बेनीमा जटिल समस्या भएका कोरोना संक्रमित निको हुँदै – Nepal Press

बेनीमा जटिल समस्या भएका कोरोना संक्रमित निको हुँदै

गलेश्नवर । बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना संक्रमितमितहरू निको हुने क्रम बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप घट्दै गएको छ । एकसाता अघिसम्म संक्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको संख्या विस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ ।

चारदिन अघि १७ जना संक्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार पाँच जना डिस्चार्ज भएको स्वास्थ्यकर्मी दीपा खड्काले जानकारी दिइन् । ‘हाइफ्लो दिइरहेको एक जनाको अवस्था अलि गम्भीर छ, बाँकीको अवस्था सामान्य छ,’ खड्काले भने ।

अस्पतालमा केहीदिन अघिसम्म हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढेका थिए । आइसोलेशन कक्षमा उपचाररत सबै संक्रमितमा श्वासप्रश्वासको समस्या थियो ।

होम आइसोलेसनमा बसेकामा शरीरमा अक्सिजन मात्रा कम भएपछि अस्पताल आएका बिरामीमध्ये जटिललाई मात्रै पोखरा रिफर गरिएको र धेरै बिरामी बेनी अस्पतालबाट नै उपचारपछि घर फर्र्किएका अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।  जिल्लामा दैनिक सयको हाराहारीमा सङ्क्रमित थपिँदा बेनी अस्पतालमा पनि उपचारका लागि आउनेको चाप बढेको थियो ।

होम आइसोलेसनमै परामर्श सेवा
म्याग्दीमा कोरोना संक्रमितलाई होम आइसोलेसनमै परामर्श सेवा दिन थालिएको छ । स्थानीय तहले सङ्क्रमितको मनोवल बढाउन नियमित भेट, परामर्श र औषधि वितरण गर्न थालेका हुन् ।

स्वास्थ्यकर्मीले नियमित रुपमा स्वास्थ्य सम्बन्धी परामर्श दिन थालेपछि संक्रमण जित्न सहज भएको संक्रमितहरूले बताएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा कोरोना संक्रमितकै घरदैलोमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्ने र परामर्श तथा औषधि वितरण गर्ने काम सुरु गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाका अनुसार सङ्क्रमितलाई घरदैलोमा पुगेर औषधि वितरण गर्ने, पल्स अक्सिमिटरबाट अक्सिजन नाप्न लगाउने, मनोवल उच्च राख्न परामर्श दिने लगायतका सेवा सञ्चालन गरिएको छ । गाउँपालिकाले अक्सिजनको लेबल कम भएकालाई कोभिड अस्पतालमा भर्ना गर्ने गरेको छ ।

घरदैलोमा पुगेर परामर्श, सल्लाह र औषधि वितरण गर्दा उनीहरूमा हौसला बढेको बेनी नगरपालिका १ का वडाअध्यक्ष टेकबहादुर रावलले बताए । ‘संक्रमण पुष्टि भएपछि मानिसहरू धेरै आत्तिँदा रहेछन्, यस्तो बेलामा मनोसामाजिक परामर्शले संक्रमितलाई हौसला प्रदान गर्दो रहेछ’, अध्यक्ष रावलले भने, ‘हामी नियमित सल्लाह र परामर्श प्रदान गर्ने कार्यमा लागेका छौं ।’

संक्रमितको घरमा अरु सदस्यलाई रोग नफैलियोस् भनेर मास्क, सेनिटाइजरसँगै अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर र ज्वरो नाप्न थर्मलगन लगायत स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको बेनी नगरपालिका-३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए ।

मंगला गाउँपालिकाले सबै जनप्रतिनिधिहरूलाई क्षेत्र छुट्याएर संक्रमितहरूको घरदैलोमा खटाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘कसैलाई अस्पताल लैजानुपर्ने भएमा डाक्टरसँग परामर्श गर्छौं,’ भुसालले भने, ‘दिनरात नभनी हामी घरदैलोमा छौँ ।’

उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि संक्रमितको अवस्था बुझ्दै आएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताए । उनले सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउँदै वडामार्फत् संक्रमितको घरसम्म स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको जानकारी दिए । ‘संक्रमितको घरमा हामी पुगेर टाढैबाट भेट्छौं,’ भण्डारीले भने, ‘औषधि र स्वास्थ्य सामग्री पनि दिन्छौँ ।’

भेटघाटले संक्रमितलाई केही भए सरकार छ भन्ने हौसला हुने गरेको भण्डारीले बताए । कोरोना संक्रमण जित्न मनोवल घटाउन नहुने, नियमित परामर्श लिनुपर्ने, व्यायाम र सन्तुलित भोजन गर्नुपर्ने स्वाथ्यकर्मीहरूले बताउने गरेका छन् ।

बुधवार पछिल्लो २४ घण्टामा म्याग्दीमा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै म्याग्दीमा कोरोना सङ्क्रमितको संख्या एक हजार ७ सय ७२ जना पुगेको छ । जिल्लामा ५ सय ५० सक्रिय संक्रमित पुगेका छन् भने १ सय ६४ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *