कोरोनाले आक्रान्त प्रदेश २ मा सरकारले किन्यो ९ वटा दमकल ! – Nepal Press

कोरोनाले आक्रान्त प्रदेश २ मा सरकारले किन्यो ९ वटा दमकल !

जनकपुरधाम । प्रदेश २ कोरोनाले आक्रान्त बनेको बेला प्रदेश सरकार झण्डै ५ करोड रुपैयाँमा ९ वटा बारुण यन्त्र खरिद गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको बारुण यन्त्र बिहीवार जनकपुर ल्याएको हो ।

प्रदेशका ८ वटा जिल्ला प्रशासन कार्यालयलाई १/१ वटा र प्रदेश प्रहरी कार्यालयलाई एउटा बारुण यन्त्र प्रदान गरिने मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए । उनका अनुसार एउटा बारुण यन्त्रको खरिद मूल्य करिब ५३ लाख रुपैयाँ परेको छ । बारुण यन्त्र कहाँबाट खरिद गरिएको विषयमा उनले बोल्न मानेनन् ।

यस प्रदेशमा कोरोनाका सक्रिय संक्रमित साढे ११ हजार पुगिसकेको छ । जसमध्ये ९५ प्रतिशत घरमै बस्नुपरेको अवस्था छ । अस्पतालमा शैय्या छैन । शैय्या पाएकाहरु पनि उपचार नपाएको गुनासो गर्छन् ।

कुनै अस्पतालमा औषधि अभाव त कुनैमा अक्सिजन अभाव देखिएको छ । अक्सिजन प्लान्ट र औषधिको आवश्यकता रहेका बेला प्रदेश सरकारले बारुण यन्त्र खरिद गरेपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच वटा बस खरिद गरेको थियो । तर उक्त बसहरु मधेस भवनमा आठ महिनादेखि थन्केको छ । खुल्ला आकाशमूनि राखिएको उक्त बसमा खिया लाग्न थाले पनि कहिलेदेखि सञ्चालनमा आउने कुराको अतोपतो छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *