आर्थिक सर्भेक्षणले देखाएको परिदृष्य : अर्थतन्त्र कति पानीमा ? – Nepal Press

आर्थिक सर्भेक्षणले देखाएको परिदृष्य : अर्थतन्त्र कति पानीमा ?

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको तस्बिर देखाएको छ । सर्भेक्षण अनुसार कोरोना महामारीका कारण लक्ष्यित आर्थिक वृद्धिदर हासिल गर्न कठिन भए पनि अन्य प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक छन् ।

सरकारले संसद बिघटन गरी निर्वाचन घोषणा गरेकाले संसदमा प्रस्तुत हुनुपर्ने आर्थिक सर्वेक्षण अर्थमन्त्रालयमा प्रस्तुत गरिएको थियो । सर्भेक्षण प्रतिवेदनको सारांश वाचन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारद्वारा अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिपूर्ण रहेको स्वीकार गरे । कोभिड-१९ का कारण नेपालमा दुई दशकमा पहिलोपटक आर्थिक बृद्धि २.१२ प्रतिशतले ऋणात्मक भएको उल्लेख गर्दै उनले भूकम्पले भन्दा कोरोनाले वृद्धिदरमा ठूलो धक्का दिएको बताए ।

‘कोभिड-१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको छ, जुन आर्थिक वर्ष २०७१/७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा उच्च हो,’ उनले भने ।

केन्द्रीय तथ्याङ्क बिभागले राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक बृद्धिदर ४.०१ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कोभिडको दोस्रो लहरका कारण स्वास्थ्य संकट गहिरिदै गएकाले उक्त लक्ष्य हासिल हुन नसक्ने संकेत गरे ।

‘चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीब्र गतिले फैलिइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण छ,’ उनले भने ।

गत आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा भने सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत भन्दा उच्च रहने अनुमान गरिएको थियो । बागमती प्रदेशमा सबैभन्दा धेरै ४.६५ प्रतिशत र प्रदेश नम्बर २ मा सबैभन्दा कम ३.५२ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको भए पनि कोभिड-१९ को दोस्रो लहरका कारण उक्त बृद्धिदर हासिल गर्न कठिन रहेको अर्थमन्त्रालयको भनाई छ ।

यद्यपी गत बर्षभन्दा राम्रै आर्थिक बृद्धिदर हासिल गर्नसक्ने सम्भावनाको भने अन्त्य नभएको अर्थसचिव शिशिरकुमार ढुङ्गानाले बताए ।

‘हामीले अर्धबार्षिक समिक्षामार्फत ५ प्रतिशतसम्मको आर्थिक बृद्धि हासिल होला भन्ने अनुमान गरेका थियौं । कोभिडको दोस्रो लहर गर्दा उक्त अपेक्षा पुरा नभए पनि गत बर्षभन्दा राम्रै बृद्धिदर हासिल गर्छौ भन्ने लागेको छ,’ उनले भने ।

जीडीपी ४३ खर्ब नजिक, प्रतिव्यक्ती आय ११९६ डलर

चालु आर्थिक वर्ष अनुमानित कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब ७६ अर्ब ३२ करोड पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ । जसमा कृषि क्षेत्रको कुल मुल्य अभिवृद्धि दर २.६ प्रतिशत, उद्योगको ५ प्रतिशत र सेवा क्षेत्रको ४.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

यस्तै कुल गार्हस्थ्य उत्पादनको मूल्य अभिवृद्धिमा कृषिको योगदान २५.८ प्रतिशत, उद्योगको योगदान १३.१ प्रतिशत र सेवा क्षेत्रको ६१.१ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहेको उल्लेख गरिएको छ । चालु आर्थिक बर्ष प्रतिव्यक्ती कुल गार्हस्थ्य आम्दानी ५.८ प्रतिशतले बढेर ११९१ पुग्ने र प्रतिव्यक्ती राष्ट्रिय आय ५ प्रतिशतले बढेर ११९६ पुग्ने अनुमान गरिएको छ । यसैगरी कुल खर्चयोग्य आम्दानी गत आर्थिक बर्षको तुलनामा ४.५ प्रतिशतले बढेर ११८६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्ष फागुनसम्म मुद्रास्फीति ३.५ प्रतिशतको सिमाभित्र रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले चालू आर्थिक बर्षको बजेटमार्फत मुद्रास्फिति ७ प्रतिशतको सिमाभित्र राख्ने बताएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो ।

राष्ट्रिय लगानी १८.१ प्रतिशतले बढ्यो

चालू आर्थिक बर्ष कुल लगानी १८.१ प्रतिशतले बढ्दै १३ खर्ब १२ अर्ब पुग्ने अनुमान गरिएको छ । गत आर्थिक बर्ष यस्तो लगानी ३०.४ प्रतिशतले घटेको थियो ।

चालू आर्थिक बर्षको फागुन मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ३७.३ प्रतिशत हो । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको जनाएको छ । चालु आर्थिक बर्ष बजेटको ऋणले थप नेपालीको टाउकोमा ऋणको भार थप हुँदै जाने देखिन्छ ।

खानेपानी, शिक्षा र पुनः निर्माणमा प्रगति

चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षणले खानेपानी शिक्षा तथा पुनः निर्माणको क्षेत्रमा उल्लेखिय प्रगति भएको देखाएको छ ।

आधारभूत खानेपानी सुविधा पुगेको जनसंख्या ९१.५ प्रतिशत पुगेको छ । चालु आर्थिक बर्ष मात्रै थप १ लाख ५५ हजार जनसंख्याले आधारभूत खानेपानीको सुविधा पाएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिएकाले पनि काठमाडौं उपत्यकामा खानेपानीको पहुँच पुर्‍याउन थप सहज भएको अर्थमन्त्रालयको भनाई छ ।

त्यस्तै भूकम्पबाट क्षति भएका निजी आवास निर्माण करिव ७३ प्रतिशत, सार्वजनिक विद्यालय ८२.७ प्रतिशत, पुरातात्विक सम्पदा ५३.३ प्रतिशत, स्वास्थ्य संस्था ५८.३ प्रतिशत, सरकारी भवन ८५.३ प्रतिशत र सुरक्षा निकायका भवन ९५.८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यसैगरी शैक्षिक वर्ष २०७७ मा प्राथमिक तहको खुद भर्नादर ९७.४ प्रतिशत, आधारभूत तहको ९४.७ प्रतिशत र माध्यमिक तहको ५१.२ रहेको जनाइएको छ ।

बिद्युत, सडक र इन्टरनेटको पहुँचमा बृद्धि

चालु आर्थिक बर्षको फागुन महिनासम्ममा ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । गत बर्षको तुलनामा ४.१ प्रतिशतले विद्युत उत्पादन बढेर १४५८ मेगावट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

चालू आर्थिक बर्षको फागुन मसान्तसम्ममा मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी ५ हजार ९ सय ७४ किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै खण्डाश्मित ८ हजार ८ सय ८२ किलोमिटर र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर गरी ३३ हजार ५ सय २८ किलोमिटर सडक निर्माण भएको बताइएको छ ।

प्रदेश तथा स्थानीयस्तरबाट कच्ची, ग्राभेल र कालोपत्रे सहित जम्मा ६३ हजार ५ सय ७७ किलोमीटर सडक निर्माण गरिएको आर्थिक सर्वेक्षणमा प्रस्तुत गरिएको छ ।

चालु आर्थिक बर्षको फागुनसम्म टेलिफोनको पहँच १३०.३ प्रतिशत जनसंख्यामा पुगेको छ । यसैगरी नेपालमा ८२.८ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा पुगेको अर्थमन्त्रालयले जनाएको छ । गत बर्षको सोही अवधिमा नेपालमा इन्टरनेटको पहुचमा ७३ प्रतिशत जनसंख्यामा रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर