शंकर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा विपक्षी गठबन्धन पनि सहभागी – Nepal Press

शंकर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा विपक्षी गठबन्धन पनि सहभागी

रूपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पुनः नियुक्ति अस्वीकार गर्दै आएका विपक्षी दलहरू सर्वदलीय बैठकमा भने सहभागी भएका छन् ।

मुख्यमन्त्री पोखरेलले नयाँ बजेटमा समेट्नुपर्ने विषय, कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकारले गरेका कामबारे छलफल गर्न सर्वदलीय बैठक राखेका थिए ।

बैठकमा मुख्यमन्त्री पोखरेलले अक्सिजनको सहज आपूर्ति व्यवस्था मिलाइएको, कोरोना संक्रमण सुरु भएसंगै एक वर्षदेखि प्रदेशमा ६ सय जनशक्ति थप गरी निरन्तर खटाइएको बताए । व्यवस्थित जनशक्ति परिचालनमा लुम्बिनी प्रदेश पहिलो भएको उनको भनाइ थियो ।

बैठकमा प्रदेशसभाको व्यवस्थित र प्रभावकारी सञ्चालनबारे समेत छलफल भएको थियो । तीन वर्षसम्म प्रदेशसभा सहमति र सहकार्यको आधारमा सञ्चालन भएर नमूना बनेको बताउँदै उनले आगामी दिनमा पनि सहमति र सहकार्यको यात्रालाई निरन्तर हुने आफूले अपेक्षा गरेको बताए ।

बैठकमा सहभागी दलका नेताहरुले अब गर्नुपर्ने कामबारे पनि सुझाव दिएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरूद्धि खानले मुख्यमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएको बताए । उनले गतवर्षको बजेटमा आफूहरूसँग गरेका सहमति विपरित बजेट ल्याएको स्मरण गराउँदै अहिले त्यसो नगर्न सुझाव दिएको बताए ।

बैठकमा सत्तारुढ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एंव पूर्वमन्त्री लिला गिरी, एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, प्रमुख सचेतक फखरुद्दीन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, प्रदेश सरकारका मन्त्रीहरु आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको सहभागिता रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

विपक्षी दललाई समेट्ने प्रयासस्वरूप मुख्यमन्त्री पोखरेलले यो बैठक बोलाइएको सत्तारूढ नेकपा एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर