ब्लग

आइसोलेट हुँदा उब्जेको प्रश्नः छाउगोठमा कसरी बस्दा हुन् चेली ?

शरीरमा अनायासै अस्वभाविक असहज स्थिति आएपछि पिसिआर परीक्षण गराउने निधो गरें । गाउँकै ‘चुंगी चोर्ने साथी’ रामशरणलाई फोन गरेर टेकुस्थित प्रयोगशालासम्म पुर्याइदिन अनुरोध गरें । हामी गयौं, दुवैले परीक्षण गरायौं । रिपोर्ट नआएसम्म हामी सँगै बस्यौं ।

भोलिपल्ट एकसाथ दुवैको मोबाइलमा म्यासेज आयो । रिपोर्ट रहेछ– उसको नेगेटिभ आयो, मेरो पोजेटिभ । तनाव भयो ।
परीक्षण गर्न दिएको थाहा हुने सबैले फोन गरेर सोधेकासोध्यै छन्, ‘रिपोर्ट के आयो ?’ सबैलाई जवाफ दिँदैको हैरान ।

घरबाट बुवा, ममी, श्रीमती, बैनीहरु सबैले फोन गरेर घरमै आउन आग्रह गरे । ‘काठमाडौंको डेरामा एक्लै बस्दा झन् गाह्रो हुन्छ, घरबेटीले थाहा पाए भने राम्रो मान्दैनन्’ भन्दै कर गरे । मेरो नि मन पग्लियो । मानवता हराउँदै गएको घरहरुको जंगलमा बस्नुभन्दा गाउँमै जानु ठीक लाग्यो । घरबेटीलाई ‘कोरोना लागेको’ भन्दै नभनी घर गयौं हामी ।

हाम्रो गाउँ पुग्ने धेरैवटा बाटो छ । त्योमध्ये सबैभन्दा कम मान्छेको हिँडडुल र चहलपहल हुने बाटो हुँदै हामी गाउँ गयौं । किनकि, कारोना लागेको मान्छे आएको थाहा पाए भने गाउँमा झन् आतंक बढ्ने निश्चित थियो । विरामी भन्दा पनि हामी आतंककारी जस्ता भएका थियौं ।

घरमाथिको डाँडामा मलाई छाडेर रामशरण उस्कै घरतिर लाग्यो । मोटरसाइकलबाट झर्नेवित्तिकै एकजना काकी पर्ने मान्छेले मलाई देख्नुभो । उहाँ कहाँ जान लाग्नु भएको थियो, थाहा भएन । तर मलाई देख्नेवित्तिकै उहाँले बाटो मोड्नुभयो । सायद उहाँलाई थाहा भैसकेको रहेछ, मलाई काेराेना लाग्यो भनेर । देख्नेवित्तिकै ‘मोटाइछस् या दुब्लाइछस्’ भन्ने काकी नदेखेजस्तो गरी तर्केपछि औधी खल्लो अनुभूति भयो ।

घर पुग्दा श्रीमती सुमित्रा, भाइ–बुहारी र छोरी आँगनको पल्लो डिलमा बसेर बाटो हेरिरहेका रहेछन् । देख्नेवित्तिकै गम्ल्याङ्ग अंगालो मार्दै ‘के ल्याइदिनुभा’छ बाबी ?’ भन्दै लाडे पल्टिने छोरी म जति नजिक जान्छु, उति परपर भाग्न थाली ।

पिँडीको खाटमा बसेर खेलिरहेको छोरोले हात दिँदै मतिर आउँन खोजेको इशारा गर्दै थियो । निकैबेर नबोकेपछि केटो रुन थाल्यो । अनि सुमित्राले खाटमा गएर छोरो बोक्दै भनिन्, ‘बाबा विरामी हुनुहुन्छ, बाबासँग जान हुँदैन ल !’ छोरोले बुझेन, रोयो मात्रै ।

एकछिनपछि सुमित्राले भनिन्, ‘पल्लोघरको छिँडीको उतापट्टि कोठा ठिक पार्देको छ, त्यतै गएर कपडा फेर्नु !’ त्यसै गरें ।
घर पुग्नेवित्तिकै चुल्होमा गएर खानेकुरा खोज्ने बानी थियो । दराज खोतलेर दही–मही जे छ, सारेर पिइहाल्ने गरेको थिएँ ।

तर, त्यसो गर्न कहाँ पाइयो ? बाहिर निस्किएर ‘लास्टै भोक लाग्या छ, खाजा केही छैन ?’ भनेर सोधें । बुहारी रञ्जुले भनिन्, ‘खाजा त चाम्रे छ, दाइ कोठाभित्रै बसिस्यो, त्यहीं ल्याइदिन्छौं ।’

सुमित्राले एउटा प्लेटमा चाम्रे र भुटेको आलु, एउटा कचौरामा दही र एक गिलास पानी ल्याएर कोठाको ढोकाबाहिरै अर्थात् डोरम्याट भन्दा पनि पर राखेर भनिन्, ‘अब १४ दिनलाई यही भाडा हो, माझ्ने ठाउँ घरपछाडि गोठको कुनापट्टि बनाइदिएको छ ।’ सुमित्रा अलि पर पुगेपछि प्लेट तानेर चाम्रे खान थालें, मज्जा आएन । कस्तो कस्तो विरस अनुभूति भो ।

खाजा खाइसकेपछि पिसाब लाग्यो । बाहिर निस्केर ‘ट्वाइलेट कता त ?’ भनेर सोधें । ‘भाइले तल्लो पाटोमा बनाइदिँदै हुनुहुन्छ’ सुमित्राले भनिन् । हेरें, भाइ धमाधम बाँसको खाँबोमा त्रिपाल हाल्दै रहेछ ।

साँझ बेसीबाट बुबा आउनुभो । पिँडीबाट छिर्नेवित्तिकै सोध्नुभो, ‘कस्तो छ जेठा ?’  भित्रैबाट भनें, ‘ठिकै छ’ पछि मेरा लागि छुट्टै एउटा कुर्चीको व्यवस्था भो । बाहिर–भित्र गर्दा आफैंले ल्याउने लैजाने, बाहिर अलग्गै पर्खालभन्दा उतातिर बस्नुपर्ने नियम बनाइयो ।

साँझबिहान हाम्रो घरमा मान्छे आइरहन्थे । टिभी हेर्न, बुवासँग राजनीतिक कुरा गर्न, विभिन्न सामाजिक विषयमा छलफल गर्न आउने मान्छे खाली हुँदैनथे । तर म घर गएपछि गाउँका त के, टोलकै मान्छे पनि आएनन् । यतिसम्म कि, विभिन्न कामले बुवा गाउँतिर जाँदा पनि मान्छे भागाभाग गर्न थालेछन् ।

सुमित्राले रातिसमेत दुई–तीनपटक फोन गरेर ‘कस्तो छ अहिले ?’ भनेर सोधिरहिन् । तागतिलो खानेकुरा खोजेर, तुल्याएर दिइरहिन्– सुमित्रा र बुहारीले । भाइ र बुवा गाउँगाउँमा गएर कहिले बुर्जो र कहिले खसीको खुट्टादेखि ट्राउट माछा खोजेर ल्याउथें । काम नै यति भयो कि, खाने–सुत्ने, सुत्ने–खाने ! तै पनि कमजोरी कम नहुने ।

सुरुका दुई दिन बेस्सरी ज्वरो आयो । ज्वरो कम भएपछि डायरिया भयो । त्यसपछि जिउ यति दुख्यो कि, त्यो लेखिसाध्ये छैन । कहिले स्वास लिन गाह्रो भएजस्तो, कहिले मुटुको धड्कन एकदमै छिटोछिटो धड्कने । कहिलेकाहीं त ‘अब बाँच्दिनँ कि क्या हो !’ जस्तो लाग्यो । तर पनि घरका मान्छेलाई औधी गाह्रो भएको कुरा भनिनँ– आत्तिएलान्, पीडा होला भनेर ।

त्यसपछि १४ दिन यसरी विताइयो कि, जहिल्यै उस्तै दैनिकी । धुम्धुम्ती कोठामा एक्लै । काठमाडौंबाट कुनै राम्रा किताब वा सिनेमा लैजान नि भुलेछु । घर गहिरोमा भएकाले मोबाइलमा डाटा पनि राम्ररी नचल्ने । दिक्क लाग्दो दैनिकी । एक मनले सोचें– व्यथा विसेक भयो भने र अरुलाई सरेन भने त यसरी बस्नु के ठूलो कुरा भयो र ?

यद्यपि, योबीचमा धेरैले फोन तथा म्यासेजबाट स्वास्थ्यबारे चासो, चिन्ता व्यक्त गरे । कोही सोच्दैनसोचेका मान्छेले निरन्तर चासोसँगै शुभकामना दिए । कोही आस गरेका मान्छेले नि वास्ता गरेनन् । यस्तो बेला कसले साँच्चिकै शुभ चाहन्छ र कसले नजिक भएको नाटक मात्रै गर्छ ? भन्ने पनि बुझिने रहेछ ।

लाग्यो– मलाई त अहिले के छ र ? छाउगोठमा हाम्री चेली कसरी बस्छन् होला ? त्यो कल्पना नै पनि दर्दनाक लाग्यो ।

घरभित्रै राम्रो ओच्छ्यानमा सुत्न पाएकै छु । मीठोमीठो, तागतिलो खानेकुरा पटक–पटक खान पाएकै छु । छुन नपाए पनि परिवारको माया पाएकै छु । त्यै आफूले खाएको भाँडा अलग्गै माझ्न र बेग्लै चर्पी जानुपर्यो भन्ने त हो नि ! घाम पनि नछिर्ने छाउगोठमा महिनैपिच्छे हेँला र घृणा सहेर हाम्री चेली कसरी बस्दा हुन् ? छाउगोठमा निसासिएर मृत्युको मुखमा पुगेका चेलीका दर्दको कल्पनाले विक्षिप्त बनायो ।

कहिलेकाहीं आफूलाई दलित वा अछुत जस्तो पनि अनुभूति भयो । विरामी भएर केही दिन अलि अलग्गै बस्दा त यति नमीठो अनुभूति भयो, जिन्दगीभर समाजकै नजरमा अछुतोको सामना गर्न ती दलितलाई कति कठिन भएको होला ?

अनि, आफन्तको मृत्युपछि कोरामा बस्नेहरुको कष्ट झन् भयानक हुँदो हो । सारमा हाम्रा सामाजिक मान्यताहरुमाथि निरन्तर प्रश्न खेलिरह्यो । त्यो छाउप्रथा होस् या दलितका नाममा भरिने विभेद वा किरिया प्रथा । किन मान्छेले मान्छेलाई नै यतिविघ्न कठिन हुने नियम बनाएको होला ? कुरीति एवम् कुप्रथा हो भन्ने जान्दाजान्दै पनि मान्छेहरु किन त्यसलाई संस्थागत र दरिलो बनाउन अभीषप्त छन् ? कोरोनाबारेको बहस, यसले पारेको सास्ती र भोगाइभन्दा हाम्रो सामाजिक मान्यता र नियम झन् खतरनाक लाग्यो ।

र अन्तिममा, कोरोना रिपोर्ट नेभेटिभ आयो । व्यथा विसेक भयो तर नातागतले गाँजेको छ, लास्टै ! यति अनुरोध छ कि, कोरोनालाई ख्यालख्याल नसोचौं । सरकारका लागि होइन, आफ्नै लागि सावधानी र सुरक्षा अपनाऔं । धन्यवाद !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *