न्यूयोर्क टाइम्सको रिपोर्टः कर तिर्नुपर्ने डरले नेपालीले मतदाता नामावली भरेनन् – Nepal Press
पहिलो आम निर्वाचन-२०१५

न्यूयोर्क टाइम्सको रिपोर्टः कर तिर्नुपर्ने डरले नेपालीले मतदाता नामावली भरेनन्

६२ बर्ष अगाडि आजकै दिन नेपालमा प्रथम जननिर्वाचित सरकार निर्माणको प्रकृया अगाडि बढेको थियो । २०१६ साल जेठ १३ गते नेपालमा बीपी कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित मन्त्रिमन्डल गठन भयो । मन्त्रीमण्डल बन्न जेठ दोश्रो हप्ता लागे पनि चुनाव भने चार महिना अगाडि फागुन ७ गते सुरु भएर चैत २१ गते सकिएको थियो ।

प्रजातन्त्र स्थापनाको आठौं वर्षगाँठको अवसरमा २०१५ मा भएको आम निर्वाचन ४५ दिनसम्म चलेको थियो । कांग्रेस नेता शुवर्ण शमशेरले चुनावी सरकारको नेतृत्व गरेका थिए । चुनावको बारेमा नेपाली मिडियामा आएका खबर, विश्लेषणदेखि विभिन्न पुस्तकहरु प्रकाशित भएका छन् ।

आज हामीले नेपालको प्रथम आम निर्वाचनको अमेरिकि दैनिक अखबार ‘दि न्यू योर्क टाइम्स’देखि अमेरिकी कुटनीतिक र परराष्ट्र मामिलाको म्यागाजिन ‘फरेन अफेसर्य’मा आएका समाचार र बिचारका सामाग्रीबारे चर्चा गर्दैछौं । त्यो बेलाको नेपाली चुनाव बारेमा व्यापक चासो र सरोकार भएको ती बिचार र समाचारहरुबाट अनुमान गर्न सकिन्छ ।

फरेन अफेयर्स आलेखः नेपाली कांग्रेस भारतीय कांग्रेसको सन्तान, महेन्द्र कम्युनिष्ट बिरोधी

नेपालको प्रथम आम निर्वाचन कुटनीतिक तथा परराष्ट्र मामिलाका क्षेत्रमा पनि कत्ति महत्वपूर्ण थियो भन्ने फरेन अफेयर्स म्यागाजिनका सम्पादक नै आएर गरेको रिपोर्टिङबाट थाहा हुन्छ । फरेन अफेयर्सका तत्कालीन सम्पादक ह्यामिल्टन फिस आम्सट्रङले नेपाल आएर चुनाव हेरेर आफ्नो ३५ सय शब्द बढीको आलेख लेखेका थिए । जसको शिर्षक थियोः ‘जहाँ भारतले चीनलाइ सामना गर्छ’ । उक्त आलेख सन १९५९ को जुलाइ ( विसं २०१६ असार) अंकमा प्रकाशित भएको थियो ।

नेपाल भारत र चीनको खेलमैदान हो भन्ने अर्थको आलेखमा चुवाको सुक्ष्म विश्लेषण गरिएको छ । ‘हिमालय क्षेत्र भारतका उत्तरी सीमाना हुन नेपाल माथी भएका हमला भारतलाई गरेको हुनेछ’ भनेर नेहरुले दिएको बहुचर्चित मन्तव्यलाइ लिएर आलेख सुरु भएको छ । ९० लाख नेपाली जनसंख्यामा ९५ प्रतिशत असाक्षर भएको भन्दै १०९ सदस्यीय तल्लो सदन र ३६ सदस्यीय माथिल्लो सदन दुवै नौलो अभ्यास भएको आलेखमा उल्लेख छ ।

नेपाली कांग्रेसलाई आम्सट्रङले ‘भारतीय कांग्रेसको सन्तान’को रुपमा व्याख्या गरेका छन् भने चुनावमा दोश्रो भएको गोरखा परिषदलाई राणा र सहयोगीहरुको तर्फबाट बनेको ‘प्रतिक्रियावादी दल’ भनेका छन् । चुनावमा हारेका पुर्वप्रधानमन्त्री डाक्टर केआई सिंहलाई भारतपरस्त र अमेरिका बिरोधीको रुपमा टिप्पणी गरिएको छ ।

गृहमन्त्री डिल्लीरमण रेग्मीले ५ हजार मतदाता भएको चुनाव क्षेत्रमा ५०३ मत मात्रै खसेको चुनाव धाँधलिरहित भएको देखिएको भनिएको छ । बीपी कोइरालालाई ‘आकर्षक उर्जा, उद्देस्यता इमारदारिता, बलियोसँग उदारवादी चरित्रहरु’ भएका नेताको रुपमा व्याख्या गरिएको छ भने नेपालले नयाँ जननिर्वाचित सरकार बनाए पनि भारत भन्दा अलग भएर आफ्नो परराष्ट्र सम्बन्ध बनाउन नसकिले तर्क आलेखमा गरिएको छ ।
चीन र सोभियत संघको सहयोगको उदाहरण दिँदै भनिएको छ– ‘नेपाली कांग्रेस र राजा महेन्द्र कम्युनिष्ट बिरोधी भए पनि उनीहरुको नेपालको परराष्ट्र सम्बन्ध तटस्थ नै हुनेछ ।’

‘कर तिर्नुपर्ने डरले नेपालीले मतदाता नामावली भरेनन्’

अमेरिकी अखबार दि न्यू योर्क टाइम्सले नेपालको प्रथम आमनिर्वाचनको धारावाहिक जस्तै रिपोर्टिङ गरेको थियो । चुनाव घोषणा भएपछि पनि अलमल भएकोदेखि चुनाव सुरु भएर नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने स्थितिसम्मका समाचारहरु दि न्यू योर्क टाइम्सले प्राथामिकताका साथ छापेको देखिन्छ ।

चुनाव सम्बन्धी समाचार निर्वाचनको मितिभन्दा १४ महिना अगाडिनै छापिएको थियो । सन १९५७ डिसेम्बर १६ (विसं २०१४ पुष २) मा छापिएको समाचार शिर्षक छः ‘नेपामा आगामी बर्ष चुनाव हुँदै, तर राजा भने सबै सहमत भएमा मिति परिवर्तन गर्न तयार’ ।

सन् १९५९ को फेब्रुअरी १८ (विसं २०१७ फागुन ७) पुष १ गते रेडियो सम्बोधन गर्दै राजाले प्रजातन्त्र स्थपनाको आठौं बर्षको असवरमा चुनाव गर्न चाहेको घोषणा गरेको समाचारमा उल्लेख छ । प्रजातान्त्रिक मोर्चाले छ महिनाभित्रै चुनाव गर्ने कुरा भने राजाले अस्वीकार गरेको समाचारमा लेखिएको छ ।

सन् १९५८ मार्च ९ (२०१४ फागुन २६) मा न्यू योर्क टाइम्सको हेडलाइन बन्योः ‘नेपालको पहिलो चुनाव १९५९ मा हुने तय ।’ ४० लाख नेपालीले भोट गर्ने भनिएको समाचारमा नेपालको भौगोलिक जटिलताको कारणले चुनावको लागि याकदेखि हेलिकप्टरसम्म प्रयोग हुने लेखिएको छ ।
अझ मतदाता नामावालीमा नाम भर्न नेपालीहरु अनिच्छुक भएको भन्दै लेखिएको छ, ‘मतपत्र छपाइको काम तीव्र भए पनि नेपालका दुर्गम उत्तरी भेगका मतदाताहरुलाई मनाउन अधिकारीहरुलाई धेरै गाह्रो भइरहेको छ । त्यहाका नागरिकहरु मतदाता नामावलीमा नाम लेखाएमा सरकारले करको दायरामा ल्याउने भन्दै डराएका छन् ।’

चुनावी मिति तय भए पनि चुनाव संसदीय हुने कि संविधानसभाको हुनेमा दुविधा भएको समाचारमा लेखिएको छ । दलहरुले भने चुनाव संसदीय हुनुपर्ने र संविधान निर्माण राजाले राष्ट्रिय भेला गरेर संवैधानिक राजतन्त्रात्मक व्यवस्था हुने गरी संबिधान बनाउन सल्लाह दिएको समाचारमा लेखिएको छ ।

राजा महेन्द्र बारेमा लेखिएको छ, ‘नेपालका ३७ बर्षे राजा चुनाव गराउने कुरामा प्रतिबद्ध छन् । तर उनी आफ्नै भविष्य बारेमा भने चिन्तित छन् र संभवतः संसदले राजतन्त्रलाई हटाउँदैन भन्ने कुरामा प्रत्याभूति खोजिरहेका छन् ।’

नेपालमा चुनाव भएको भोलिपल्टको अंकमा सन् १९५९ फेब्रअरी १९ (२०१५ फागुन ८) न्यु योर्क टाइम्सले हेडलाइन बनायो, ‘नेपाली मतदान सुरु ।’ समाचारमा १ सय ९ सिटको लागि ८ सय ५० उमेद्वारहरुले भाग लिएको लेखेको छ । चुनाव ४५ दिन हुने र पोलिङ डेज भने १८ दिन हुने समाचारमा लेखिएको छ । ‘पश्चिमा शैलीको संविधान’ जारी गरेको एक हप्तापछि चुनाव भएको लेखिएको छ ।

सन् १९५९ फेब्रअरी २४ (२०१५ फागुन १३) को अंकमा नेपालमा कम्युनिष्टहरु चुनावमा पराजित भएको हेडलाइन बनेको थियो । ‘नेपालमा रातो झन्डा पराजित’ हेडलाइनमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहले आफ्ना कम्युनिष्ट प्रतिस्पर्धीलाइ ३ हजार मतान्तरले हराएको लेखिएको छ ।

तर, गणेशमान सिहंसँग चुनाव हारेका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको नाम भने समाचारले उल्लेख गरेको छैन ।

ठूला–ठूला नेता तथा पार्टी प्रमुखको जित हारको समाचार नलेखेको दि न्यू योर्क टाइम्सले प्रथम जननिर्वाचित संसद द्धारिकादेवी ठकुरानीको भने समाचार बनाएको थियो । सन् १९५९ मार्च १८ (२०१५ चैत्र ५) मा उनको समाचार छापिएको छ ।

‘महिलाको नाम लेखियो’ भावानुवाद हुने समाचारमा ४८ वटा सिटमा कांग्रेसले तेत्तीस सिट जितेको प्रशंग ल्याउँदै ठकुरानी नेपालको प्रथम जननिर्वाचित महिला सांसद भएको उल्लेख गरिएको छ । तर, ठकुरानीको चुनावी मतपरिणाम भने लेखिएको छैन ।

जगत नेपालको पुस्तक ‘पहिलो संसद’का अनुसार ठकुरानीले ३ हजार ९ सय ३ मत ल्याएर संयुक्त प्रजातन्त्र पार्टीका लक्ष्मीदत्त भट्टलाई हराएकी थिइन् ।

क्षेत्र नम्बर ६६ डडेलधुरामा भएको चुनावमा भट्टको मत १८३१ आएको थियो । पछि ठकुरानी स्थानीय स्वायत्त शासन सहायक मन्त्रीसमेत भइन ।

उनी प्रथम जननिर्वाचित सांसद मात्रै हैन मन्त्रीसमेत बनिन् ।

सन् १९५९ अप्रिल २ (२०१५ चैत २०) को समाचार हेडलाइन बन्यो, ‘नेपालको मत निर्णयक’ । कुल १ सय ९ सिटमा नेपाली कांग्रेसले प्रारम्भिक नजिता आएका ८८ सिटमा ५६ सिट जितेर प्रस्ट बहुमत ल्याएको लेखिएको छ ।

सन १९५९ जुलाइ २५ (२०१६ सावन १०) को अंकमा दि न्यू योर्क टाइम्सले हेडलाइन बनायो, ‘नेपालमा संसदीय युगको शुभारम्भ ।’ नेपालमा संसदको उद्घाटन राजाको सम्बोधनबाट भएको भन्दै समाचारमा राजाले ‘कानूनी शासन’ र ‘सहभागितात्मक प्रजातन्त्र’को बारेमा कुरा गरेको उल्लेख गरेको छ ।

प्रथम संसदको उद्घाटन सत्रमा भारतीय राजदूत भगवान सई, बेलायती राजदूत लियोनार्ड स्कोप्स र अमेरिकाका कार्यवाहक राजदूत विनथ्रोप जी ब्राउन सहभागी भएको समाचारमा लेखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *