प्रधानमन्त्रीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे के भने ? – Nepal Press

प्रधानमन्त्रीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे के भने ?

काठमाडौं । आर्थिक वर्ष ०७८/०७९ को बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । सो अवसरमा उनले मुलुकको अन्तर्राष्ट्रिय नीति र विदेश सम्बन्धबारे पनि चर्चा गरे ।

प्रधानमन्त्रीको असन्तुष्टिको तारो यसपटक ठूला औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन र जी-ट्वान्टीप्रति लक्षित थियो । कोभिड-१९ विरुद्धको खोपको असमान वितरणप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीले ती मुलुकहरुलाई अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्न सुझाए ।

दिगो विकास लक्ष्य हासिल गर्ने विकासशिल मुलुकहरुको प्रयासमा महामारीले चुनौति खडा गरेको बताउँदै प्रधानमन्त्रीले महामारीविरुद्धको विश्वव्यापी सहकार्यमा जोड दिए । सबै सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने कुरा मनन गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

प्रधानमन्त्रीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे आफ्नो सम्बन्धमा के-कस्ता कुरा भने त ?

नेपालको अन्तर्राष्‍ट्रिय सम्बन्धमा उल्लेख्य विस्तार भएको छ। अभूतपूर्व राष्‍ट्रिय सहमतिका साथ लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरिएको छ। हालसम्म १ सय ७० मुलुकसँग कुटनीतिक सम्बन्ध विस्तार भएको छ । भर्चुअल माध्यमबाट उच्चस्तरीय वार्ता तथा सम्वाद भएका छन्। प्रतिभा प्राप्‍ति केन्द्र (ब्रेन गेन सेन्टर) सञ्‍चालनमा आएको छ।

नेपालको अन्तर्राष्‍ट्रिय सम्बन्ध राष्‍ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्‍ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुनेछ। नेपालको राष्‍ट्रिय हितलाई केन्द्रमा राखी सार्वभौम समानता, विश्‍वास, समझदारी र सहकार्यका आधारमा छिमेकी तथा मित्रराष्‍ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाइनेछ।

ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्‍ट्र भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयहरूलाई समाधान गरिनेछ।

नेपालको कनेक्टिभिटी र व्यापार विस्तारलाई सघाउ पुग्ने गरी सार्क, बिमस्टेक, बिबिआइएन जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय भूमिका खेलिनेछ। विश्‍व शान्ति स्थापनामा योगदान पुर्‍याउन, समान चासो र हितका विषयमा सहकार्य गर्न, विश्‍वव्यापी महत्वका विषयहरूमा राष्‍ट्रिय हित अनुकूल हुने गरी भूमिका निर्वाह गर्न एवं आर्थिक-सामाजिक विकासमा सहयोग परिचालन गर्न संयुक्त राष्‍ट्र सङ्‍घलगायत अन्य बहुपक्षीय मञ्च र सङ्‍घसंस्थाहरूमा नेपालको उपस्थितिलाई अझ प्रभावकारी र सशक्त बनाइनेछ।

द्वन्द्व व्यवस्थापन र मौलिक शान्ति प्रक्रिया, महिला सशक्तीकरण, नागरिक हक प्रत्याभूतिको बृहत् खाका लगायत समानता र न्यायका क्षेत्रमा नेपालले हासिल गरेका विशिष्‍ट उपलब्धिहरू तथा विश्‍वशान्ति स्थापना र पर्यावरणीय सन्तुलन कायम राख्‍न पुर्‍याएको अतुलनीय योगदान विश्‍वसामु स्थापित गर्न एवं समसामयिक चासो र साझा हितका विषयमा विचार विमर्श र छलफल गर्न अन्तर्राष्‍ट्रियस्तरको सगरमाथा सम्वादलाई उपयोग गरिनेछ। सम्वादको पहिलो शृङ्खलाको रूपमा आगामी आर्थिक वर्ष जलवायु परिवर्तनसम्बन्धी विषयमा सम्वादको आयोजना गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर