबाट खोसेर ११ भैंसी पाल्न अन्य व्यक्तिलाई दिएको छु । अहिले गोठहरू रित्तै छन् ।’

समूहकी अध्यक्ष रामकला कार्कीका श्रीमान् किशोर गैह्रे पनि गोठमा भैंसीहरू नरहेको स्विकार्छन् । ‘भैंसी थारो भयो भन्दै काटे तर कम्तिमा खरिद गर्नुहोस् भनेर भन्दा कसैले सुनेका छैनन्,’ उनले भने । समितिका सचिवले नै दुई भैंसी उतिबेला लिए पनि हाल एक भैंसी पनि नरहेको बताए ।

अहिले टोलमा १६ भैंसी मात्रै बाँकी छन् । एउटा भैंसी भने वितरणताका नै मरेको थियो । मुस्किलले ७० हजार पर्ने भैंसीलाई एक लाख ६ हजारको दरमा कर्मचारीको आदेशमा समूहले खरिद गरेको थियो ।

पशुपक्षी निर्देशनालय निर्देशनालयबाट ६ किलोमिटर टाढा रहेको उक्त टोलमा भएको वेथितिबारे पशु सेवा कार्यालय भने बेखबर छ । कार्यालयका प्रमुखसहित कर्मचारीको मिलेमतोमा उक्त कार्यक्रम त्यहाँ पारिएको र भैंसी खरिदमा पनि अनियमितता भएको स्थानीयको गुनासो छ । ‘भैंसी पाल्नेहरूलाई दिइएन । नपाल्नेलाई दिइयो । समूहलाई पनि कार्यालयले भनेको स्थानबाट भैंसी खरिद गर्न दबाब दिइयो । ती भैंसी मुस्किलले ७० हजार पर्ने भए पनि हामीले एक लखा ६ हजार तिरेका थियौं,’ उनले भने ।

भैंसी लिएका एक कृषकले भने, ‘मैले लिएको भैंसी अहिले राम्रो भएको छ । साना, दुब्ला भैंसी ल्याइएको थियो । यति महंगो किन भनेर सोध्दा उनीहरूले चुप लाग्न निर्देशन दिएका थिए । यसमा कार्यालयका कर्मचारीको मिलमतो भएको कुरा उहिल्यै हामीले भनेका थियौं ।’


प्रतिक्रिया

One thought on “पहुँचको आधारमा वितरण गरिएका भैंसी दुई वर्ष नपुग्दै गायब

  1. गरि खानेलाई भन्दा चोरी खानेलाई दिय भ्रष्टाचारिहरुले

Leave a Reply to pushpa oli Cancel reply

Your email address will not be published. Required fields are marked *