स्वास्थ्यकर्मीमाथि कुटपीट गर्नेलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह – Nepal Press

स्वास्थ्यकर्मीमाथि कुटपीट गर्नेलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । बाँकेको भेरी अस्पतालमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपीटको घटना तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घटनाबारे आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबार नै स्थलगत अनुगमन गरेको पनि जनाएको छ ।

बाँकेको भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिहिबार साँझ स्वास्थ्यकर्मीमाथि कुटपीट गर्नुका साथै अस्पतालको कोभिड उपचार कक्षमा तोडफोड गरेको र चिकित्सक तथा नर्समाथि आक्रमण गरेको अनुगमनका क्रममा पाइएको छ । साथै आफुमाथी आक्रमण भएपछि ४ जना स्वास्थ्यकर्मीले एक तलामाथिबाट हाम फालेको अनुगमनको क्रममा पाइएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनका अनुसार स्वास्थ्यकर्मी सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म काममा नफर्कने भन्दै घटनाको विरोध गरिरहेको पाइएको छ ।

कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएका यस प्रकारका कुटपीट तथा अस्पताल तोडफोडका घटनाले अहिलेको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकरात्मक असर पर्ने आयोगको ठहर छ ।

घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको यस संकटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन आयोगले विज्ञप्तीमार्फत नै सरकारको ध्यानाकर्षण पनि गराएको छ । साथै, स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न पनि आयोगले सबै पक्षलाई आग्रह पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *