भन्सार एजेन्टको लिखित परीक्षा स्थगित – Nepal Press

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड-१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।

‘कोभिड-१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ’, विभागले सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।

गत चैत दोस्रो साता विभागले ठूलो संख्यामा भन्सार एजेन्टको माग गरेको थियो । बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकै पटक ६ सय ६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो ।

भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख ५ गतेसम्म विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने गरी आवेदन खुला गरिएको थियो । वैशाख ५ गते र दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन खुला गरिएको थियो । आवेदन दिने समय सकिए पनि कोभिडका कारण लिखित परीक्षा स्थगन भएको हो ।

दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको थियो ।

यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेरमात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।
-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *