निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? – Nepal Press

निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

काठमाडौं । शुक्रबारबाट उपत्यकाका तीनवटा जिल्ला काठमाडौंं, भक्तपुर र ललितपुरमा लागु गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको थियो ।

यसअघि खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खुला गर्न बिहान १० बजेसम्म समय दिइएको थियो । भीडभाड हुँदा संक्रमण फैलिने भएपछि आजदेखि बन्द गर्ने निर्णय गरेको प्रशासनहरुले जानकारी दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘प्रहरीले ठाउँ-ठाउँमा चेकपोइन्ट खडा गरेको छ र अनुगमनका लागि गस्ती बढाएको छ । सवारीसाधनको हकमा ट्राफिक प्रहरीले जाँच गरिरहेको छ । यसपाली अनुगमनमा थप कडाइ गरिएको छ ।’

खाद्यान्न पसल बन्द गर्ने निर्णयबारे उनी भन्छन्, ‘भोकले मर्नुपर्ने कुनै स्थिति छैन ।’

महामारी नियन्त्रणको लागि अध्यादेश लागू भएको पहिलो दिन अनुगमनमा निस्केका ललितपुरका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘म अहिले अनुगमनको क्रममा छु । चहलपहल खासै देखिएको छैन । तरकारी, फलफूल, दुध र ग्याँस पसलहरु विहान ९ बजेभित्र बन्द गर्न थालिएको छ । नागरिककै सुरक्षाको लागि यो कडाइ गरिएको हो ।’

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भने, ‘नयाँ अध्यादेशले सजाय र जरिवानाको हकमा कडा व्यवस्था गरेकोले कार्यान्वयनमा सजिलो भएको छ । अनेक बहानामा निस्कनेलाई प्रहरीले कानुनको दायरामा ल्याएको छ । नयाँ व्यवस्थाअनुसार सांकेतिक रुपमा दुई–चार जनालाई कारवाही गर्नासाथ कार्यान्वयन गर्न सजिलो हुन्छ ।’

अध्यादेशमा कस्ता प्रावधान छन् ?

  • कुनैपनि काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना र सजाए हुनेछ ।
  •  मापदण्ड पालना नगरे ६ महिनासम्म कैद र ३ लाख रुपैयाँ सम्म जरिवाना वा सजाय हुनेछ ।
  • अनुमतिबिना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा लिन सक्ने छ ।

के छ जरिवनाबारे अध्यादेशमा ?

  • मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा १०० रुपैयाँ जरिवाना
  • आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उलंघन गर्नेलाई २०० रुपैयाँ
  • अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा दुईपाग्रे सवारी भए २,००० र अन्य सवारी भए ५,००० रुपैयाँ जरिवाना

त्यस्तै अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गर्न आदेश पनि दिन सक्ने छन् ।

यी काम गर्न पाइँदैन

  • अत्यावश्यक सेवा तथा औषधि खाद्यवस्तु लिनुपर्दा बाहेक निस्कन नपाइने
  •  मर्निङ र इभिनिङ वाक गर्न नपाइने
  • सबै प्रकारका सभा, सम्मेलन, सम्मेलन, सेमिनार, मनोरञ्जनस्थल, खेलकुद, विवाह, व्रतबन्ध, होटल, पार्टी, पूजा–पाठ आदी कार्यक्रमहरु सञ्चालन गर्न नपाइने
  •  एम्बुलेन्स स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक
  • सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कार्यलय, विकास निर्माण, व्यापार व्यवसाय सञ्चालनमा रोक

के गर्न पाइन्छ ?

  • मृत्यु संस्कारमा जिल्ला प्रशासनको अनुमतिमा आउजाउ गर्न पाइने
  • कागजपत्रसहित एकजना बिरामी कुरुवा आवत–जावत गर्न
  • परिचयपत्र र पोसाक भएका सुरक्षा गार्डको आवतजावत
  • एम्बुलेन्स, खानेपानी, फोहोरमैला व्यवस्थापन, इन्टरनेट, कुरियर र स्वास्थ्यसम्बन्धी सवारीसाधन सञ्चालन गर्न पाइने
  • सूचना विभागको पास भएका सञ्चारकर्मीको आवतजावत तथा नभएको हकमा जिल्ला प्रशासन कार्यालयको पास लिएको सञ्चारकर्मीको आवतजावत
  • औषधी तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर