‘२० मिनेट बिजुली जाँदा’ ८ संक्रमितको मृत्यु ! – Nepal Press

‘२० मिनेट बिजुली जाँदा’ ८ संक्रमितको मृत्यु !

‘२० मिनेटमात्रै अक्सिजन रोकिँदा के हुन्छ थाहा पायौं’

पाेखरा । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार एक्कासि अक्सिजनको अभाव हुन पुग्यो । दिउँसो २० मिनेट विद्युत आपूर्ति बन्द हुँदा ‘हाइफ्लो’ अक्सिजन लिइरहेका बिरामीले पर्याप्त अक्सिजन लिन पाएनन् ।

उच्चमात्राको अक्सिजन लिनुपर्ने कडा प्रकृतिका र दीर्घ रोगी बिरामीले आवश्यक अक्सिजन लिन पाएनन् । नतिजा स्वरुप बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म ८ जना कोभिड बिरामीले ज्यान गुमाउन पुगे ।

अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालका अनुसार मृत्यु हुनेमा शनिबारमात्रै अपरेसनमार्फत सन्तानलाई जन्म दिएकी एक सुत्केही महिलासमेत छन् । उनका अनुसार अक्सिजन आपूर्तिमा कमी आउँदा मृत्यु हुनेमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङजाका एक÷एक जना छन् ।

‘२० मिनेटमात्रै अक्सिजन उत्पादन नहुँदा के हुन्छ थाहा पायौं’

कोभिड फोकल पर्सन डा. बराल २० मिनेटमात्रै विद्युत आपूर्ति नहुँदा कतिको क्षति हुन्छ भन्ने थाहा भएको बताए । ‘केही दिनअघि देखि कोभिडका विरामीहरु बढिरहनु भएको थियो । त्यसले गर्दा हाइफलोको अक्सिजन पनि धेरै चाहिएको छ,’ उनले भने, ‘पहिले हामीसँग पर्याप्त हुन्थ्यो । तर, २० मिनेटमात्रै विद्युत आपूर्ति नहुँदा के हुन्छ थाहा पायौं ।’

डा. बरालले अस्पतालमा ३, ४ दिनअघिबाटै अक्सिजन सिलिन्डरको कमी हुँदै आएको बताए । सीमितमात्रामा सिलिन्डर भएको तर, कोभिडका गम्भीर बिरामीहरु बढ्दै जाँदा विस्तारै अभाव हुँदै गइरहेको उनको भनाइ छ ।

‘अहिले यहाँमात्रै नभएर निजी अस्पतालमा पनि कोभिडको उपचार हुन थालेको छ । बिरामी बढेपछिमाग पनि बढ्ने नै भयो,’ डा बराल भन्छन्, ‘पोखरामा भएको सिलिन्डर पनि राजनीतिक स्वार्थले भर्दै अनावश्यक गाउँगाउँमा पुर्‍याउनाले यो अवस्था आएको हो ।’

बरालका अनुसार पश्चिमाञ्चल अस्पतालमा अक्सिजन पछिल्लो समय दैनिक ३ सय ५० भन्दा बढी सिलिन्डर खपत हुँदै आएको थियो । तर, बिहीबार भने विद्युत आपूर्ति नियमित नभएका कारण उत्पादनमा कमी आउँदा २ सय ७५ सिलिन्डरमात्रै आपूर्ति भएको थियो ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल भए पनि अझै अक्सिजन प्लान्ट सुरु हुन सकेको छैन । अस्पतालको कोभिड वार्डमा उपचाररत कोभिड बिरामीका लागि प्रति आधा घन्टामा १४, १५ सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि बिहीबार पुर्‍याउन नसकिएको स्वीकारे ।

‘सिलिन्डर अभावका कारण केही दिन आधा घन्टामा ४, ५ वटामात्रै ल्याएर फर्किनुपर्ने अवस्था छ ।’

केही दिनअघिसम्म दीर्घ रोग भएका कोभिड बिरामीमा कमी आएकोमा फेरि बढेको डा बरालले जानकारी दिए । ‘पछिल्लो समय फेरि कडा किसिमका कोभिड बिरामी देखिन थालेका छन् । बीचमा दीर्घ रोगीमा केही कमी देखिएको थियो । तर, रोग समुदायस्तरमै फैलिइसकेपछि भने रोगमा पनि जटिलता देखिँदै गएको छ,’ उनले भने ।

अस्पतालमा अहिले ७५ जना कोभिड बिरामी उपचार गरिरहेका छन् । अभावका अझै पनि अक्सिजन आपूर्ति सहज हुन नसकेको अस्पताल स्रोतको भनाइ छ । अस्पतालमा कार्यरत एक कर्मचारी भन्छन्, ‘विद्युतले गर्दा पनि मध्यरातमा समस्या आएको हो । तर, केही दिनअघिबाटै यहाँ अक्सिजन कमी छ । अझै पर्याप्त हुन सकेको छैन ।’

अस्पताल केन्द्र सरकारको मातहतमा छ । अस्पताललाई कोभिड अस्पताल बनाउन गण्डकी प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय सरकारसँग माग गर्ने निर्णय गरेको थियो । अहिले उक्त अस्पताललाई कोभिडको बिरामीमात्रै उपचार गर्ने गरी ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालमा ३ सय ५० बेड छ ।

निर्देशकको झुठ : अक्सिजन दिँदादिँदै मृत्यु भएको हो
अस्पताल गण्डकी स्वास्थ्य प्रतिष्ठान अन्तर्गत सञ्चालित छ । प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले भने पर्याप्त अक्सिजन दिएर उपचार गरिरहेकै क्रममा मृत्यु भएको दाबी गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले विद्युत आपूर्ति रोकिँदा अक्सिजन आपूर्तिमा कमी आएको तर, कोभिड वार्डमा जाने अक्सिजन नरोकिएको जिकिर गरेका छन् ।

‘मृतकहरुमध्ये धेरै जनामा दीर्घकालीन स्वास्थ्य समस्या थियो । अस्पतालमा उपचारको क्रममा रहेदेखि नै उच्चमात्रामा अक्सिजन दिई उपचारकै क्रममा मृत्यु भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं,’ डा. खत्रीले विज्ञप्तिमा भनेका छन्, ‘हिजो (बिहीबार) बिहान विद्युत आपूर्तिमा केही समस्या हुँदा पर्याप्तमात्रामा अक्सिज आपूर्ति हुन नसकेको तर, वार्डहरुमा हुने आपूर्ति नरोकिएको स्पष्ट पार्न चाहन्छौं ।’

डा. खत्रीले अक्सिजनको कमी नभई बिरामीमा दीर्घकालीन र डायलासिस गनुपर्ने बिरामीको मात्रै उपचारकै क्रममा मृत्यु भएकोसमेत दाबी गरेका छन् । तर, अस्पताल स्रोतका अनुसार मुत्यु हुने सबैको आवश्यकता बमोजिम हाइफलो अक्जिन दिन सकेको भए ज्यान बचाउन सक्ने स्थिति रहेको बताएको छ ।

प्रदेशभर ३० जना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनयता कोरोनाबाट मृत्यु हुनेको संख्या ओरालो लागिरहेको थियो । यसअघि कोरोनाबाट जेठ ५ गते सबैभन्दा बढी ३० जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका १२ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर पछिल्लो एकदिनमा मृत्यु हुनेमा मुस्ताङ र पर्वतका २, २ जना, गोरखा र स्याङजाका ३, ३ जना, तनहुँका ६ जना, नवलपुर र बागलुङका एक/ एक जना छन् ।

योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार प्रदेशभर कोरोनाबाट मृत्यु हुनेका संख्या शुक्रबारसम्म ६ सय २४ पुगेको छ ।

८ सय संक्रमित ७ सय निको

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ८ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट निको हुनेका संख्या ७ सय ७० छ ।

पछिल्लो समय प्रदेशमा कोरोना पुष्टि हुने संख्या सँगै निको हुनेको संख्यामा समेत वृद्धि भएको छ । प्रदेशभर ११ हजार सक्रिय संक्रमित छन् । जसमध्ये १० हजार होम आइसोलेसनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर