जोखिम बस्ती सार्न र पर्वतारोहीलाई फिर्ता बोलाउन विपद प्राधिकरणको आग्रह – Nepal Press

जोखिम बस्ती सार्न र पर्वतारोहीलाई फिर्ता बोलाउन विपद प्राधिकरणको आग्रह

काठमाडौं । अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  सरकारसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ भने गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको प्राधिकरणका प्रवक्ता समेत रहेका उपसचिव लिलानाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो । त्यस्तै, आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा स्थानीय तहमा खबर गर्न पनि आग्रह गरिएको प्रवक्ता अधिकारीले बताए ।

सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर