स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयको निर्देशन – Nepal Press

स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयको निर्देशन

बाँकेकाे घटनाबारे अनुसन्धान गर्नका लागि छानविन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको जनाएको छ ।

‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बिहीबार राति भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको स्थानीय प्रशासनलाई उदृत गर्दै गृह मन्त्रालयले जनाएको छ ।

घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा ७ सदस्यीय छानविन समिति पनि गठन भइसकेको गृह प्रवक्ता दाहालले बताए । चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर