नागरिकता अध्यादेशमा एनआरएनलाई नसमेटिएको भन्दै आचार्यद्वारा दु:ख व्यक्त – Nepal Press

नागरिकता अध्यादेशमा एनआरएनलाई नसमेटिएको भन्दै आचार्यद्वारा दु:ख व्यक्त

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) का सल्लाहकार एवम् पूर्व उपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता ऐन सम्बन्धि अध्यादेशमा गैरआवासीय नेपालीहरू(एनआरएन) को मुद्दा सम्बोधन नभएको भन्दै दु:ख व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै सरकारले गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वासनमा मात्र सीमित राख्ने गरेको टिप्पणी गरेका हुन् । नेपालको संविधानमा नै उल्लेख गरिएको विषयलाई पनि सरकारले उपेक्षा गरेको उनको आरोप छ ।

‘देशका अन्य नागरिकहरूका नागरिकताका सवाल संसद नभएको अवस्थामा फास्ट ट्रयाकमा सम्बोधन भैरहेको अवस्थामा गैर आवासीय नेपालीका नागरिकताका सवालमा भने निरन्तर विलम्ब हुनु दु:खद् पक्ष हो । यसतर्फ नेपाल सरकारको जति सक्दो चाँडो ध्यान जाओस् भन्ने आग्रह गर्दछु’ आचार्यले भनेका छन् ।

भूकम्पको बेला वा अन्य जुनसुकै विपत्तिमा गैर आवासीय नेपालीहरूले मातृभूमि र नेपालीहरूको लागि सहयोग गरिरहेको स्मरण गर्दै आचार्यले सरकारले भने कहिल्यै उनीहरूको बारेमा ध्यान नदिएको गुनासो गरेका छन् ।

आचार्यले भनेका छन्, ‘गैर आवासीय नेपालीहरूले भूकम्पको बखत होस् या अन्य संकटको समयमा निरन्तर सहयोग गरिरहेको अवस्था छ । महामारीको बखत सबै भन्दा धेरै पीडा भोगेका प्रवासी नेपालीहरूलाई देशको सहयोग आवश्यक थियो तर तर संविधानले नै प्रत्याभूत गरेको गैरआवासीय नागरिकताका विषयमा भने अझै सुनुवाइ भएन ।’

आचार्यले नेपाली नागरिकता, सम्पत्तिको अधिकार, श्रमिकको सुरक्षा नै एनआरएनएको मूल मन्त्र भएको स्पष्ट पारेका छन् । प्रवासमा नेपाल र नेपालीको दूत बनी नेपाली भाषा, संस्कृति, व्यापार र राष्ट्रियताको पनि एनआरएनहरूले पैरवी गरिरहेको स्मरण गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिले तयार पारेको नागरिकता सम्बन्धि विधेयकमा एनआरएन नागरिकताको प्रावधान समावेश गरिए पनि सरकारले गत साता जारी गरेको अध्यादेशमा उक्त प्रावधान हटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर