उपराष्ट्रपतिले भने- आगामी दिन राजनीतिक रूपमा केही जटिल, जनतामा निराशा बढ्न थाल्यो – Nepal Press

उपराष्ट्रपतिले भने- आगामी दिन राजनीतिक रूपमा केही जटिल, जनतामा निराशा बढ्न थाल्यो

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रतिनिधिसभा विघटनप्रति इंगित गर्दै आगामी दिन राजनीतिक रूपमा केही जटिल बन्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उपराष्ट्रपति पुनले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रभाव नपारेसम्म राजनीतिक परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने दावी गरेका छन् ।

‘गणतन्त्रलाई परष्कृत गर्न संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य छ । नयाँ संविधान बमोजिम २०७४ को निर्वाचनमा राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि जनमत अभिव्यक्त भएको थियो’, उपराष्ट्रपतिले भनेका छन्, ‘तर पछिल्ला ६ महिनाको बीचमा प्रतिनिधिसभा दुईपटक विघटन भएको छ । सम्मानित सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) ले मुलुक आक्रान्त भइरहेको दुःखद्‌ अवस्थामा फेरि विघटन भएको छ । यसमा राजनीतिक दलहरूमा मतएकता नहुँदा आगामी दिन राजनीतिक रूपमा केही जटिल बन्ने देखिन्छ ।’

एकात्मक, सामन्तवादी, पुराना सोंच, शैलीहरू विद्यमान रहेको भन्दै उपराष्ट्रपति पुनले यसले जनतामा निराशा बढ्न थालेको बताएका छन् ।

‘पछिल्लोपटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा म आशावादी छु । सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्याहरू छिट्टै समाधान हुने नै छन् । राजनीतिक समस्याका बीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहरलाई नियन्त्रण गर्न, गम्भीर संक्रमितहरूको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न अपील गर्दछु’, उपराष्ट्रपतिले आफ्नो सन्देशमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर