सात दिन बन्द गर्ने निर्णयले खाद्यान्न पसलमा भीडभाड, ५ गुणासम्म बिक्री बढ्यो – Nepal Press

सात दिन बन्द गर्ने निर्णयले खाद्यान्न पसलमा भीडभाड, ५ गुणासम्म बिक्री बढ्यो

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलिदेखि खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेपछि त्यसको प्रतिकूल प्रभाव देखिएको छ । यो निर्णयले खाद्यान्न पसलमा बिहान १० बजेसम्म उपभोक्ताहरू खाद्यवस्तुको जोहो गर्न भीड लागेका थिए ।

कोरोना संक्रमण रोकथाम गर्न भन्दै उपत्यकाका खाद्यान्न पसल अन्य व्यवसायहरूजस्तै ७ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । त्यसैले ७ दिनलाई पुग्ने खाद्यान्न किन्न सर्वसाधारण किराना पसलमा भीड लागेपछि कोरोनाको जोखिम झन् बढेको छ । यसअघि खाद्यान्न पसल बिहान १० बजेसँम खुल्दै आएको थियो ।

काठमाडौं जिल्ला प्रशासनका प्रमुख कालीप्रसाद पराजुली भने उपभोक्ता मास्क लगाएर पसलमा गएकाले संक्रमणको जोखिम नहुने बताउँछन् । उनले भने, ‘कोरोना नियन्त्रणका लागि उपत्यकामा खाद्यान्न पसल बन्द गर्ने निर्णय गरिएको हो । अब तरकारी तथा फलफूल खुद्रा व्यापार बन्द गर्ने र थोक मात्रै बिक्री गर्न पाइने छ ।’

खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धर जिल्ला प्रशासनले खाद्यान्न पसल बन्द गर्ने निर्णय गर्दा कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने बताउँछन् ।

मानन्धरले भने, ‘तरकारी पसलमा भन्दा खाद्यान्न पसलमा कम भीड हुन्छ । तर जिल्ला प्रशासनले खाद्यान्न पसल बन्द गर्ने निर्णय गर्‍यो । यसले खाद्यान्नको बिक्री ३ देखि ५ गुणासम्म वृद्धि भएको छ ।’

तरकारी पसलमा उपभोक्ताले १ किलो र त्यो भन्दा पनि कम परिमाणमा तरकारी किन्ने कारणले गर्दा भीड लाग्ने गरेको तर त्यो प्रशासनले नदेखेको मानन्धरले बताए ।

‘हाम्रो पसलमा सामान किन्न आउनेले सूची बनाएर ल्याउने गरेका छन् र हामीले त्यसअनुसार सामान घरमा नै पुर्‍याउने गरेका छौं । हाम्रोमा जोखिम कम छ,’ उनले भने ।

ओम खाद्य पसलका सञ्चालक ओम श्रेष्ठले बन्दको समयमा बिहान १० बजेसम्म दैनिक ३० हजारको व्यापार हुने गरेकोमा बुधबार ९० हजारको व्यापार भएको बताए ।

श्रेष्ठले भने, ‘अहिले तेल, चामल, साबुन, दाल र गेडागुडी लगायतका सामान बिक्रीमा वृद्धि भएको छ । पैसा हुनेहरुले त सामान किनेर लगेका छन् । दैनिक काम गरेर किनेर खानेहरुलाई भने समस्या छ ।’

निषेधाज्ञामा पनि घर निर्माण गर्ने, वाल लगाउने र फर्निचर निर्माण कामहरु भने निरन्तर छन् । ती क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी मजदुरहरुलाई ७ दिन खाद्यान्न पसल बन्द हुँदा समस्या हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर