मतदाता नामावलीसँग भिडाई मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन – Nepal Press

मतदाता नामावलीसँग भिडाई मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन

शुक्रबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु

काठमाडौं । निर्वाचन आयोगले जेठ १७ गते सोमबारका दिन सम्पन्न हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताका लागि यस्तो निर्देशन दिइएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ । जसमा प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचय पत्र अनिवार्य गरिएको छ ।

लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको पनि आयोगले जनाएको छ । यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ । यस्तै एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भन्दै तोकिएका आचरण पालना गर्न गराउनका लागि पनि आयोगले सबैसँग अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *