तेन्जिङले नै हिलारी सगरमाथा चुचुरोमा पहिले पुगेको स्वीकार गरेका थिए (दस्तावेजसहित) – Nepal Press
सगरमाथा आरोहण दिवश

तेन्जिङले नै हिलारी सगरमाथा चुचुरोमा पहिले पुगेको स्वीकार गरेका थिए (दस्तावेजसहित)

यो वर्ष (सन् २०२१) सगरमाथा आरोहण प्रयास गरेको ठीक एक सय वर्ष पुग्छ । र, आज (मे २९) सगरमाथाको सफल आरोहण भएको ठीक ६८ वर्ष पुग्छ ।

नेपालमा जन्मिएका तेन्जिङ नोर्गो शेर्पा र न्यूजिल्यान्डका एडमन्ड हिलारीले बेलायती आरोहण दलको तर्फबाट सन् १९५३को मे २९ मा सगरमाथा चुचुरोमा प्रथम मानव पाइला राखेका थिए ।

चुचुरोमा दुई आरोही बिहान साढे एघार बजे पुगेका थिए भने त्यहाँ १५ मिनेट समय बिताएको हिलारीले आत्मकथा ‘भ्यू फ्रम दि समिट’मा लेखेका छन् ।

हाजिरी जवाफमा आउने ‘सगरमाथाका प्रथम आरोही को कुन?’ भन्ने प्रश्नका सदाबहार शाश्वत उत्तर हो– तेन्जिङ नोर्गो शेर्पा र एडमन्ड हिलारी । तर, यत्ति कुरामा मात्रै मान्छेले चित्त बुझाएनन् ।

फेरि सोधे- तेन्जिङ र हिलारीमाचाहिँ कसको पाइला पहिलो भएको थियो ?

यो प्रश्नले सबैभन्दा धेरै सताएको स्वंय तेन्जिङलाइ पनि थियो । तेन्जिङले सन् १९५५ मा अमेरिकाबाट प्रकाशित आत्मकथा ‘टाइगर अफ दि स्नोज’मा पहिलोमा पनि पहिलो को भएको भन्नेबारे लेखेका छन् । कतिसम्म भने नेपाल र भारतमा आफू पहिले पुगेको भन्न धेरैले दबाब दिएको समेत तेन्जिङले उल्लेख गरेका छन् ।

आत्मकथाको १८औं अध्याय ‘दि ड्रिम कम्स ट्रु’ मा उनी लेख्छन्, ‘दुःखका साथ भन्नुपर्छ नेपाल र भारतमा मलाई हिलारी भन्दा पहिले सगरमाथा पुगेको भन्न धेरै दबाब दिइयो । दुनियाँभरि मलाई सोधियो– को पहिले पुग्यो ? को पहिले पुग्यो ?’

को पहिले पुग्यो भन्नेमा कुनै प्रश्न नहोस् भने हिलारी र आफूले एक सम्झौता गरेको तेन्जिङले लेखेका छन् । उनी भन्छन्, ‘हाम्रो सम्झौतामा हामी लगभगसँगै चुचुरोमा पुग्यौैं भनेर भन्ने थियो ।’

सम्झौता अनुसार नै काठमाडौंमा पुगेर आफूले त्यही भन्दा पनि सोध्नेहरूले ‘लगभगसँगै’ माथि प्रश्न राख्दै को पहिला पुगेको भनेर सोध्न नछोडेको तेन्जिङले लेखेका छन् ।

सम्झौता गर्नुको रोचक कारण तेन्जिङले खुलाएका छन् । उनी लेख्छन, ‘हामी शिखर आरोहण सकेर फर्किएपछि को पहिले पुगेको कुरामा मुर्ख गफ भएको थियो । कसैले म पहिले पुगेको भने । कसैले हिलारी । कसैले हामीमा एक मात्रै शिखर पुगेको भने । कसैले दुवै नपुगेको भने । कसै–कसैले त हामीमा एकले अर्कोलाई घिसारेर लगेको सम्म भने । यो सबै बेतुक थियो । र यस्तै कुराको काठमाडौंमा अन्त्य गर्नलाइ हिलारी र मैले सम्झौता गर्यौं ।’

सुरुमा को पहिला पुग्यो भन्ने विषयमा मौन भएका तेन्जिङ र हिलारीमा सबैभन्दा पहिले को पुगेको भन्ने प्रश्नको उत्तर भने तेन्जिङ आफैंले दिएका छन् । उनको सगरमाथा आरोहणको दुई वर्षपछि अमेरिकाको ‘जिपी पुत्नाम्स सन्स’ नामक प्रकाशन गृह (जुन अहिले पेन्गुइन गु्रप अन्तरर्गत छ) बाट प्रकाशित आत्मकथामा पहिलो विस्तृत जानकारी दिएका छन् । आफूले को पहिलो र को दोश्रो नसोचेको बताउँदै तेन्जिङले चुचुरामा प्रथम पाइला भने हिलारीकै परेको लेखेका छन् ।

उनी लेख्छन, ‘चुचुरो भन्दा केही मुनि हिलारी र म रोकियौँ । हामीले माथि हेर्यौ । त्यसपछि हिड्यौँ । हामी दुइलाई जोड्ने डोरी जम्मा तीस फिट लामो थियो र धेरैजसो डोरीको भाग मेरो हातमा भएकोले हामी दुई बीचको दुरि ६ फिटको थियो । मैले ‘पहिलो र ‘दोश्रो’को बारेमा सोचिनँ । मैले आफैंलाई माथी सुनको स्याउ छ म हिलारीलाइ पर ठेलेर कुद्न भनिनँ । हामी विस्तारै र स्थिर रुपमा हिँड्यौं । त्यसपछि त्यहाँ पुग्यौँ । हिलारी पहिले चुचुरोमा उक्लिए । र, उनीपछि म उक्लिएँ ।’

हिलारीको आत्मकथा आएको ४४ वर्षपछि मात्रै सन् १९९९ मा ‘भ्यू फ्रम दि समिट’ नामक आत्मकथा लेखेका हिलारीले कसको पाइला प्रथम भन्ने सवालमा तेन्जिङकै जस्तो कुरा गरेका छन् । तर, तेन्जिङले जस्तो लामो व्याख्या भने गरेका छैनन् । आत्मकथाको प्रथम अध्याय ‘रोअर अफ अ थाउजेन्ड टाइगर्स’मा हिलारीले आफू पहिले चुचुरोमा पुगेको र लगत्तै तेन्जिङ पनि पुगेको लेखेका छन् ।

‘तेन्जिङ’ नामबाट पहिलो अध्याय सुरु गरेका हिलारीले २० पेज लामो अध्यायको १५ नम्बर पेजमा यसबारे खुलाएका छन् । उनी लेख्छन, ‘म क्रमशः उभोंतिर खुट्किला पार गर्दै गएँ । अर्को क्षण म चारै दिशामा खुला भएको हिँउको सम्म भागमा पुगेँ । लगत्तै तेन्जिङ म भएकै ठाउँमा आए र हामीले आश्चर्यमा वरिपरि हेर्यौं । अत्यन्तै आनन्द आउनेगरी हामी संसारको चुचुरोमा पुगेको थाहा पायौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर