राष्ट्रपतिमाथि क्रुर हमलाको ‘चौथो भेरियन्ट’ – Nepal Press

राष्ट्रपतिमाथि क्रुर हमलाको ‘चौथो भेरियन्ट’

अहिले सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अपमानपूर्ण हमलाको चौथो भेरियेन्ट अर्थात् वेभ उत्कर्षमा छ ।

हमलाको पहिलो भेरियन्ट तीन वर्ष पहिले संसदमा नीति तथा कार्यक्र प्रस्तुत गर्दा भएको थियो, जतिबेला उहाँले ‘मेरो सरकार’ भन्नुभएको थियो । जुनकारण उहाँमाथि क्रुर हमाला भयो, निर्दोश राष्ट्रपतिमाथि गणतन्त्रका ब्राण्डेड ठेकेदारले राष्ट्रपतिको उछितो काडे । उनीहरुले यति पनि बुझेनन् कि राष्ट्रपतिले सरकारद्वारा लिखित नीति तथा कार्यक्रम वाचन गर्ने मात्रै हो । हुनतः राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु सामान्य प्रचलित परम्परा थियो ।

अर्को सालको नीति तथा कार्यक्रममा ‘मेरो’ भन्ने शब्द परेन । अर्थात् सरकारले अर्को साल त्यो शब्द राखेन र राष्ट्रपतिले पढ्नु भएन । दोषै दिनु पर्ने भए सरकारलाई दिनुपर्नेमा राष्ट्रपतिमाथि त्यतिकै हमला गरियो ।

राष्ट्रपतिमाथि हमलाको दोस्रो भेरियन्ट पनि जोरजबर्जस्तीका साथ आयो । हेलिकप्टर र गाडी चढेको विषय मात्रै होइन, कार्पेट विच्छ्याएको विषयमा मान्छेहरु खनिए ।

डेढ अर्बको हेलिकप्टर, अठार करोडको गाडी र डेढ करोडको कार्पेट भन्दै पेटकै जुका झर्ने गरी चिच्याए र कोकोहोलो गरियो । अझै राष्ट्रपति भवन राष्ट्रपतिको निजी घर होइन र उहाँ कार्यकाल पूरा गरेर जाँदा त्यहीं छाडेर जानुहुने भन्ने कखरा पनि नजान्नेहरु ‘चण्डाल शैली’मा बर्बराए । चर्चित लोकगायकले समेत ‘लुट्न सके लुट’ भन्ने गीतमा ‘डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति’ भन्ने लाइन राखे । विषय विवादित भएपछि उनले माफी मागे ।

राष्ट्रपतिमाथि हमलाको दोस्रो भेरियन्ट पनि जोरजबर्जस्तीका साथ आयो । हेलिकप्टर र गाडी चढेको विषय मात्रै होइन, कार्पेट विच्छ्याएको विषयमा मान्छेहरु खनिए ।

अलिपछि गाइँगुइँ सुनियो– ती केही सामग्री किन्ने निर्णय अघिल्लै राष्ट्रपतिको कार्यकालमा भएको रहेछ । भनिन्छ, हेलिप्याड बनाउनका लागि अघिल्लै राष्ट्रपतिका पालामा तालिम केन्द्र सार्ने निर्णयको कुरो कोट्याउँदा बबण्डर मच्चाइयो । पछि थाहा भो, कार्पेट डेढ करोडको होइन, २७ लाखको मात्र रहेछ ।

अहिलेका राष्ट्रपतिले चढ्ने सवारीसाधन त त्यै साठी सत्तरी लाख पर्ने विद्युतीय गाडी पो रहेछ । त्यो भन्दा महँगो गाडी त हिजो जनयुद्ध र आज धनयुद्धमा लागेर दिव्य आयस्रोतमार्फत अकूत सम्पत्ति आर्जन गर्न पाउने तर स्रोत खुलाउनै नपर्ने ‘हवाइचप्पलेहरू’ नै पो आज चड्छन् ।

अर्को कुरो, जब राष्ट्रपति कार्यालयको हेलिकप्टरले मुगुमा सुत्केरी हुन नसकेकी महिलाको उद्धारमा प्रयोग भएको देखे तब मौसमी परिचालित र परिपोषितहरू हमलाकारी विषवमन गर्ने चार्ज पनि सकियो । त्यो भैरियन्ट मत्थर भएसँगै हमलाकारीहरू राष्ट्रपतिमाथि अर्को हमला गर्ने वेभ वा भेरियेन्ट ढुकेर बसे ।

गत साल कोरोनाले मुलुकलाई आक्रमण गरेका बेला राष्ट्रपतिमाथि अर्को ‘हमलाकारी भेरियेन्ट’ आयो । नेकपामा देखिएको मतभेद र विग्रहबारे राष्ट्रपतिले जनताको अपेक्षाअनुसार मुलुककमा राजनैतिक स्थिरता कायम होस् भनी कतिपय सन्दर्भमा गर्नु भएको सौहार्द्रपूर्ण भेटघाटलाई पनि दुराग्रहपूर्ण तवरले हेरियो । केटाकेटी तर्साएझै महाभियोगको हाउगुजी देखाइयो ।

सरकारले एसिड आक्रमणविरुद्धलगायतका अध्यादेश ल्यायो, त्यसपछि त झन् राष्ट्रपतिले स्वीकृत गर्नु हुँदैनथ्यो भनेर कतिपयले जात्रा देखाए । लोकतन्त्र मार्न त्यसका सारथिहरूका घाँटी रेट्नेहरूका मुखबाट ‘सयौँ मुसा खाएर काँशी हिँडेको बिरालो’लेझै लोकतन्त्रको रामनामी गुन्जिन थाल्यो । अनि तिनैले अध्यादेश ल्याउँदा लोकतन्त्र छटपटाएको देखे ।

संविधानमा राष्ट्रपतिलाई अधिकार दिने बेलामा (‘कटवाल काण्ड’बाट गलहत्तिनु परेको घाउको पाप्रा कोट्याउँदै) कनकन गर्ने र सरकारले ल्याउने अध्यादेशमा छाप लगाउने बाहेकको अधिकार दिन कन्जुस्याइँ गर्नेले राष्ट्रपतिलाई दोष दिन अलिकति त लाज मान्नुपर्ने हो ।

राष्ट्रपतिविरुद्ध विशेष गरी संसद् विघटनपश्चात् आएको जुन कडा खालको विरोधको भेरियेन्ट छ, त्यो झनै विकृत रूपमा आएको छ । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिबाट संसद विघटन भयो । दोष त सरकारको होला नि, राष्ट्रपतिमाथि केको हमला ?

यो भेरियन्टमा त उहाँमाथि यौनिकता, लैङ्गिकता, मानवीय संवेदनशीलता र व्यक्तिगत जीवनमाथि पटकपटक हमला भयो । अझै एउटा आमसभामा बोल्दै एउटीले झाक्रो फिजाउँदै राष्ट्रपतिमाथि जघन्य आरोप लगाइन् । केही हेभीवेट भनिने नेतासमेत पहिरन र श्रीमान गुमाउनु परेको पीडालाई घृणित तरिकाले व्यख्या गर्दै तथानाम भने ।

अझै, संविधानको धारा ७६(५)अनुसार दलीय व्यसस्थाको धज्जी उडाउने गरी २७५ सदस्य भएको प्रतिनिधिसभामा ३०० भन्दा बढी गणित देखेपछि दुवै पक्षलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त नगर्नु स्वभाविक थियो । राष्ट्रपतिको आह्वानलाई नै असंवैधानिक भन्नेहरूले असंवैधानिक पाराले ‘अर्काका भकाराबाट वस्तुभाउ चोरेर आफ्ना भन्दै डोर्याए’जस्तो गरी अवैध संङ्ख्याले लोकतन्त्र जोगाउन खोज्नेको नौटंकी पनि देखियो ।

यही मुद्दासँग आगो भएर सामाजिक सञ्जालमा सरकार प्रमुख र राष्ट्र प्रमुखलाई जोडेर यौनिक हमलाको हर्कत देखाउने अपराधीहरूका संक्रामक भाइरस झन् सलबलाए । सपथग्रहण समारोहमा राष्ट्रपतिले हाँसेको कुरोलाई लिएर सञ्जाल र कतिपय पोष्य मिडियामा जुन निकृष्ट, नीच र तुच्छ टिप्पणी गरियो र गरिँदै छ, त्यस्तो टिकाटिप्पणी गर्नेहरू कुनै महिला उच्चपदमा पुगेको देखिनसहने कतिपय स्वनामधन्य घगडान बुद्धिजीवी, प्राज्ञ, वकिल, पत्रकार र नेता भन्नेहरू नै भए ।अतः राष्ट्रपतिविरुद्धको यो भेरियेन्टलाई कुण्ठाको चीत्कार, नग्नता र मर्यादाहीनताको भाइरस भन्दा फरक पर्दैन ।

उहाँमाथि यौनिकता, लैङ्गिकता, मानवीय संवेदनशीलता र व्यक्तिगत जीवनमाथि पटकपटक हमला भयो । अझै एउटा आमसभामा बोल्दै एउटीले झाक्रो फिजाउँदै राष्ट्रपतिमाथि जघन्य आरोप लगाइन् ।

संवैधानिक राष्ट्रपतिका रूपमा सीमित अधिकारको चौघेराभित्र रहँदा पनि उहाँले नेपालका महिला र बालबालिकाका क्षेत्रमा चासोसँगै विभिन्न काम गरिरहनु भएको छ । तर उहाँमाथि केही भूतपूर्वहरु आफ्नो पालामा रामराज्य बनाएको जसरी राष्ट्रपतिमाथि विष बर्षारहेछन् ।

देश कोरोना संक्रमणले ग्रस्त भएको र राष्ट्रपतिमाथि लोकल भाइरसहरुले निर्मम हमला गरिरहँदा चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन निशुल्क दिने प्रबन्ध राष्ट्रपति भण्डारीले नै मिलाउनु भयो । यसले उहाँको देश र नागरिकप्रतिको चिन्ता र जिम्मेवारीलाई प्रष्ट पार्छ ।

त्यसैले गणतन्त्रको सिसाको घरभित्र बसेर गजुरमाथि ढुंगा हान्दा के हुन्छ ? अहिले त्यस्तै भइरहेको छ । दृश्य वा अदृश्य रूपमा जानीजानी सम्मानित संस्थामाथि विषवमनको राँकोमा जजसले निरन्तर ऊर्जा खर्च गरिरहनु भएको छ, उहाँहरूले पनि एकपल्ट ऐनामा आफ्नो अनुहार हेरौं ।

हजारौँको रगतमा होली खेलेर आफ्नो धनसार भर्नेहरूले लोकतन्त्रका नाममा गोहीका आँसु नचुहाए हुन्छ । लोकतन्त्रको शाकाहारी वस्त्रधारीहरू मांसाहारी भोजभतेरको भान्साबाट सकेसम्म बचौँ । आफ्नो अनुकूल निर्णय नआएकै भरमा राष्ट्रपतिविरुद्ध नन्दीभृङ्गी परिचालन गरेर लैंगिकताका कोणबाट विभेदपूर्ण हमला गर्ने अमानवीय आचरण सुधारौँ ।

महिला अधिकार लैंगिक विभेदका नाममा डलर पचाउनेका कुरा त के गर्नु र, महिला संगठन र आयोगहरूले यसलाई गम्भीरताका साथ नोट गरौं । स्मरण रहोस् ! राष्ट्रपतिविरुद्धको पाँचौ भेरियन्ट ल्याउन खोज्दा त्यसको भाइरसले आफै संक्रमित भइ सखाप भइएला ! सतर्क बनौं ।

प्रतिक्रिया

3 thoughts on “राष्ट्रपतिमाथि क्रुर हमलाको ‘चौथो भेरियन्ट’

  1. नाम को अगाडी प्रा डा लेख्ने यी महानुभाव को लेखाई पढ्दा यो प्रस्टै हुन्छ कि यिनी पुरपुर कुन कित्ता को प्रतिनिधित्व गर्छन । पिएच्डी गरेको कहाँ बाट कुन बिषय मा रैछ ? यस्तै खैराते पिएच्डी हरु छन नेपाल मा । बिशयगत दक्षता भएक गतिला नेपाली पिएच्डी हरु त सब अमेरिका मा छन ।

  2. ओल्बा का छोराछोरी यिनैले पढाउदा रहेछन साहेद!प्राचार्य पनि ओल्बा ले डाक्टरी पाए झै छ शब्द छनौट ,प्राराचार्य त के ठूलो कुरो भो र बा आमाको यतिको भजन गाउन जानेपछी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *