भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने दाबी – Nepal Press

भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने दाबी

दिल्ली । भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दाबी गरिएको छ । भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा. नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने पनि दाबी गरेका छन् ।

उनले भने, ‘भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ ।’

वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने ‘हब’समेतको संज्ञा दएका छन् । भारतको जनसंख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको पनि उनको भनाइ थियो ।

सामान्यतया हरेक व्यक्तिले ६ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्णरुपमा काम गर्न थाल्ने पनि उनले जानकारी दिए ।झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति पनि धेरै कम हुने, महामारी न्यून हुने डा. त्रेहानले विश्वास व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्काअनुसार देशभरी अहिलेसम्म २२ करोड १७ लाख नमूना परीक्षण गरिएको छ ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ ।

दैनिक मृत्युदरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा चार हजार १५७ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ ।

भारतमा हाल कोरोनाभाइरसका २४ लाख ९५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन् । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ९५५ जना संक्तमणमुक्त भएसँगै भारतमा हालसम्म कूल दुई करोड ४३ लाख ५० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त दरमा सुधार भएर ८९.६६ प्रतिशत पुगेको छ । देशभर कोरोनाबाट हालसम्म संक्रमित हुनेको कूल संख्या दुई करोड ७१ लाख ५७ हजार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *