तीन विद्युतीय मेसिन दिनभर व्यस्त, दैनिक ४० हजार किलो दाउरा खपत – Nepal Press
पशुपतिमा शव व्यवस्थापनको चाप

तीन विद्युतीय मेसिन दिनभर व्यस्त, दैनिक ४० हजार किलो दाउरा खपत

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढेसँगै पशुपति आर्यघाटमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सामान्य अवस्थामा दैनिक ४५-५० शवको दाहसंस्कार हुने पशुपति आर्यघाटमा अहिले दैनिक २ सयभन्दा बढी संख्यामा शवहरू जलिरहेका छन् ।

कोभिड–१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापन सरकारले नै गर्दै आएको छ । यसमा मृतकका आफन्तले आर्थिक दायित्व व्यहोर्नुपर्दैन । मृतकको शव आर्यघाटसम्म ल्याएर दाहसंस्कार गर्ने जिम्मेवारी नेपाली सेनाको काँधमा छ । यसको आर्थिक दायित्व भने हाललाई पशुपति विकास कोषले व्यहोर्दै आएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडलका अनुसार नेपाली सेनाले हालसम्म ६ हजार ५८२ को शव व्यवस्थापन गरिसकेको छ । तीमध्ये विद्युतीय शवदाह गृहमा ३३ सय ४२ वटा शव जलाइएका छन् । बाँकी दाउराको चितामा दाहसंस्कार गरिएका हुन् ।

संक्रमितको शव व्यवस्थापन गर्नका लागि विभिन्न मापदण्ड पूरा गरेर ‘क्यू’मा राख्नुपर्ने हुन्छ । कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै सेनाले शव व्यवस्थापनको तयारी गर्छ ।

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएको थियो । उनको शव विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरियो । त्यसपछि कोभिडले मृत्यु भएकाहरूको शव विद्युतीय मेसिनमै जलाउने गरिएकोमा शवको चाप बढेपछि दाउरामा पनि जलाउनुपर्ने वाध्यता भएको हो । दाउरामा जलाउने काम महंगो र झन्झटिलो हुने गर्छ ।

मृतकको शव जलाइँदा आफन्तहरूले टाढाबाट हेर्न पाए पनि छुन र अन्य क्रियाकर्म गर्न सक्दैनन् ।

तीन मेसिनले धान्न सकेन

पशुपतिमा रहेको विद्युतीय शवदाह गृहभित्र शव जलाउने ३ वटा मेसिन छन् । अहिले ३ वटै चालु अवस्थामा छन् । तर, शवहरूको चाप बढेर तीनवटा मेसिनले पनि धान्न सकेको अवस्था छैन ।

कोषका अनुसार तीनवटै मेसिन एकैचोटी चलाउन मिल्दैन । एकपटकमा दुई मेसिन चलाएर एउटालाई रेस्टमा राखिन्छ । २४ सै घण्टा चलाउँदा मेसिन छिट्टै बिग्रने गरेकाले मेसिन तातेपछि ‘कुल डाउन’ गर्नको लागि एउटा बन्द गर्नुपर्ने हुन्छ ।

मेसिनमा शव जलाउन ५० देखि ५५ मिनेट लाग्छ । एउटा मेसिनले २४ घण्टामा २४ देखि २५ वटा शव जलाउन सक्छ । मेसिनलाई रेस्टका लागि डेढ घण्टा समय छुटयाइएको हुन्छ । अहिले ३ मेसिनले दैनिक ५० देखि ६० वटा शव जलाउने गरेका छन् । जबकि कोभिड अगाडि विद्युतीय शवदाह गृहमा दैनिक १५ देखि २२ वटासम्म शव जल्ने गर्थे ।

संक्रमितको शव मेसिनमा नै जलाउने मापदण्ड बनेको भए पनि मेसिनले धान्न सक्ने अवस्था भएन । मेसिनको क्षमताले नधानेपछि कोषले दाउरा र मट्टितेलको प्रयोग गरेर पनि शव जलाउन थाल्यो । त्यसमा पनि स्थान अभावका कारण वागमती किनारमा अस्थायी चिता बनाएर नै दाउराबाट दाहसस्कार गर्ने गरिएको छ ।

कोषका प्रशासकीय अधिकृत रेवतिरमण अधिकारी भन्छन्, ‘पहिले कोषको एउटा मेसिन बिग्रेको थियो । दुई वटा आलोपालो गरी चलाइएको थियो । तर यसपाली ३ वटै सञ्चालनमा हुँदा पनि भ्याइएन । बाहिरकोले पनि नभ्याएपछि अस्थायी चिता बनाइएको हो ।’

दाउराभन्दा मेसिनमा सरल र सस्तो

विद्युतीय मेसिनभन्दा दाउरामा शव जलाउने कार्य झण्झटिलो र खर्चिलो पनि छ । मेसिनमा ५५ मिनेटभित्र शव जल्छ भने दाउरामा डेढदेखि दुईघन्टा समय लाग्छ ।

विद्युतीय शवदाह गृहमा शव जलाउँदा भन्दा दाउरामा बढी खर्च लाग्छ । दाउराले मात्रै शव नजल्ने भएकाले श्रीखण्ड, कपुर सालधुपहरू आवश्यक पर्छ । यद्यपि, अन्यभन्दा कोभिड संक्रमितको शव दाहसंस्कार गर्दा कम खर्च लाग्ने कोषका अधिकृतको भनाइ छ ।

उनी भन्छन्, ‘कोभिडको शव प्याकिङमा आएको हुन्छ । खटदेखि कात्रोसम्मको सामानहरू प्रयोग हुँदैन । त्यसको खर्च कम हुन्छ । कोभिड संक्रमितको शव जलाउँदा रजिस्ट्रेसन शुल्क पनि तिर्नु पर्दैन ।’

ती अधिकारीका अनुसार आर्यघाटमा सामान्य शव जलाउँदा चिताको मात्रै १५ हजारदेखि माथि खर्च हुन्छ । कोभिड संक्रमितको चितामा राखेर दाहसंस्कार गर्दा १० हजारसम्म खर्च हुने गरेको छ । विद्युतीय मेसिनमा दाहसंस्कार गर्दा भने ३-४ हजार मात्रै खर्च हुन्छ ।

कोषका अधिकारीले भने, ‘विद्युतीय मेसिनमा सामान्य खट बाहेक अरु सामान आवश्यक पर्दैन विद्युतमा सामान्य खर्च लाग्ने हो ।’

उनका अनुसार मेसिनमा एउटा शव दाहसस्कार गर्दा सामान्यतया ३२ सय रूपैयाँ लाग्छ । यस हिसाबले मेसिनभन्दा दाउरामा करिब ७ हजार महंगो पर्न जान्छ ।

मेसिनमा दाहसंस्कार गर्दा उठेको बिजुलीको महसुलमा पनि विद्युत प्राधिकरणले सहुलियत दिँदै आएको छ ।

सोधभर्ना नपाएको कोषको गुनासो

पशुपतिमा जलेको शवको आर्थिक दायित्व तत्कालका लागि कोषले व्यहोर्दै आएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यो रकम कोषलाई सोधभर्ना गर्ने निर्णय गरेको थियो ।

हालसम्म कोषले ३३ सय ४२ संक्रमितको शव व्यवस्थापन गरिसकेको छ । तर सीसीएमसीले उपलब्ध गराउने भनिएको शोधभर्ना रकम भने कोषलाई प्राप्त भएको छैन । कोषका अनुसार गत सालकै सोधभर्नाको रकम आउन बाँकी छ ।

कोषका अधिकारीले भने, ‘पोहोर सालको अलिअलि आयो, अहिलेको बाँकी नै छ ।’

गत वर्ष अधिकांश शव मेसिनमा जलाइएको भएर लागत कम परेको थियो । तर, यसपपाली दाउरामा पनि धेरै जलाइएकाले लागत बढेको ती अधिकारीले बताए । उनका अनुसार दैनिक मेसिनमा ५० वटा र डेढ सय शव बाहिरै जलाउने गरिएको छ ।

गत वर्षको डेढ करोड रूपैयाँ सरकारले कोषलाई सोधभर्ना गर्नुपर्नेमा हालसम्म ६० लाख रुपैयाँमात्रै प्राप्त भएको उनको भनाइ छ । यस वर्षको भने हरहिसाब गर्नै बाँकी छ ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले दाहसंस्कारमा गरेको खर्चको सोधभर्ना सरकारबाट नआए कोष घाटामा जाने बताए ।

उनले भने, ‘अहिले हामीसँग भएको रकमले नै खर्च गरिराखेका छौ । हाम्रो पैसा शोधभर्ना आएनभने घाटामा जान्छौ ।’

दाउराको माग चौबर

कोरोना संक्रमितको मृत्युदर बढेसँगै पशुपति आर्यघाटमा दाउराको माग ह्वात्तै बढेको छ । सामान्य अवस्थामा दाहसंस्कारको लागि दैनिक ८ हजार किलो दाउरा खपत हुँदै आएकोमा अहिले ४० हजार किलो दाउरा खपत हुने गरेको नेपाल वन निगम लिमिटेडले जनाएको छ ।

पशुपतिमा दाउराको माग पुर्‍याउनै हम्मेहम्मे हुने गरेको निगमको आपूर्ति विभागका प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रसाद रेग्मीले बताए ।

उनले भने, ‘सामान्य अवस्थामा दैनिक ८ हजार किलो दाउराले पुग्ने थियो । अहिले दैनिक ४० हजार किलोभन्दा बढी दाउरा खपत भइरहेको छ । दाउरा पुर्‍याउनै हम्मे-हम्मे भइसक्यो ।’

संक्रमितको दाहसंस्कारको लागि दाउराको अभाव हुन नदिन निगमले बारा र पर्सामा प्रसारण लाइन जडान गर्दा काटिएको दाउरा ल्याउँदैछ । साथै निगमले १० लाख किलो दाउरा उपलब्ध गराउन निजी क्षेत्रसँग सम्झौता गरेर टेन्डर गरेको छ ।

निगमले निजी र सरकारी क्षेत्रबाट पशुपतिमा दाउरा उपलब्ध गराउँदै आएको छ । सरकारी वन क्षेत्रबाट ल्याएको दाउराले मात्रै नपुग्ने भएकाले निजी क्षेत्रबाट पनि दाउरा ल्याउने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर