कोरोना संक्रमितलाई टोल-टोलमै पुगेर औषधी वितरण गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष – Nepal Press

कोरोना संक्रमितलाई टोल-टोलमै पुगेर औषधी वितरण गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष

पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधी वितरण शुरु गरिएको छ ।

गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास , सेतिदोभान र फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष आफै बिरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेद कार्यालयका स्याङ्जाका कर्मचारी सहितको टोलीले होम आइसोलेसनमा रहेकाहरुलाई औषधि वितरण गरेको हो ।

टोलीले संक्रमितहरूलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क सेनिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिन युक्त औषधि वितरण गर्दा उनीहरूमा रोगलाई जित्ने आत्मबल बढ्ने पौडेलको भनाइ थियो ।

गाउँपालिकाबासीको जीवन बचाउनका लागि कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । कोरोनालाई नै लक्षित गरेर कोभिड-१९ अस्थायी अस्पताल सेतिदोभानमा २० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माणको तयारी गरिरहेको र आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च पनि गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष पौडेलले बताए ।

यसअघि पनि सङ्क्रमितहरूको घरमै गएर उनीहरूको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको गाउँपालिकाले बताएको छ । आँधीखोला वडा नं १ पंचमुलमा ३६ जना, वडा नं २ चिलाउनेबासमा मा २१ जना , वडा नं ५ सेतिदोभानमा ४५ जना र वडा नं ६ फापरथुम १० जना कोरोना संक्रमित रहेका छन् ।

कोरोनाको कुनै पनि औषधि पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधिको रूपमा चिकित्सकसँगको सल्लाह बमोजिम मात्रै आयुर्वेदिक औषधि वितरण गरिएको हो । औषधि वितरण सँगै बिरामीको अवस्था बुझ्ने, उनीहरूको खानपानमा परिवारलाई सचेत गराउँदै सरसफाइमा ध्यान दिन अनुरोध गरिएको आयुर्वेद कार्यालयका स्याङ्जाले बताएको छ ।

बुधवार ८० जना कोरोना संक्रमितलाई अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु, गुड्चीको मिश्रण गरी दुई किसिमको आयुर्वेदिक औषधि वितरण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर